महेन्द्रनगर युनाइटेडलाई रुपन्देही च्यालेञ्जर्सले दुई रनले हरायो

 माघ २८, २०७५ सोमबार १८:२७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – रुपन्देही च्यालेञ्जर्सले धनगढी प्रिमियर लिगको दोस्रो खेलमा महेन्द्रनगरलाई २ रनले हराएको छ । 

फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही २० ओभरमा एक सय ११ रनमा अलआउट भयो । खराब सुरुवात गरेको रुपन्देहीले ५ रनमा पहिलो विकेट गुमाउँदा ५५ रनमा ५ विकेट खेर फालेको थियो । उसका लागि मात्र चार खेलाडीले दोहोरो अंक छुन सके । जसमा सुमित महर्जनले सर्वाधिक २७ रन बनाए ।

यस्तै विनोद भण्डारीले १९ रन बनाउँदा सन्दीप सुनारले १५ र बाबर हायातले १४ रन जोडे । बाँकी खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । रुपन्देहीलाई कम स्कोरमा रोक्न सिद्धान्त लोहनीले तीन तथा सागर ढकाल र अविनाश बोहराले दुई–दुई विकेट लिए ।

जवाफमा महेन्द्रनगर २० ओभरमा आठ विकेट गुमाउँदा एक सय नौ रनमा रोकियो । सुरुवात राम्रो गर्न नसकेको उसले ३६ रन बनाउँदा दुई विकेट गुमाएको थियो । ६१ रन बनाउँदा चार विकेट खेर फाल्यो । महेन्द्रनगरका ओपनर दिलिप नाथ आठ तथा कप्तान शरद भेषावकर चार रनमा आउट भए । यसतै कुशल मल्ल नौ र आरिफ शेख ५ रनमा पेभेलियन फर्किए ।

त्यसको लगत्तै सुब्रमनियम आनन्द पनि व्यक्तिगत २५ रनमा आउट भएपछि महेन्द्रनगरले ६४ रनमा ५ विकेट खेर फाल्यो । महेन्द्रनगरको ब्याटिङ रुपन्देहीको बलिङ अगाडि पुरै कमजोर बन्यो । उसले ६६ रन बनाउँदा ६ विकेट गुमायो ।

अन्तिममा रोहितकुमार पौडेलले टिमलाई लयमा ल्याएका थिए । तर उनी २४ रनमा पेभेलियन फर्किए । जसका कारण एक सय रन बनाउँदा महेन्द्रनगरले सात विकेट गुमायो । त्यसको लगत्तै मोहम्मद नाभीद पनि १२ रनमा आउट भएपछि आठौँ विकेट गुमायो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया