कर्णाली प्रदेश टी–२० क्रिकेटको उपाधि सुर्खेतलाई

 पुस १८, २०७५ बुधबार ६:४०:१३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ ।

मंगलबार रुकुम पश्चिमको चौरजहारीमा भएको फाइनलमा जाजरकोटलाई पराजित गर्दै सुर्खेतले उपाधि जितेको हो । फाइनलमा सुर्खेत १४ रनले विजयी भयो । टस जितेर ब्याटिङमा उत्रिएको सुर्खेतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो । उसका लागि भविन सारु मगरले नटआउट ४० र टेक सलामीले पनि ४० रन बनाए । जाजरकोटका लागि प्रणम भडेलले ३ र केशर अधिकारीले २ विकेट लिए । 

१ सय ६१ रनको लक्ष्य पछ्याएको जाजरकोटले १ सय ४६ रन मात्र बनाउन सक्यो । पूरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा जाजरकोटले उक्त योगफल खडा गरे पनि जितभने हासिल गर्न सकेन । जाजरकोटका लागि पदमराज भण्डारीले सर्वाधिक ७१ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यानले राम्रो अंकमा रन बनाउन नसकेपछि जाजरकोट पराजित हुन पुग्यो । सुर्खेतका कप्तान रवीन्द्रजंग शाहीले ४ तथा ललित प्याकुरेलले २ विकेट लिए । 

विजेता सुर्खेतले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता जाजरकोटले ६० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रप्राप्त गरेको आयोजक जिल्ला क्रिकेट संघका अध्यक्ष दिपक बाँठामगरले जानकारी दिनुभयो । 

प्रतियोगिताको म्यान अफ् द सिरिज कालिकोटका सुनिल भण्डारी, बेस्ट ब्याट्सम्यान सुर्खेतका रवीन्द्रजंग शाही, बेस्ट बलर आयोजक रुकुमका युवराज केसी, इमर्जिङ प्लेयरमा सुर्खेतका टोपेन्द्र जिसी र लोकल इमर्जिङ प्लेयर आयोजक रुकुमका धनजित खड्का घोषित भए । 

उनीहरुलाई ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । कर्णाली प्रदेशको क्रिकेट विकासमा टेवा पुर्याउने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ ।

गएको पुस १० गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरेको प्रतियोगितामा आयोजक रुकुम, सुर्खेत, जाजरकोट, सल्यान, कालिकोट, डोल्पा र जुम्ला जिल्लाले सहभागिता जनाएका थिए । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया