विषादी मोहले कृषिमा हराएको सन्तुलन

 फागुन १२, २०८१ सोमबार १७:१६:१३ | शिवशंकर शर्मा
unn.prixa.net

नेपालको कृषि सधैँ मानव र प्रकृतिबीचको गहिरो समन्वयको प्रतीक रहँदै आएको छ । हाम्रा पुर्खाहरूको सदियौँको ज्ञान, अथक परिश्रम र जमिनप्रतिको सम्मानले निर्माण गरिएको एउटा समृद्ध परम्परा हो ।

पहिले हाम्रो खेतहरू स्वच्छ माटो, शुद्ध पानी र स्वच्छ हावाको भरमा हराभरा हुन्थे । खेती केवल जीविकोपार्जनको माध्यम मात्र थिएन, यो हाम्रो जीवनशैली, पहिचान र प्रकृतिसँगको सम्मानजनक सम्बन्धको आधार थियो । तर केही दशकयता रासायनिक विषादीप्रतिको आकर्षणले कृषिको सन्तुलनलाई गम्भीर रूपमा खल्बल्याएको छ । किसानमा विषादीको मोह बढेसँगै हाम्रो परम्परा मात्र नभई हाम्रो स्वास्थ्य, वातावरण र भविष्यलाई समेत गम्भीर सङ्कटमा पुर्‍याइरहेको छ ।

सङ्कटमा कृषि, जोखिममा स्वास्थ्य र वातावरण

शुरूमा उत्पादन बढाउनका लागि समाधानका रूपमा आएका विषादी केही समयका लागि किसानको साथी नै बने । तर यसलाई जति अपनाइयो, त्यसको असर त्यति नै गहिरो र चिन्ताजनक बन्दै गयो ।

विषादीको हरेक 'स्प्रे' का साथ बालीनालीलाई सुरक्षित राख्ने भ्रममा हामी रमायौँ तर यसभित्र लुकेको कठोर वास्तविकतालाई बेवास्ता गर्‍याैँ । हाम्रो खेतबारीमा प्रयोग हुने अत्यधिक र हिसाबकिताबविनाको विषादी प्रयोगले हाम्रो स्वास्थ्य, वातावरण र भविष्यलाई गम्भीर चुनौती दिइरहेको छ ।

माटो, पानी, हावा र भोजन जसलाई जीवनको आधार मानिन्छ, आज ती सबै मन्द विषले भरिएका छन् । यसले मानव सभ्यताको आधारभूत संरचनालाई नै सङ्कटमा पारिरहेको छ ।

कतिपयबाहेक धेरै किसानले विषादीलाई औषधिका रूपमा बुझ्ने गरेका छन् । तर वास्तवमा सबैले बुझ्न आवश्यक छ कि यो कुनै औषधि होइन, यो एक अत्यन्त खतरनाक र विषालु रसायन हो । यसको प्रयोगले हाम्रो शरीरमा थोरै वा धेरै तर गम्भीर परिणामहरू देखाइरहेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार विश्वमा हरेक वर्ष ३० लाखभन्दा धेरै मानिस विषादी विषाक्तताबाट प्रभावित हुन्छन् र दुई लाखभन्दा धेरैले ज्यान गुमाउने गरेका छन् । तर पनि अझै माटो, पानी र हाम्रा खाद्य पदार्थमा मिसिएको विषादी हाम्रो जीवनको एक अभिन्न अङ्ग बनिरहेको छ जसले कुनै न कुनै रूपमा हाम्रो स्वास्थ्यमा दीर्घकालीन असर पुर्‍याइरहेको छ ।

नेपालको वर्तमान अवस्था

नेपालमा विषादीको शुरूवात सन् १९५० को दशकमा मलेरिया नियन्त्रणका लागि डीडीटीको प्रयोगबाट भएको थियो । तर अहिले विषादीको प्रयोग कृषि क्षेत्रको अभिन्न हिस्सा बनेको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको तथ्याङ्क अनुसार सन् २०१३/१४ मा नेपालले ४ दशमलव ५ लाख किलो विषादी आयात गरेको थियो, याे मात्रा सन् २०२२/२३ सम्म वार्षिक झन्डै १२ लाख किलो पुगेको छ । यो वृद्धिबाट किसानमा बढ्दो विषादीप्रतिको निर्भरता स्पष्ट नै छ ।

नेपालमा विषादी आयातमा वार्षिक १ दशमलव ६ अर्ब रुपैयाँ खर्च भइरहेको छ । यो रकम विदेशबाट आयात गरिएका रसायनमा खर्च हुन्छ जसले देशको विदेशी मुद्रा निकासीलाई बढाएको छ । हामी रेमिट्यान्सबाट भित्रिने डलर आफ्ना परिवारलाई खुवाउन विष किन्नमा खर्च गर्दैछौँ ।

अर्कोतर्फ विषादी प्रयोगले स्वास्थ्यमा पर्ने असरका कारण उपचार खर्च पनि अत्यधिक बढाएको छ । विषादी प्रयोगबाट विषाक्त भएको खानाले स्वास्थ्यमा पर्ने नकारात्मक असरको आर्थिक भार हाम्रो अर्थतन्त्रले वहन गर्नुपर्ने चुनौती बनेको छ ।

शुरुआती समयमा कीटनाशकहरूलाई कृषिमा चमत्कारी समाधानका रूपमा लिइयो । तर समयसँगै यसको दुष्प्रभावहरू प्रष्ट भए । आज व्यावसायिक तरकारी खेतीमा ८२ प्रतिशतसम्म विषादीको अवशेष भेटिएको छ । यो मात्राको अवशेष मापदण्डभन्दा दुई गुणाभन्दा पनि बढी हो जसले विषादी प्रयोगको भयावह स्थिति झल्काउँछ ।

नेपालमा विभिन्न प्रकारका विषादीहरू प्रयोग गरिन्छ जसले तात्कालिक रूपमा उत्पादन वृद्धि गर्न सहायता गरे पनि दीर्घकालीन रूपमा कृषि प्रणालीलाई असन्तुलित बनाइरहेको छ ।

क्लोरपाइरिफोस, साइपरमेथ्रिन र इमिडाक्लोप्रिड जस्ता कीटनाशकहरू कीरा नियन्त्रणका लागि व्यापक रूपमा प्रयोग गरिन्छ भने म्याङ्कोजेब, कार्बेन्डाजिम र मेटालाक्सिल जस्ता फङ्गिसाइडहरू रोग नियन्त्रणका लागि अपनाइन्छ । यस्ता विषादीहरूको अत्यधिक प्रयोगले माटोको उर्बराशक्ति घटाउने मात्र नभई मानव स्वास्थ्यमा समेत गम्भीर नकारात्मक असर पार्ने गर्छ ।

विषादीको दीर्घकालीन प्रभावले क्यान्सर जस्ता घातक रोगहरू बढ्दै गएका छन् । व्यावसायिक तरकारी खेती गर्ने गाउँहरू अहिले क्यान्सर, मिर्गौलारोग जस्ता दीर्घरोगसँग जुझिरहेका छन् जसको उपचारमा आफ्नै खेतबारी समेत बेच्नुपर्ने अवस्था आइरहेको छ तर त्यसरी पनि बिरामी बाँच्ने सम्भावना निकै न्यून छ । नेपालमा दैनिक ४० जनाले क्यान्सरकै कारण ज्यान गुमाउने तथ्य हाम्रो खाद्य प्रणालीमा विषादीको भूमिकासँग प्रत्यक्ष रूपमा जोडिएको छ ।

पर्यावरणमा असर

पर्यावरणको दृष्टिकोणबाट हेर्दा विषादीले हाम्रो रैथाने जीव, वातावरण, माटो र पानीलाई असर पार्दै जैविक विविधताको नाश पनि गरिरहेको छ । विषादीको प्रभावले केवल खेतीयोग्य जमिनको उर्बराशक्ति गुमेको छैन, माटोमा पाइने जैविक पदार्थ र सूक्ष्म जीवहरूको सङ्ख्या पनि खतरनाक रूपमा घटेको छ ।

तराई तथा काठमाण्डौ उपत्यका नजिकका धेरैजसो खेतबारीहरूमा माटोको जैविक पदार्थको मात्रा दुई प्रतिशतभन्दा तल झरेको तथ्याङ्कले देखाउँछ । केही क्षेत्रगत रूपमा गरिएका अध्ययनहरूमा जाँच गरेका नमुनाहरूमध्ये ६० प्रतिशत माटोमा विषादीको अवशेष भएको उल्लेख छ ।

माटोमा मात्रै होइन, पानीमा मिसिएको विषादीले पनि हामीलाई र हाम्रा पशुपक्षीलाई समेत प्रभावित गरिरहेको छ । यो विषादीको चक्र केवल कृषि क्षेत्रको समस्यामा सीमित छैन, यसले हाम्रो समग्र पारिस्थितिकीय चक्रलाई नै असन्तुलित गराइरहेको छ ।

अब के गर्ने ?

