खाजाका लागि विद्यार्थी भोकै विद्यालय, विद्यालयको हालत पनि उस्तै

 पुस ३, २०७५ मंगलबार ११:०:५७ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – घरमा खानेकुरा नभएर बाबुआमा काममा गएपछि बालबालिका भोकभोकै विद्यालय जान थालेको दुई महिना भयो । दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. २ चोतेस गाउँमा रहेका चेपाङ बालबालिकाहरु यसरी भोकभोकै विद्यालय जाने गरेका हुन् ।

यहाँका बासिन्दालाई खाने अन्नले दुई तीन महिनामात्र पुग्छ । बालबालिकालाई विद्यालयले खाजा खुवाउने भएकोले बाबुआमाले छोराछोरीलाई भोकै विद्यालय पठाएर काममा जाने गरेको बागेश्वरी आधारभुत विद्यालयका प्रधानाध्यापक बुद्धिमाया तामाङले बताउनुभयो । 

गाउँको मात्र होइन, विद्यालयको अवस्था पनि उस्तै छ । 

भूकम्पले विद्यालय भत्काएपछि एउटा कोठामा सबै विद्यार्थीलाई राखेर पढाउन थालिएको छ । कुचुक्क परेको सानो कोठा । चेपाङ समुदायका सबै बालबालिका नांगै खुट्टा विद्यालय आउने गर्छन् । चारवटा कक्षाका विद्यार्थी एउटै कोठामा चारतिर फर्केर बस्छन् । दुई शिक्षक एकैपटक कोठामा जान्छन् । आफ्नो विषय पढाएर फर्कन्छन् । 

कक्षाकोठाको अभावका कारण एकै ठाउँमा सबै कक्षाका बालबालिकालाई राखेर पढाउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक तामाङले बताउनुभयो । एकै कोठामा धेरै कक्षाका विद्यार्थी राख्दा सिकाइ क्रियाकलाप प्रभावकारी नहुने उहाँको भनाइ छ । 

विद्यालयमा न त भूकम्प प्रतिरोधी भवन नै छ, न त अपाङ्गमैत्री लैङ्गिक मैत्री कक्षाकोठा नै  । विद्यालय हाता साँघुरो छ, न खेलमैदान न त शौचालय नै छ । भएको भवन पनि कच्ची छ, बाल शिक्षादेखि कक्षा ३ सम्म ५५ जना विद्यार्थीहरु रहेको यस विद्यालयमा सरकारी दरबन्दीका शिक्षकहरु छैनन् । 

चेपाङ्ग बालबालिका मात्र पढ्ने यस विद्यालयमा गाउँपालिकाको अनुदानमा एक जना शिक्षक राखिएको छ भने गाउँलेहरुले आर्थिक श्रोत जुटाएर अर्का एक शिक्षक राखेका छन् ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया