चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
गोरखाकी प्रज्ञा ढकाल (नाम परिवर्तन)का श्रीमान पारिवारिक खुुशी र छोराछोरीको भविष्यको लागि भन्दै रोजगारीको क्रममा विदेश पुगे । सुरुको तीन वर्ष उनले विदेशमा निकै दुःख गरे र छुट्टी मिलेपछि घर फर्किए ।
पहिलो पटकको विदेश बसाइपछि घर आउँदा पारिवारिक अवस्था सामान्य रुपमै चलेको थियो । निकै दुःख गरेर तीन वर्षको बसाइ कटाएर नेपाल फर्किएका उनलाई विदेशको रोजगारी निकै चुनौतीपूर्ण लाग्यो । नेपाल आएपछि ‘अब विदेश जान्न’ भन्ने सोच उनमा आयो । तर उनकी श्रीमती प्रज्ञाले उनलाई कर लगाएरै फेरि विदेश पठाइन् ।
विदेश गएपछि श्रीमान र श्रीमतीको सम्पर्कको माध्यम बनेको थियो फेसबुक । श्रीमान विदेश पठाएपछि श्रीमती फेसबुकबाटै सम्पर्क गर्थिन् । बिस्तारै प्रज्ञा फेसबुकको लतमा परिन् । उनले घरको काममा समय दिनै बिर्सिइन् । छोराछोरीलाई समेत खाना खुवाएर विद्यालय पठाउन बिर्सिन थालिन् ।
प्रज्ञाका छोराछोरी भोकै विद्यालय गएको गाउँलेलाई समेत थाहा भयो । मोबाइलमा व्यस्त भएका कारण प्रज्ञाले समयमा खाना पकाएर छोराछोरीलाई खुवाउन नसकेको हल्ला गाउँभर फैलियो । विद्यालयबाट आएका छोराछोरीको हेरचाहमा पनि प्रज्ञाको ध्यान जान छाड्यो ।
प्रज्ञा दिनभर फेसबुकमा व्यस्त हुन्थिन् । फेसबुकको लतले उनलाई सामाजिक र पारिवारिक दायित्वबाट अलग बनायो । फेसबुक खोलेपछि प्रज्ञा र रुकुमको एकजना युवकबीच म्यासेजमा कुराकानी हुन थाल्यो । बिस्तारै उनीहरु प्रेममा परे । श्रीमान विदेश पठाएकी प्रज्ञा बिस्तारै पराई केटासँग नजिक हुन थालिन् ।
छोराछोरी आमाको त्यस्तो व्यवहारबाट दिक्क भए । उनका छोरा कक्षा ८ मा पढ्दै थिए । आमाले वास्ता गर्न छाडेको देखेर दिक्क भएको छोराले एकदिन विदेशमा भएका बुवालाई फोन लगाए । आमाले आफूहरुको हेरचाह नगरेको गुनासो गरे ।
पैसा कमाउन श्रीमतीकै करकापमा विदेश पुगेका प्रज्ञाका श्रीमानले उनलाई फोनबाटै छोराछोरीको हेरचाह किन नगरेको भनेर सोधे । फोनबाटै श्रीमान श्रीमतीको झगडा सुरु भयो ।
झगडा भएको भोलिपल्ट झिसमिसेमै प्रज्ञा घरबाट निस्किइन् । एक कक्षामा पढ्ने सानी छोरी र आठ कक्षामा पढ्ने छोरालाई घरमै छाडिन् । आमाले नै छाडेर गएपछि दुई बच्चा छिमेकीकोमा गएर बसे । आमा आउँछिन् भन्ने आशमा एक हप्तासम्म त उनीहरु छिमेकीको घरमा गएर बसे, तर हप्ता दिनमा पनि आमा नआएपछि उनीहरुलाई छिमेकीले घरमा पठाए । आमाले छोडेर गएपछि टुहुरा बनेका उनीहरु बाबुको पर्खाइमा बसे ।
गाउँलेहरुको सहयोगमा प्रज्ञाका श्रीमान स्वदेश फर्किए । घरमा आएर छोराछोरीको हेरचाह र श्रीमतीको खोजीमा उनको दिन बित्न थाल्यो । उनले श्रीमती प्रज्ञालाई फोन गरे । तर फोन उठेन ।
अर्को दिन पनि उनले श्रीमतीलाई फोन लगाए । त्यो दिन भने उनीहरुबीच कुराकानी भयो । झण्डै एक घण्टाको कुराकानी भएपछि प्रज्ञा घर फर्कन तयार भइन् । फेसबुकमा चिनजान भएको रुकुमका तिनै केटासँग उनले दोस्रो बिहे गरिसकेकी थिइन् ।
जे भए पनि छोराछोरीका लागि प्रज्ञालाई घरमै बस्न श्रीमानले अनुरोध गरे । तर उनले आफूलाई लाज हुने बताइन् । उनले आफू बरु विदेश जाने तर पहिलाको घरमा नबस्ने बताइन् ।
उनले पहिलो श्रीमानलाई आफू विदेश गएर सम्पत्ति कमाउने र श्रीमानले घरको हेरचाह गर्नुपर्ने पहिलो श्रीमानलाई आश्वासन दिइन् । त्यसपछि उनले पहिलो श्रीमानलाई पासपोर्ट बनाइदिन आग्रह गरिन् । श्रीमानले पनि पासपोर्ट बनाइदिए ।
‘म बाहिर जानुपर्ने भयो, एकछिनमा आउँछु’ भनेर बिहानै घरबाट निस्केकी प्रज्ञा खाना खाने बेलासम्म आइनन् । त्यसपछि उनका पहिलो श्रीमानले फोन गरे । फोन ‘रिसिभ’ भयो र प्रज्ञाको उत्तर आयो– ‘म अरुकै भैसकेँ, अब छोराछोरी आफै हेर । मलाई फोन नगर ।’
प्रज्ञाका पहिलो श्रीमान छाँगाबाट खसेजस्तै भए । आफूलाई गाउँलेले गाउँमा बस्न नदिने षड्यन्त्र बनाएको र आफू कतै नगएको भन्दै पहिलो श्रीमानलाई आश्वासन दिएकी प्रज्ञाले पासपोर्ट बनाएपछि भने आफूले अरुसँग विवाह गरेको खुलासा गरिन् र पासपोर्ट लिएर भागिन् । उनी अहिले कहाँ छिन् भन्नेसम्म कसैलाई थाहा छैन ।
अहिले छोराछोरीसमेत अलपत्र भएका छन् । उनी कसैको पनि सम्पर्कमा नभएको कुरा माइतीपक्षले जानकारी दिएका छन् । यो घटना गएको असारको हो । अझ अचम्म त ‘फेसबुके लभ’बाट जोडिएका प्रज्ञाका दोस्रा श्रीमान पनि विवाहित हुन् । प्रज्ञाले उनको घर पुगेपछि मात्र उनी विवाहित रहेको थाहा पाइन् ।
पहिला विवाह नभएको भनेर फेसबुकमा सम्बन्ध बनाएकी प्रज्ञाले दोस्रो श्रीमान विवाहित भएको जानकारी उनकै घरमा पुगेपछि मात्रै थाहा पाएकी हुन् । दोस्रो श्रीमानका छोराछोरीसमेत छन् ।
नुवाकोटकी सुनिता शर्मा (नाम परिवर्तन)को फेसबुकमै सागर (नाम परिवर्तन) भन्ने केटासँग चिनजान भयो । उनी सागरसँग नजिकिइन् र उनीहरुबीच प्रेम सम्बन्ध भयो ।
सागरको घर पनि नुवाकोट । तर त्यतिबेला सागर रोजगारीको लागि अष्ट्रेलियामा थिए । सागर विदेशमा रहेको २ वर्षसम्म फेसबुक, इमो, भाइबरजस्ता सामाजिक सञ्जालमा उनीहरुको घण्टौसम्म कुराकानी भयो । दुई वर्षपछि सागर नेपाल फर्किए ।
सुनिता काठमाण्डौमा भर्खर कलेज पढ्दै थिइन् । नेपाल आएका सागरले सुनितालाई दार्जीलिङ घुम्न जाने प्रस्ताव गरे । सुनिताले स्वीकार गरिन्, तर घरमा कुनै जानकारी दिइनन् । त्यहाँ पुगेर उनीहरुको विवाह भयो ।
एक हप्तापछि उनीहरु काठमाण्डौ फर्किए । सुनिता काठमाण्डौको डेरामै बसिन् । सागर भने नुवाकोट गए । सुनिताले सागरलाई घरमा भित्र्याउन अनुरोध गरिन् ।
सागरले ‘म मिलाउँदै छु’ भन्ने आश्वासन दिन्थे । सधैँ आश्वासन आएपछि सुनिताले फोनमै दुखेसो पोखिन् । सागरलाई फोन गरेर उनी रुन थालिन् । बिस्तारै सागरले फोन नै उठाउन छाडे । म्यासेजको ‘रिप्लाई’ पनि आउन छाड्यो ।
एक महिनासम्म आक्कल–झुक्कल मात्रै म्यासेज आयो । एक महिनापछि सागर विदेश फर्किएको कुरा सुनिताले फेसबुकबाट नै थाहा पाइन् । बल्ल सुनितालाई सागरले धोका दिएको पत्तो भयो । उनी डिप्रेसनमा परिन् । अहिले उनी नियमित रुपमा डिप्रेसनको औषधी खान्छिन् ।
यी त केही प्रतिनिधि घटना मात्रै हुन । यस्ता थुप्रै घटना बाहिरिएका छैनन् । फेसबुकबाट धेरैको प्रेम सम्बन्ध र वैवाहिक सम्बन्ध बिग्रिएको छ ।
अहिले धेरै नेपाली फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालमा जोडिएका छन् । सामाजिक सञ्जालबाट सूचना आदानप्रदान तथा पारिवारिक सम्पर्क सहज त भएको छ, तर यसको विकृति पनि बढेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा बढेको विकृति र यसको दुरुपयोगका कारण कतिपयको जीवन नै बर्बाद हुन थालेको छ ।
सामान्य चिनजानबाट सुरु भएको सामाजिक सञ्जालको सम्बन्ध चरित्र हत्या गर्ने अवस्थासम्म बन्न थालेको छ । आफूसँग विचार नमिलेपछि चरित्रहत्या गर्ने विकृति बढ्दै गएको छ ।
प्रेम सम्बन्धमा समस्या हुँदा दुईजनालाई असर पर्छ भने विवाहपछिको सम्बन्ध बिग्रिए परिवार र सिंगो समाजलाई नै असर गर्छ । सन्तानको भविष्य खराब बन्छ ।
‘सामाजिक सञ्जाल प्रयोग गर्दा सजकता नअपनाए मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पर्ने र डिप्रेसनमा जाने मानसिक रोगी बन्ने हुन्छ’, मानसिक रोग विशेषज्ञ डाक्टर रवि शाक्यले भन्नुभयो ।
‘डिप्रेसनलाई कम गर्नको लागि आफ्नो विचार भावना अरुसँग साट्नुपर्छ’, डाक्टर शाक्यले भन्नुभयो, ‘सधैँ व्यस्त रहनुपर्छ । एक्लै बस्नुहुन्न । सकारात्मक सोच्न, नियमित योग, ध्यानबाट डिप्रेसन कम हुन्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।