स्वास्थ्य सेवा ऐन ल्याउने तयारी : स्वास्थ्य क्षेत्रका ५८ हजारभन्दा ...
मंसिर ७, २०८१ शुक्रबार
देशको सामाजिक र राजनीतिक अवस्थालाई दुरुस्तै उतारेर ठेट भाकामा गीत गाउन खप्पिस पशुपति शर्माले नयाँ गीत बनाए । यूट्युबमा सार्वजनिक गरे । धेरैले आहा ! कति राम्रो गीत भनेर प्रशंसा गरे । कतिपयले चाहिँ यो त अति भयो भन्दै आलोचना गरे । कतिले गीत हटाउन दबाब दिए । दबाब र आलोचना बढेपछि गायक आफैंले यूट्युबबाट गीत हटाए र संशोधनसहित फेरि गीत सार्वजनिक गर्ने बताए ।
भएको कुरा यत्ति हो ।
तर उनको पछिल्लो यो गीतलाई सामाजिक सञ्जालमा आरोपप्रत्यारोप गर्ने विषय मात्र होइन, राजनीतिक दाउपेचको मसला समेत बनाइएको छ । सत्तारुढ दलका केही नेताले पशुपति शर्मालाई कांग्रेसको कार्यकर्ताजस्तै देख्न थालेका छन् । अनि निहुँ पर्खेर बसेको कांग्रेस र अरु दललाई चाहिँ सरकारको विरोध गर्ने गज्जबको मसला मिलेको छ । नकारात्मक टिप्पणी मात्र गर्न मन पराउनेहरुलाई चाहिँ विषयवस्तुलाई तोडमोड गरेर रमाउने अवसर जुरेको छ ।
खासमा भन्ने हो भने आफूलाई लागेको कुरा गीत या अरु माध्यममार्फत पोख्न र सुनाउन पाउनु संविधानले दिएको अधिकार हो । पशुपति शर्माले संविधानले दिएको यही अभिव्यक्ति स्वतन्त्रता प्रयोग गरेका हुन् । उनको गीत रमाइलोसँगै व्यंग्य र चेतनाले भरिएको छ । गीतमा भएका ‘यमराजको शासन’, ‘कार्यकर्ता कुकुरजस्तै भुक्ने’ ‘डेढ अर्बको हेलिकप्टर चढ्छिन् राष्ट्रपति’ लगायतका केही शब्द र प्रसंगमा कसैको आपत्ति होला ।
आपत्ति थेग्ने काम सरकारको हो । सत्तामा बस्ने पार्टी, नेता र तिनका भ्रातृसंस्थाका कार्यकर्तामा सहनशीलता भएन भने देश अधिनायकवादतिर जान्छ । त्यसमा पनि अरुलाई व्यंग्य गर्न खप्पिस प्रधानमन्त्रीमा आफ्नो र सरकारको आलोचना सहन गर्ने क्षमता पशुपति जस्ता कलाकारले अवश्य अपेक्षा गर्छन् ।
फेरि यस्ता शब्द र प्रसंग उनको गीतमा मात्र पहिलोपटक सुनिएको होइन । सामाजिक सञ्जालदेखि सार्वजनिक समारोहसम्म यस्ता शब्द धेरैले प्रयोग गरेकै छन् । त्यसैले पशुपति शर्माको गीतको बिरोध गर्नुको औचित्य थिएन । किनकी गीतको अन्त्यमा उनले यो व्यंग्य हो भनेका छन् र यस्तो शैलीको व्यंग्य अरु हाँस्यव्यंग्य कलाकारले पनि प्रयोग गर्दै आएका छन् ।
ल ठिकै छ, कसैलाई पचेन विरोध भयो । तर विरोध र आलोचना भयो भन्दैमा गायक शर्माले यूट्युबबाट गीत हटाउन हुँदैनथियो । सरकार र सत्तारुढ दलबाट दबाब आयो, म के गरौँ भनेर आफ्नो अडानमा अडिन सक्नुपथ्र्यो । उनकाे साथमा उभिनेहरु धेरै हुन्थे । सरकारले चाहेर पनि प्रतिबन्ध लगाउन सक्दैन थियो ।
तर गीत गाउन र यूट्युबमा राख्नजस्तै त्यहाँबाट हटाउन र अर्को गीत बनाउँछु भनेर भन्न पनि गायकलाई अधिकार छ । गायक शर्माले पनि त्यही अधिकार प्रयोग गरे र आलोचना गर्नेहरुको पनि मन जित्ने प्रयास गरे ।
उनी आफैंले माफी माग्दै गीत हटाइसकेपछि फेरि यही विषयलाई लिएर नकारात्मक टिप्पणी र प्रतिक्रिया बढाउनु आवश्यक थिएन । तर अहिले यही भैरहेको छ । यही गीतमा मरमसला थपेर कसैलाई सरकारको बचाउ गर्नुछ, कसैलाई आलोचना बढाउनुछ ।
त्यसो त वास्तविक कुरालाई बंग्याएर नकारात्मक कुरालाई मलजल गर्नु र त्यसमै रमाउनु धेरैको बानी परिसकेको छ । उदाहरणको लागि दुईवटा विषयको चर्चा गरौं ।
पशुपति शर्माको गीतकै प्रसंगलाई जोडेर कतिपयले सोझासिधा नागरिकमाथि विमानस्थलमा लुट बढ्यो पनि भनेका छन् । विदेशबाट सामान ल्याउँदा विमानस्थल भन्सार कार्यालयले कडाई गरेको विषयलाई लिएर पहिलेदेखि पनि बिरोध भैरहेको हो ।
तर यो विषयलाई पनि नकारात्मक ढंगबाट मात्रै प्रचार गर्ने धेरै छन् । अर्थात अब बाहिरबाट कुनै सामान ल्याउन नपाइने भयो, सोझा नेपालीले पराई भूमीमा दुःख गरेर कमाएको पैसाले ल्याएको सामान भन्सारले लुट्न थाल्यो भनेर टिप्पणी हुने गरेको छ ।
तर वास्तवमा भन्सार कार्यालयले नियम विपरीत ल्याइएका रक्सी र सुन मात्र जफत गर्ने गरेको हो । अरु सामान भन्सार तिरेर जति पनि ल्याउन पाइन्छ । पहिलेजस्तै अहिले पनि विदेशबाट आउँदा टेलिभिजन, मोबाइल लगायत अरु सामान ल्याउन पाइन्छ । सुन र रक्सी पनि नियमले छुट दिएकोसम्म ल्याउन पाइन्छ । सुन र रक्सी बाहेकका सामान नियमभन्दा बढी ल्याएको छ भने भन्सार तिरेर ल्याउन बन्देज छैन ।
विमानस्थलमै पनि कतिपय अवस्थामा नियमअनुसार ल्याइएको सामानमा पनि कर्मचारीले दुःख दिएका हुन सक्छन् । यसप्रति सबैले आवाज उठाउनुपर्छ । तर विदेशमा दुःख गरेर कमाएको पैसाले किनेर ल्याएको सबै सामान विमानस्थलले लुट्यो भन्ने शैलीमा सामाजिक सञ्जालमा टिप्पणी र प्रतिक्रिया जनाउन त भएन नि । तर अहिले भैरहेको छ यस्तै । र पशुपति शर्माको पछिल्लो गीतलाई विमानस्थलमा पनि लुट भनेर मिसाउने गरिएको छ ।
अब अर्को उदाहरण सामाजिक सञ्जालकै हेरौं । सरकारले सामाजिक सञ्जालमा समेत कडाई गर्ने तयारी गर्दैछ । यो खबर थाहा पाउनेबित्तिकै धेरैले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाए – अब सरकारले फेसबुक र ट्वीटर बन्द गर्न लाग्यो, साँच्चै कम्युनिष्टको अधिनायकवाद आउन आँट्यो ।
तर वास्तविकता यो होइन । न सरकारले सामाजिक सञ्जाल बन्द गर्न लागेको हो, न त सरकारले चाहँदैमा सामाजिक सञ्जाल बन्द हुन सक्छ । धेरैलाई सामाजिक सञ्जाल दाल, भात खाएजस्तै नभई नहुने माध्यम भैसकेको छ ।
तर सामाजिक सञ्जालको नियमन गर्न जरुरी छ भन्ने कुरा त सबैले बुझेकै छन् । पशुपति शर्माको पछिल्लो गीतकै कुरा गर्ने हो भने फेसबुक लगायतका अरु सामाजिक सञ्जालमा यो गीतको ब्यापक दुरुपयोग भैरहेको छ । यो गीतमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरुको फोटो र भिडियो जोडेर हाँसीमजाक भैरहेको छ ।
नेताहरुले फरक प्रसंग र ठाउँमा गरेको नृत्यलाई यो गीतमा राखेर ‘ल हामीले त लुट्यौं, सक्छौ भने तिमीहरु पनि लुट’ भन्ने गलत सन्देश दिनेगरी सामाजिक सञ्जालमा गीतको दुरुपयोग भैरहेको छ ।
नेताको चरित्र हत्या गर्ने, समाजमा विकृति, विसंगति, हिंसा फैलाउने तथा सामाजिक सद्भाव खल्बल्याउने खालका टिकाटिप्पणी गर्ने, कसैमाथि रिस साँध्ने माध्यमको रुपमा प्रयोग गर्ने लगायतका सामाजिक सञ्जालमा हुने दुरुपयोग त रोक्नु पर्यो नि । सामाजिक सञ्जाललाई मर्यादित बनाउन पर्दैन ? पर्छ ।
संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रतामा हनन् नहुनेगरी यस्ता विकृति रोक्नुपर्छ । यस्तो काममा त सरकारलाई सहयोग गर्ने हो । कमीकमजोरी भएको ठाउँमा सच्याउन दबाब दिने हो ।
तर हामी धेरैलाई नकारात्मक कुरामा मात्र रमाउने बानी परेको छ । अहिले पशुपति शर्माको गीतलाई लिएर भैरहेके बहस पनि यसकै उपज हो । गायकले गीत गाए । गीत सार्वजनिक गरिसकेपछि गायकले प्रशंसा र आलोचना दुवै पाए । गायकलाई लाग्यो, आलोचना गर्नेहरुको पनि मन जितौं । त्यसैले, गीतका केही शब्दप्रति गायकले माफी मागे र अब संशोधन गरेर अर्को गीत ल्याउँछु भनेर आफैंले गीत हटाए ।
तर यही गीतलाई बिगारेर शीर्ष नेताहरुको अपमान हुनेगरी सामाजिक सञ्जाल दुरुपयोग गर्ने र यसैलाई मसला बनाएर राजनीति गर्ने कामलाई त कसरी जायज भन्ने ? पशुपति शर्माको नयाँ गीत ‘लुट्न सके लुट कान्छा’लाई लिएर बहसलाई कहिले र कतिसम्म लम्ब्याउने ? अनि यसैको आड लिएर नकारात्मक सन्देशमा रमाउने छुट कहिलेसम्म पाइरहने ? हामी आफैं चाहिँ कहिल्यै पनि जिम्मेवार हुनु नपर्ने हो र ?
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।