प्रहरीको गोली लागेर ‘माेस्ट वाण्टेड’ सूचीमा रहेका साहनीकाे मृत्यु

 पुस २९, २०७५ आइतबार १८:४६:१९ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - रुपन्देहीमा प्रहरीले हानेको गोली लागेर पूर्व माओवादी कार्यकर्ताको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर-१०, शंकरपुरमा शनिबार राति भएको भिडन्तमा परि सिद्धार्थनगर-६ का केदार साहनीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार गस्तीमा रहेको प्रहरीमाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार साहनीले गोली चलाएपछि भिडन्त भएको हो । उनी २०६६ माघ २ गते कपिलवस्तु कारागारबाट सुरुड खनेर भागेका माओवादी कार्यकर्ता हुन् ।

पछि उनी जनतान्त्रिक तराइ मुक्ति मोर्चामा सहभागी भएर रुपन्देहीमा विभिन्न आपराधिक घटनामा संलग्न रहँदै आएको प्रहरीले जनाएको छ । भैरहवाका आकास गुरुडको हत्यामासमेत उनको संलग्नता रहेको प्रहरीले बताएको छ ।

उनले सीमाना पारी बसेर नेपालतर्फ तस्करी गर्ने गरेको प्रहरीले बताएको छ । प्रहरीले घटनास्थलबाट स्वचालित पेस्तोल तथा उनले प्रयोग गरेको यूपी ५३ एच २०२८ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ ।

रुपन्देहीका प्रहरी प्रमुख हृदय थापाका अनुसार साहनी प्रहरीको मोष्ट वाण्टेड सूचिमा रहेका व्यक्ति हुन् । 


 

अन्तिम अपडेट: चैत ३०, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया