विदेशमा पनि नराम्रो थिएन तर त्योभन्दा राम्रो अहिले गाउँमै छ

 माघ २१, २०७५ सोमबार १३:०:८ | मेरो कथा मेरो भोगाई

टोलबहादुर तामाङ/ रामपुर, रामेछाप । 

हाम्रो गाउँबाट विदेश जाने म नै पहिलो व्यक्ति हुँ जस्तो लाग्छ । त्यतिबेला गाउँबाट काेही पनि विदेश गएका थिएनन् । मेरा आफन्त काठमाण्डौमा भएकाले म काठमाण्डौमा आएका बेला उनीहरुले नै मलाई विदेश जाने हाे भए म्यानपावरको मान्छे चिनेको बताए ।

उनीहरुले नै मलाई म्यानपावरसम्म पुर्‍याइदिए । म त्यही म्यानपावरबाट २०५९ सालमा कतार गएँ । लेबरको काम थियो । म्यानपावरले मसँग ७२ हजार रुपैयाँ लियो । मेरो तलब साढे पाँच सय रियाल हुन्थ्यो । 

त्यतिबेला एक रियालको २१ रुपैयाँ हुन्थ्यो । यही तलबमा मैले ३५ महिना काम गरें । काम ठिकै थियो अनि मलाई मेरो कामका लागि दिएको तलब ठिकै हो जस्तो लाग्छ । त्यही भएर नै सम्झौताको समय सकेर नै फर्किएँ । तर त्यसपछि चाहिँ मलाई जान मन लागेन । कतारबाट फर्किएर गाउँमै काम गरें । डकर्मी र सिकर्मीको काम आउँथ्यो । त्यही काम सुरु गरें । 

त्यतिबेला त ठिकै कमाइहुन्थ्यो । तर २०७२ सालमा भूकम्प गएपछि चाहिँ काम र कमाई दुवैको अवसर बढ्यो मेरा लागि । भूकम्पपछि अहिले गाउँमै धेरै घर नयाँ बनिरहेका छन् । त्यही काम गरिरहेको छु । घरमै बसेर गर्न सकिने काममा कमाई पनि राम्रै छ ।

अहिले म महिनामा ३० देखि ३५ हजार रुपैयाँ यही कामबाट कमाइरहेको छु । वैदेशिक रोजगारीमा गएकाहरुले आफूले केही न केही दुःख पाएरै फर्किएको सुनाउँछन् । तर मैले कतारमा बसुञ्जेल त्यस्तो केही समस्या भोग्नु परेन ।

अहिले गाउँमा पनि मेरा लागि राम्रै भइरहेको छ । त्यसैले मेरा लागि विदेश पनि नराम्रो भएन । तर परिवारसँगै बसेर गाउँमै काम गर्न पाउँदा त्योभन्दा पनि राम्रो भएको छ मेरा लागि । 
 

अन्तिम अपडेट: जेठ २५, २०७६

तपाईको प्रतिक्रिया