‘सिंजा राज्यको पतनपछि कर्णालीको कालो दिन सुरु भएको थियो’

 पुस २७, २०७५ शुक्रबार २०:४७:३८ | नेत्र शाही
unn.prixa.net

जुम्लामा बृहत जुम्ला राज्यको इतिहास तथा एकीकरणसम्बन्धी प्रवचन दिदै खस भाषाका जानकार रमानन्द आचार्य

जुम्ला – पृथ्वी जयन्तीको दिनका अवसरमा जुम्लाका प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले आफ्नो फेसबुक स्टाटसमा लेख्नुभयो, ‘कर्णालीका मान्छेले पृथ्वीनारायण शाहको बख्यान गरेको देखेर अच्चम लाग्छ । जसले खस सभ्यताको अस्तित्व मेटाउन हिटलरले भन्दा धेरै दमन गरेका थिए ।’

सांसद महतले भनेजस्तै नेपाल एकीकरणको क्रममा सिंजा राज्य पतनपछि कर्णालीको कालो दिन सुरु भएको कर्णालीका बुढापाका र जानकारहरु बताउँछन् । 

देशभर पृथ्वी दिवस मनाए पनि जुम्लामा पृथ्वी दिवसको अवसरमा जुम्लामा भने जुम्ला राज्य र खस सभ्यताको इतिहासको विषयमा  प्रवचन कार्यक्रम सम्पन्नसमेत सम्पन्न भएको छ । 

तत्कालीन समयको विशाल खस जुम्ला सिंजा साम्राज्यको इतिहासको बारेमा जानकारी दिन नेपाली सेनाको आयोजनामा प्रवचन कार्यक्रम सम्पन्न गरेको हो । भगवती दल गण जुम्लाको आयोजनामा खस भाषाका जानकार तथा खसिया आखार जुम्लाका सम्पादक रमानन्द आचार्यले करिब सवा घण्टा खस सभ्यता, सिंजा राज्य र जुम्लाको बारेमा प्रवचन दिई विशाल खस राज्यको बारेमा जानकारी गराउनु भएको हो । 

खस जुम्ली भाषाका जानकार रमानन्द आचार्यले तत्कालीन सिंजा राज्यको स्थापना कसरी भयो ? पतन कसरी भयो ?  वि.सं. १८४६ पछिको कर्णालीको अवस्थाको बारेमा जानकारी गर्नुभएको छ । 

 ऐतिहासिक सिंजा उपत्यकामा मार्सी धान फलेको खेत 

जुम्लाको टुडिँखेलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधिहरुको सहभागितामा खस इतिहास भनिरहँदा भने सरोकारवालाहरुले निकै महत्वका साथ सुनिरहेका थिए । उहाँले सिंजालाई स्थापना गर्ने नागराज राजापछि भइरहेका गतिविधि निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले बृहत जुम्ला राज्यको  इतिहास र खस सभ्यता कैलाश र सिंजाबाटै भएको बताउनुभयो । तत्कालीन समयमा उत्तर र दक्षिणतिरबाट आएका जडान र दक्षिणबाट आएका खसानहरु मिलेर खस राज्यको स्थापना गरेको बताउनुभयो । खसहरु संसारको आदिम र केकसपछि खसमा परिणत भएका उहाँको दाबी छ । 

आचार्यले तिब्बतका राजा दलाई लामा स्रङचङ गोम्पो (भृकुटीका पति) तिरका सन्तान नागराज भएको बताउनुभयो । उनको बस्ती मानसरोवरभन्दा ८–१० किलोमिटर टाढा पर्दछ । उनीहरु त्यहाँका सामन्त थिए । उनी केही गर्न चाहने व्यक्ति थिए । उनी उत्तम स्थान खोज्दै सिंजा आएका थिए । 

तिब्बतको खारी प्रदेशका सामन्त नागराजले केही अठोट गरेपछि सिंजा हाट सिंजालाई राजधानी बनाएर राज्य सञ्चालन गरिरहेका थिए । उनका छोरा चाप, चापका छोरा चापिल्ल क्राचल्ल क्राधिचल्ल, अशोक चल्ल हुँदै सन्तान अगाडि बढिरहेको उहाँले बताउनुभयो । 

यसैगरी नागराजले स्थापना गरेको सिंजा राज्यको इतिहासदेखि वि.सं. १८४६ मा गोर्खाली सेनाको आक्रोमणमा परेका बेला सिंजा साम्राज्यको पतन भएको इतिहास जुम्ली खस भाषाका जानकार आचार्यले जानकारी दिनुभयो । तत्कालीन समयमा विशाल साम्राज्य बनको सिंजा राज्यले ३२ देशबाट कर अशुल गर्दथ्यो उहाँले बताउनुभयो । 

काठमाण्डौको नाम पनि खस भाषाबाटै  

यसैगरी काठमाण्डौको नाम पनि खस भाषाको नामले आरम्भ भएको आचार्यले बताउनुभयो । उहाँले माणु भन्ने शब्द कर्णालीको खस सभ्यताको देवतासँग जोडिएको छ । यसैले काठमाण्डौ खस भाषाको नाममा काठमाणु हुँदै काठमाण्डौ भएको बताउनुभयो । 

आचार्यका अनुसार उदयपुरका राजा उत्तमराज मुसलमानसँगको यद्धमा  रावलपिण्डमा मारिएका थिए । उनकी गर्भवती रानीले शिशु राजा हुनुपर्छ र सुरक्षित स्थानमा राज्य गर्न पाउनुपर्छ भनिन् । ती रानीलाई बाबाहरुको संरक्षणमा कर्णाली तिर ल्याइयो । रावलको घरमा राखियो र यिनीबाट जन्मेको दुई बच्चा बलिराज र कविराज हुन ।  उनीहरु वीर कुमारहरु भएको आचार्यले बताउनुभयो । यिनले समेत सिंजा राज्यको सञ्चालनमा ठूलो भूमिका खेलेका थिए । 

अनि पतन भयो सिंजा साम्राज्य 

नेपाल एकीकरणको क्रममा सिंजा राज्य बलियो भएपछि गोर्खालीहरुको निसानामा परेको थियो । गोर्खाले आफ्नो सेना पटक–पटक आक्रमण गर्न पठाएको थियो ।

आक्रमणमा दुईपटक समेत असफल भएपछि तेस्रो समयमा नेपाल एकीकरणमा लिन नसकेको गोर्खाली राज्यले असोज महिनामा दशैँको समयमा दुईवटा सेनाको टिम सिंजालाई आक्रमण गर्न पठाएको थियो । एकातिर निकै कामको समय । अर्को दशैँमा सेनाहरु घरतिर गएको समयमा भएको आक्रमणमा सिंजा साम्राज्य आक्रमणमा परि पराजित भयो र ध्वस्त भएको थियो । 

आचार्यका अनुसार जुम्लाको उत्तर र दक्षिणबाट आएको टिमले वि.सं. १८४६ असोज ३ गते एकै पटक गरेको आक्रमणले सिंजा राज्यको पराजयपछि पतन भएको थियो । त्यहाँका राजा अन्तिम राजा शोभान शाही भने भागेर तिब्बत पुग्न सफल भएका थिए ।

वि.सं. १८४६ पछिको लामो समयसम्म राज्यले सिंजा र कर्णालीप्रति राज्यले प्रति हेर्ने दृष्टिकोण राम्रो भएन । कर्णालीका खस भाषाका जानकार आचार्यले भने जस्तै वि.सं. १८४६ पछिको सिंजा विशाल जुम्ला सिंजा राज्यको अवस्था खस्किँदै गयो ।

जीवनशैली उस्किन नपाएपछि कर्णालीमा गरिबीले छाएको अधिकारकर्मी र जनप्रतिनिधिहरुको धारणा राख्दै आएका छन ।  कर्णालीबासीले यो दिन कालो दिन भन्दै आएका छन् । अहिले सिंजा ओझेलमा छ । विकास र समृद्धिको पर्खाइमा छ । 

 

अन्तिम अपडेट: माघ ४, २०७५

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Jewan

    Jan. 11, 2019, 10:33 p.m.

    Jumla was highly developed and had bullet train and Airport , University ,great schools ,Advance army in the world and many scientists also they had so many monuments even bigger than Taj Mahal, great Wall and what not .... idiot what kind of tweets you write? What you had and what you could achieve if you were not United Nepal? Such an idiot thinking must me jungley leader he is.

तपाईको प्रतिक्रिया