हजुरबासँग नातिको ल्याङल्याङ : हैट बुढा, बालै फरर !

 माघ १२, २०७५ शनिबार ८:२३:४३ | मिलन तिमिल्सिना
unn.prixa.net

बनारसमा उहिल्यै नेपाली र संस्कृत भाषा पिएर जिब्रोदेखि आँतसम्मै रसिलो पारेका हजुरबा भकारोदेखि भान्सासम्मै भाषाको औधि ख्याल गर्छन् । बुढामान्छे भातमा गडबड भयो भने बरु सहन्छन्, तर भाषामा गडबड भयो भने शब्द वाणसँगै भाटै टिपेर हान्न अघि सर्छन् । 

भाषाको रसले भरिभराउ भएका उनै हजुरबाको नाति चाहिँ हिजाओज शहरमा बसेर कलेज चाहार्छ, साथीसित रौसिन्छ र बेला बेला सोमरस पनि चाख्छ । हजुरबाले रस मानेर पिएको भाषा र शब्दभन्दा अलग छन् उस्का शब्द र भाषा । त्यसैले होला, हजुरबाले अहिलेसम्म नजानेका, नसुनेका र नसिकेका धेरै शब्द, चाल र कुरा नातिले जानिसकेको छ ।

गाउँमा बस्ने हजुरबा र शहरमा रमाउने नाति केटोबीच बेलाबेला भेट पनि भैरहन्छ । योपालि कलेज बिदा भएको बेला माघे संक्रान्तिमा नाति गाउँ पुग्यो । गाउँ पुगेपछि नातिले हजुरबालाई तीनछक्क मात्रै बनाएन, उसले बोलेका शब्द सुनेर हजुरबा झण्डै बेहोसै भए ।

‘हैट हाम्रा हजुरबाले पनि कत्रा तरुल फलाएका, एक हातले उचाल्नै गाह्रो’ बारीबाट तरुल बोकेर आएका हजुरबाले आँगनमा पाइलो राख्ने बित्तिकै नाति केटो बोल्यो ।

‘हैन यो हैट भनेको चाहिँ के हो बाबु’ हजुरबाले सोधिहाले ।

‘हैट भनेको हैट, अब के भन्नु हजुरबा’ नातिले आफ्नै अल्लारे र उरुन्ठेउलो जवाफ दियो । 

‘खै हामी त जंगल जाँदा बाघ, भालु र स्याल बाँदरलाई तर्साउन हैट भन्ने गर्थ्याैँ, यसरी मेलो न मेसो र अर्थ न बर्थसँग हैट भन्दैन थियौं त’ हजुरबाले फेरि शब्दको अर्थ कोट्याउन खोजे, ‘ल भन् त यो हैट भनेको के हो ?’

हजुरबाको कुरा सुनेर नाति केटोले टाउको कन्यायो । ‘खै हजुरबा अर्थ त थाहा छैन, हैट भनेपछि हैट, अब के भन्नु ?’

‘अर्थ नै थाहा नभएको कुरा पनि बोल्छन् त ? ल पत्ता लगा हैट भनेको के हो ?’ संस्कृत र नेपाली शब्दकोषमा नभएको हैट शब्दलाई हजुरबाले नछोड्ने छाँट ल्याए ।

‘आ हजुरबाले पनि कति ल्याङल्याङ गरेको, अर्थ थाहा भए पो भन्नु, थाहा छैन मलाई’ नाति पन्छिन खोज्यो ।

हजुरबाको शब्दकोशमा नातिले अर्को शब्द थपि दियो । हजुरबाले नातिले बोलेको अर्को शब्द समातेर सोधे, ‘फेरि यो ल्याङल्याङ भनेको के हो ?’

‘हैट हजुरबा अति गिद्दिचाहिँ नगर्नु न हो, ल्याङल्याङ भनेको ल्याङल्याङ, जसरी अहिले तपाईंले मसित गरिरहनुभएको छ’ हैटको अर्थ भन्न नसकेको नातिले ल्याङल्याङको अर्थ प्रष्ट्याउन खोज्यो ।

तर हजुरबाको चित्त बुझेन । ‘यसलाई ल्याङल्याङ भन्दैनन् हेर बाबु । फेरि गिद्दि नगर्नु भनेर अर्को शब्दले पनि मलाई अलमलमा पारिस् । ल भन् यो गिद्दि भनेको चाहिँ के हो ?’ हजुरबा अझै कड्किए ।

‘गिद्दि भनेको गिदी खानु, दिमाग खानु भनेको, तपाईंले अघिदेखि मेरो टाउको र गिदी खान खोज्नुभयो नि, हो त्यही भनेको’ नाति बोल्यो ।

‘थुक्क बजिया तेरो गिदी भए पो खानु, ल एकछिनलाई मानौं तेरो गिदी छ रे ! अनि मैले खान खोजें रे, सिधै गिदी खान खोज्नुभयो भन्दा पो मिल्छ त! गिद्दि नगर्नु भनेको पनि कतै मिल्यो त ?’ हजुरबाले एकएक गर्दै नातिका कुरा समात्दै गए ।

‘ट्वेट हजुरबाले त अति खल्ली नै गर्न लाग्नुभयो, म हिँडे’ नाति पन्छिन खोज्यो । तर हजुरबाले उठिसकेको नातिलाई समातेर पिंढीमा बसाले ।

‘हेर बाबु तैंले बोल्दै गरेका यी कुराको मलाई अर्थ नबताई जानै पाउँदैनस्, फेरि यो ट्वेट र खल्ली भनेको चाहिँ के हो ?’ नातिले बोलेका एक एक शब्द हजुरबाले सनासोले फलाम समाते झै समात्दै गए । नाति केटो अक्क न बक्क पर्यो ।

‘हजुरबा मलाई अर्थचाहिँ थाहा छैन, तर साथीहरुले यसै भन्छन्, त्यही भएर भनेको’ हजुरबासँग हार मान्दै नातिले नरम स्वरमा जवाफ फर्काएर फुत्किने सुर गर्‍याे ।

तर हजुरबा यत्तिकै छोड्नेवाला थिएनन् । ‘हेर बाबु मलाई तैंले भनेका सबै शब्दका अर्थ चाहिन्छ । मलाई  बुझाउन सकिनस् भने आज तैले पोलेको तरुल पनि खान पाउँदैनस्’ हजुरबाले भने ।

‘आ बाल मतलब, तरुल खान नपाएर के भो त’ नाति बोल्यो ।

‘अनि बाल मतलब भनेको के नि ?’ हजुरबाले फेरि नातिको कुरा पक्डिए ।

‘बाल छैन भनेको नि । तरुल खान नपाएर केही छैन हजुरबा बालै फरर’ दिक्क भैसकेको नातिले आफ्नै पाराको जवाफ फर्कायो ।

‘तेरो बाल भए पो फरर हुन्छ त बजिया । बाल भनेको थाहा छ तँलाई ?’ हजुरबाले सातो खान खोजे ।
‘छैन हजुरबा, तर बाल छैन थाहा नभए नि’ नाति बोल्यो ।

‘थुक्क बजिया । बाल भनेको कपालको केश, रौं हो । गहुँ र जौको झुसलाई पनि बाल भनिन्छ । तर बाल छैन भनेको कपाल छैन भनेको कि झुस छैन भन्न खोजेको तैले ?’ भाषाको रसले रसिला भैसकेका हजुरबाले नातिका अड्मिल्दा शब्दको अर्थ लगाउँदै गए ।

‘हजुरबा धेरै ल्याङल्याङ नगर्नु न, मलाई मतलब छैन भनेको हो । कपाल र झुस भनेको होइन’ नातिले आफैंले जानेको शब्द अर्थ्यायाे ।

‘त्यसो भए मतलब छैन मात्रै भन् न त । किन बाल जोड्नु पर्‍याे’ हजुरबा कड्किए ।

‘अहिलेको कुरा गर्ने फेसन नै यस्तै छ क्या हजुरबा । सुड्डोलाई कसरी बुझाउनु ?’ नाति वाक्क दिक्क भएर केहि झर्कियो ।

‘ओइ बजिया फेरि सुड्डो भनेको के हो ?’

‘सुड्डो भनेको बुढो ।’

‘अनि बुढोलाई बुढो नै भन् न त । सुड्डो किन भन्नु पर्‍याे ।’

‘ल तैंले भनेका यी शब्द नेपाली शब्दकोषमा खोज । त्यहाँ रहेछ भने मात्रै बोल्ने गर्नू ।’ हजुरबाले नातिलाई शब्दकोशको ठेली दिँदै भने ।

‘आ हजुरबा शब्दकोशमै हुनुपर्छ भन्ने के छ ? हामीले जे बोल्यौं, त्यही चलायौं । शब्दकोशमा होस् कि नहोस्’ नातिले आफ्नै स्तरको जवाफ फर्कायो ।

‘कि बोलेको कुरा शब्दकोशमा हुनुपर्छ, कि शब्दकोशमा भएअनुसार बोल्नुपर्छ’ भाषाको ख्याल गर्दै हजुरबाले चिन्तित स्वरमा भने ।

‘अब थप्नु पर्‍याे नि त हजुरबा शब्दकोशमा’ नातिले ढिपी गर्‍याे 

‘अँ भएका शब्द ह्रस्व लेख्ने कि दीर्घ लेख्ने भन्ने जुहारी त सकेका छैनन्, तैंले बोलेका शब्द थपेर बस्लान् नि’ थरिथरिका भाषाविदहरुका तर्क र जुहारी सुनेर केही वर्षदेखि वाक्क दिक्क भएका हजुरबा बोले ।

‘आ हजुरबा अब छाड्नुहोस् । थपे नि नथपे पनि हामीलाई बालै फरर । बरु यो तरुल पोलेर खाउँ न, कस्तो अख्खा होला’ नातिले कुरा टुंग्याउन खोज्दै भन्यो ।

‘ए भगवान, फेरि अख्खा रे, के हो यो अख्खा भनेको चाहिँ’ अर्को शब्द सुनेर प्रश्न गर्दा गर्दै हजुरबा बेहोस् हुने डरले थुचुक्क आँगनमा बसे । भाउन्न होला जस्तो भएर थुचुक्क बसेका बुढाले नातिले अब के जवाफ देला भनेर पुलुक्क हेरे । तर नाति केटो त्यहाँ थिएन । बुढाले यसो आँखा डुलाए । 

ज्या है, नाति केटो त हजुरबाको शब्दकोशमा नभएका आधा दर्जन शब्द आँगनमै छोडेर काठमाण्डाै जाने बस पक्रिन गुरुरु ओरालो लाग्दै निकै तल पो झरिसकेछ ।

अन्तिम अपडेट: मंसिर १६, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया