मेरा मित्र प्रचण्ड बीचबाटै अर्कै गाडीमा चढ्नुभयो, म मात्रै गन्तव्यमा पुगेँ : डाक्टर भट्टराई

 फागुन १०, २०७५ शुक्रबार ९:१३:१३ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकोट – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ कार्यक्रम लिएर गाउँगाउँ पुग्नुभएको छ । 

देशका विभिन्न ठाउँ पुग्दा भाषणभन्दा धेरै उहाँको पोशाक र खानपिनको चर्चा हुने गरेको छ । बिहीबार मात्रै उहाँले पहिलोपटक दौरा सुरुवाल लगाएको फोटो सार्वजनिक भएपछि यसको अझै पनि चर्चा भैरहेको छ । 

दौरा सुरुवाल लगाएर बिहीबार जाजरकोटको खलंगा पुगेका भट्टराईले देशको राजनीति, विकास र अर्थका कुरासँगै आफ्ना पुरानो सहकर्मी पुष्पकमल दाहाल प्रचण्डको प्रसँगबारे पनि चर्चा गर्न भ्याउनुभयो । 

मार्क्सवाद र तपाईँको सम्वन्ध के हो भन्ने जिज्ञासामा भट्टराईले कार्ल मार््क्सले साम्यवाद नलेखी पूँजी लेखेको भन्दै थप्नुभयो, ‘साम्यवाद लेख्न अध्ययनको कमी वा दर्शनको परिभाषा थाहा नपाएर नलेखेको होइन । पूँजीको विकास नभैकन साम्यवादी युगमा प्रवेश गर्न सकिँदैन, हामी त्यो दिशामा नागरिकलाई प्रशिक्षित गर्न यो यात्रामा हिँडेका हौँ ।’

प्रचण्डसँग कस्तो सम्वन्ध छ भन्ने पत्रकारको अर्को जिज्ञासामा उहाँले भन्नुभयो, ‘काठमाण्डौ जान हिँडेका हामी सहयात्री फरक–फरक गन्तव्यमा झर्ने निर्णय गरी  कोही सल्लीबजार, कोही छिञ्चु, कोही कोहलपुर र अध्यक्ष प्रचण्ड लमहीमा झर्नुभयो । मेरो नेतृत्वको टोलीले काठमाण्डौ पुगेर नयाँ गन्तव्यका लागि यात्रा तय गर्यो । त्यसैले आज तपाईँहरुसँग जाजरकोट दरबार क्षेत्रमा भेट भयो ।’

उहाँले थप्नुभयो, ‘चुरे पुग्ने गन्तव्यमा सँगसँगै हिँडेका तत्कालीन नेकपा माओवादीका अध्यक्ष मेरा असल मित्र प्रचण्ड चुरेको सेरोफेरोमा नै थकाइ मार्ने र रम्ने गर्न थाल्नु भयो । हामी हिमाल चढ्ने उद्धेश्यका साथ नयाँ अभियानमा लागेका छौँ, फरक यति हो  ।’

प्रचण्ड र आफू एउटै गाडीमा यात्रा गरेको र प्रचण्ड गन्तव्यमा पुग्न नसकेर अर्कै गाडीमा चढेको, आफू मात्रै गन्तव्यमा पुगेको पनि उहाँले दाबी गर्नुभयो ।

पहिलोपटक दौरा सुरुवाल लगाएका भट्टराईले यसको प्रसँग पनि निकाल्नुभयो । ‘अहिलेसम्म नेपाली पोशाक लगाएको मलाई तपाईँहरुले टेलिभिजन वा पत्रपत्रिकामा देख्नु भएको थिएन र मैले लगाएको पनि थिइनँ । पहिले हामी खस नेपाली हौँ । दौरा सुरुवाल हाम्रो पहिचान हो । हाम्रो संस्कृति हो ।’ 

वर्तमान सरकारको नारा समृद्धि भए पनि त्यो पूरा नहुने भट्टराईको दाबी छ । उहाँले भन्नुभयो, ‘वर्तमान सरकारले देशको समृद्धि र काँचुली फेर्न ५० वर्ष लाग्छ, हामीले अवलम्वन गरेको यात्राबाट दस वर्षभित्र देश र नागरिकको रुपान्तरण गर्न सकिन्छ’ उहाँले दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म  पार्टी विस्तार गर्न आएको होइन । यहाँ नेपाली कांग्रेस, नेकपा र अरु दलका कार्यक्रताहरु हुनुहुन्छ, मलाई थाहा छ  । देशको राज्य सञ्चालन गर्ने को–को छन्, सरकारका सचिवहरुलाई कस्तो कस्तो प्रकारको उपदेश  आउँछ  वा प्रमुख प्रशासकीय ढोका सिंहदरबार चलाउने अनुहार कस्ता छन् तपाईँहरुलाई मैले भन्नै पर्छ  । बहुराष्ट्रिय र गौरवका ठूला योजनाहरु सञ्चालन गर्न अर्बौंका बजेट विनियोजन गर्ने र पार्टी निकटका ठेकेदारहरुलाई टेन्डर प्रक्रिया जस्तो गरी ठेक्का प्रदान गर्ने र त्यसैबाट कमिशन लिएर पार्टी चलाउने नेपालको संसदीय अभ्यासको चरित्र भएकोले भ्रष्टाचारको जालो सुरक्षित रहेको छ ।’

उहाँले महत्वपूर्ण संवैधानिक निकाय न्यायालय तथा अख्तियार भ्रष्टाचारको अखडा बन्दै गएको भन्दै यसमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । दुई तिहाइको कम्युनिष्टको सरकार हुँदा देशमा चरम  व्यापार घाटा बढेको र लगानी घटेको भन्दै उहाँले आक्रोश पोख्नुभयो ।

आफू प्रधानमन्त्री हुँदा ल्याइएको मध्यपहाडी लोकमार्गको निर्माण छिटो पूरा गर्न भट्टराईले सरकारको ध्यानाकर्षण पनि गराउनु भएको छ । ‘मध्यपहाडी लोकमार्ग छिटो सञ्चालनमा ल्याउन सकेनौँ भने पहाडी जनसंख्या बसाइँ सरेर सकिन्छ,’ भट्टराईले भन्नुभयो, ‘सडकको पहुँच बढाएर उद्योग र व्यवसाय पनि चलाएर अर्थतन्त्र उकास्नुपर्छ ।’

भट्टराईले आर्थिक विकासका लागि मार्क्सको मोडल पुरानो भएको टिप्पणी पनि गर्नुभयो । आधारभूत विकासका लागि मात्र मार्क्सवाद उपयुक्त भएको उहाँको तर्क छ ।

राज्यव्यवस्था परिवर्तन भइसकेकाले आर्थिक विकासका लागि श्रमको सम्मान गर्ने संस्कृति थालनी गर्न भट्टराईले आग्रह गर्नु भयो । 


 

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया