एक दिवसीय क्रिकेट श्रृंखलामा रचियाे इतिहास: यूएईविरुद्ध नेपाल २-१ ले विजयी

 माघ १४, २०७५ सोमबार १९:०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

युएईविरुद्धकाे तीन एक दिवसीय क्रिकेटकाे श्रृंखला नेपालले २-१ ले जित्दै इतिहास रचेकाे छ । 

यूएईविरुद्ध २५५ रनको लक्ष्य पछ्याएकाे नेपाल ६ विकेट गुमाउँदै ४४.४ ओभरमा लक्ष्य भेट्टाएकाे हाे ।

पहिले खेल हारेको नेपालले लगातार २ खेल जित्दै सिरिज हात पारेको हो । आईसीसीले ४ वर्षका लागि एक दिवसीय क्रिकेटको मान्यता दिएपछि दोस्रो सिरिज खेलेको नेपालले पहिलो उपाधि हात पार्न सफल भयो ।

२०१८ को अगष्टमा नेदरल्याण्ड्ससँग सिरिज बराबरी गरेको नेपालले यूएईलाई उसकै मैदानमा तेस्रो तथा अन्तिम खेलमा ४ विकेटको जित निकाल्दै सिरिज जीतेको हो । 

नेपाललाई ऐतिहासिक सिरिज दिलाउन पारस खड्काले कप्तानी पारी खेलेका छन् । उनले शतकसहित ११५ रन बनाए ।

ओपनर ब्याट्सम्यान विनोद भण्डारी आउट भएपछि क्रिजमा आएका कप्तान खड्काले ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, रोहित पौडेल र आरिफ शेखसँग गतिलो साझेदारी गर्दै शतक बनाएका थिए । आईसीसीले मान्यता दिएपछि पारसले पहिलो शतक बनाएका हुन् । 

नेपालका लागि सोमबार खेल जिताउन उपकप्तान ज्ञानेन्द्र मल्लले पनि उत्कृष्ट पारी खेले । ३५ बलको सामना गरेका मल्लले ४ चौकाको मद्दतले ३१ रन बनाए । ज्ञानेन्द्र आउट भएपछि मैदान आएका दीपेन्द्रसिंह ऐरी भने सोमबार पनि चल्न सकेनन् । उनी १५ बल खेल्दै ६ रन बनाएर पेभेलियन फर्किएका थिए ।

सोमबारमात्रै राष्ट्रिय टिममा डेब्यु गरेका युवा खेलाडी सन्दीप जोराले १९ रन बनाए । २० बल सामना गरेका उनले तेस्रो बलमै छक्का प्रहार गरेर यूएईका बलरमाथि दबाब बनाएका थिए । जोराले एउटा चौका प्रहार गर्दै लगातार एक दुई रनमा स्ट्राइक रोटेट गरेका थिए ।

यसअघिको खेलमा अर्धशतक सहित ५५ रन बनाएका विश्वकै कम उमेरका खेलाडी रोहित पौडेलले सोमबार १६ रनको योगदान गरे । १९ बल खेलेका रोहितले एक चौकाको मद्दतले १६ रन बनाए ।

अन्तिममा खेल जिताउन सोमपाल कामी र आरिफ शेख नट आउट रहे । सोमपाल २६ रनमा नट आउट रहँदा आरिफ २१ रनमा नट आउट रहे ।
टस हारि पहिला ब्याटिङ गरेको घरेलु टोली युएईले निर्धारित ओभरमा ६ विकेट गुमाएर २५४ रन बनाएको थियो ।

२ रनमा २ विकेट लिएर सुरुमा नेपालले युएईमाथि दबाब दिए पनि मिडिल अर्डरका खेलाडीहरु टिकेर खेल्दा उसले सम्मानजनक स्कोर बनाएको थियो ।

गुलाम सब्बेर चिराग शुरीले तेस्रो विकेटका लागि ४५ रनको साझोदारी गर्दै युएईको इनिङ उकासेका थिए । युएईको स्कोर ४७ रन हुँदा कप्तान पारस र लेगस्पिनर सन्दिप लामिछानेले बलियो साझेदारी गरेका मोहमद उस्मान र गुलाम सब्बेरलाई आउट गरेका थिए । त्यसपछि फेरि युएईका चुन्दा रिजवान र साइमन अनवारले इनिङ सम्हाल्न सफल भए ।उनीहरुकाबीचमा १०० रनको साझेदारी भएपछि नेपाललाई खेलमा फर्कन केही अप्ठेरो भएको थियो ।

४७ रनमा चार विकेट गुमाएको युएईले १४७ रनमा पाँचौ विकेट गुमाएको थियो । ४५ रन बनाएका रिजवानलाई करण केसीले आउट गरेका थिए । यसैगरी युएईको २२७ रन हुँदा पारसले अर्धशतक सहित ८७ रन बनाएका अनवरलाई पेभेलियन पठाए ।

मजबुत ब्याटिङ अर्डर रहेको युएईका लागि मोहमद बोताले ३१ बल खेल्दै ४ छक्का र ५ चौका सहित ५९ रनमा नटआउट रहे । यसैगरी ३ बल खेलेका कप्तान मोहमद नाभिदले एक छक्का र एक चौका प्रहार गरेका थिए ।

नेपालका करण केसी र पारस खड्काले दुई दुई विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिएका थिए ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया