सुनको भाउ फेरि निरन्तर बढ्ने क्रममा : आज एकैदिन तोलामा १ हजा...
मंसिर ९, २०८१ आइतबार
गोरखा – आज नेपालका प्रथम शहीद लखन थापा मगरको १ सय ४२औं स्मृति दिवस । उहाँको जन्मस्थल बुङ्कोटमा विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाइएको छ ।
शहीद लखन गाउँपालिकाले ३ दिनसम्म विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो । थापालाई फाँसी दिइएको स्थान बुङ्कोटको काहुले भंगारमा स्मृतिसभालगायतका कार्यक्रम भएको हो ।
कार्यक्रमका वक्ताहरुले लखन स्मृति दिवस फागुन २ गतेलाई राष्ट्रिय दिवसको मान्यता दिँदै सार्वजनिक बिदा दिन माग गरेका छन् । यसअघि माघ १६ गते मनाउने शहीद दिवसलाई पनि लखन थापाको स्मृति दिवसकै दिन मनाउनु पर्ने उनीहरुको भनाई छ । सरकारले लखन थापालाई राष्ट्रिय विभूतिको रुपमा सम्मान गर्न र लखन थापासँगै सहादत प्राप्त गरेका जैयसिं चुमी रानालाई पनि शहीद घोषणा गर्नु पर्ने वक्ताहरुको माग छ ।
यस्तै काठमाण्डौको शहीदगेट र शहीदपार्कमा लखन थापाको शालिक राख्न र स्मृति प्रतिष्ठान गठन गर्न पनि स्थानीयले माग गरेका छन् । थापाले सहादत प्राप्त गरेको गोरखाको बुङ्कोट काहुले भंगारलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न, संग्रहालय र स्मृतिपार्क निर्माण गर्न पनि स्थानीयको माग छ ।
२०७२ असोज ३ गतेको मन्त्रिपरिषदको बैठकले लखन थापालाई प्रथम शहीद घोषणा गरेको थियो । विक्रम संवत १९३३ फागुन २ गते तत्कालीन राणा शासकले बुङ्कोटको काहुले भंगारमा थापालाई फाँसी दिई हत्या गरेका थिए । कार्यक्रममा कलाकार दिपसागर थापा, शर्मिला गुरुङ, सरु थापासहित स्थानीय कलाकारहरुले सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
लखन स्मृति दिवसकै अवसरमा शहीद परिवार तथा जग्गादाताहरुलाई सम्मान गरिएको शहीद लखन गाऊँपालीकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आलेमगरले बताउनुभयो ।
लखन स्मृति दिवसकै अवसरमा आयोजित विद्यालयस्तरीय प्रथम लखन कप २०७५ मा जनशक्ति मावि नाम्जुङ पहिलो, शहीद स्मृति मावि बुङ्कोट दोस्रो र हिमालय मावि घैरुङ तेस्रो भएका छन् । विजेता विद्यालयहरुलाई कार्यक्रममा पुरस्कृत गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख दिपेन्द्र परियारले बताउनुभयो ।
त्यस्तै गोरखा नगरपालिका–६, हस्पिटल चोकमा नेपालका प्रथम शहीद लखन थापा मगरको शालिक अनावरण गरिएको छ । १४२ औँ लखन स्मृति दिवसका अवसरमा बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शालिकको अनावरण गर्नुभयो । शालिक अनावरण गर्दै उहाँले आगामी वर्षदेखि प्रदेश सरकारले औपचारिक रुपमा लखन स्मृति दिवस मनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
११ लाख रुपैयाँको लागतमा अर्धकदको ढलौटको शालिक स्थापना गरिएको प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठानले जनाएको छ । गोरखा नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा शालिक स्थापना गरिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।