हामीले वर्तमान कृषि प्रणालीको असन्तुलनको समाधानको खोजीमा एक महत्त्वपूर्ण कदम चाल्न आवश्यक छ । तीन तहका सरकार, किसान र सरोकारवाला निकायहरूले ध्यान पुर्‍याउनुपर्ने खाँचो छ । विषादीको प्रयोगलाई कडाइका साथ नियन्त्रण गर्नु र विषादीमुक्त खेतीको प्रवृत्तिलाई प्रोत्साहित गर्नुपर्छ ।

यस्ता विषादीमुक्त कृषि पद्धतिहरूमध्ये प्राकृतिक खेती एउटा प्रभावकारी र दिगो सम्भावनाको बाटो हो । प्राकृतिक खेतीले वर्तमान असन्तुलित कृषि प्रणालीलाई पुनः जीवन दिन सक्षम बनाउँछ । यो पद्धतिले हानिकारक रसायनहरूको प्रयोगलाई पूर्णरूपमा हटाउँदै खाद्य सुरक्षालाई सुधार गर्छ र आयातित कृषि रसायनहरूमा निर्भरता घटाउँछ ।

प्राकृतिक खेतीले बिरुवाको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ जसले रोग र कीराको क्षति न्यून गर्ने मात्र नभई विभिन्न घरेलु उपायहरू प्रयोग गरेर रोगकीराको व्यवस्थापन गर्न सक्ने वातावरण पनि सिर्जना गर्छ ।

यसलाई अपनाउनु भनेको केवल कृषि पद्धतिमा परिवर्तन गर्नु मात्र नभई हाम्रो सोच, जीवनशैली र दृष्टिकोणमा सकारात्मक रूपान्तरण ल्याउनु हो । यदि हामी आजैदेखि प्रकृति र स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय गर्छाैँ भने भविष्यमा हामी सुरक्षित, सस्तो र स्वास्थ्यकर खाद्य उत्पादन सुनिश्चित गर्न सक्छौँ ।

सरकार र अन्य सरोकारवालाहरूले किसानलाई प्राकृतिक तथा जैविक खेतीतर्फ प्रोत्साहित गर्न विशेष रणनीति तथा कार्यक्रम सञ्चालन गर्नुपर्छ । विषादीमुक्त कृषि प्रणालीलाई प्राथमिकतामा राखेर किसानलाई आवश्यक तालिम, प्राविधिक सहायतार प्रोत्साहनको व्यवस्था गर्नुपर्छ ।

उपभोक्ता र किसानमा विषादीको प्रभावबारे जनचेतना फैलाउनुपर्छ । विषादीबाट किसान मात्रै होइन उपभोक्ता पनि उत्तिकै प्रभावित छन् । विषादीमुक्त उत्पादनका फाइदाबारे जागरूकता बढाउन विशेष अभियान सञ्चालन गर्नुपर्छ । विषादीमुक्त उत्पादनका लागि थोकबजार र आपूर्ति शृङ्खला विकास गर्नु आवश्यक छ ।

उपभोक्ताले विषादीमुक्त उत्पादनलाई प्राथमिकता दिने वातावरण सिर्जना गर्नुपर्छ । साथै जैविक विविधता संरक्षणका लागि अनुसन्धानलाई प्राथमिकता दिँदै वातावरणमैत्री कीट व्यवस्थापन प्रविधिको विकास र प्रयोगलाई प्रोत्साहित गर्नुपर्छ ।

विषादी मोहले कृषिमा हराएको सन्तुलनलाई पुनर्स्थापना गर्न सामूहिक प्रयास आवश्यक छ । किसान, उपभोक्ता र सरोकारवालाहरूले विषादीमुक्त कृषि प्रणालीको महत्त्वलाई आत्मसात् गर्दै प्रकृति र स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ । परिवर्तन कहिल्यै सजिलो हुँदैन । तर यदि हामी आजैदेखि जिम्मेवार निर्णय गर्न थाल्छौँ भने हाम्रो भविष्य सुरक्षित, सस्तो र स्वास्थ्यकर खाद्यान्नले भरिपूर्ण हुनेछ।

विषादीमुक्त कृषि प्रणाली अपनाउनु केवल कृषि पद्धतिमा सुधार मात्र होइन, यो हाम्रो जीवनशैली र सोचमा सकारात्मक रूपान्तरण ल्याउने अवसर पनि हो । त्यसैले अब समय आएको छ, हामीले विषादीको मोह त्यागेर प्राकृतिक खेतीतर्फ उन्मुख हुँदै दिगो कृषि प्रणालीको निर्माण गर्ने, यो अवसरलाई खेर फाल्नु हुँदैन ।

(प्राकृतिक खेती प्रवर्द्धक शर्मा गुड नेवर्स इन्टरनेशनल नेपाल र एग्रिकल्चरल टेक्नोलोजी सेन्टरमा कृषि विज्ञका रूपमा कार्यरत हुनुहुन्छ ।)

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिवशंकर शर्मा

 शर्मा गुड नेवर्स इन्टरनेशनल नेपाल र एग्रिकल्चरल टेक्नोलोजी सेन्टरमा कृषि विज्ञको रूपमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया