मन्त्री अधिकारीको निधनले सुनसान छ मन्त्रालय (तस्बिरसहित)

 फागुन १७, २०७५ शुक्रबार १५:१७:२४ | मदन पौड्याल

काठमाण्डौ – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अहिले सुनसान छ । मन्त्री रवीन्द्र अधिकारीको निधनपछि मन्त्रालय सुनसान बनेको हो ।

ताप्लेजुङको फुङिलङ नगरपालिका–१० ,तारेभिरमा बुधबार दिउँसो मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटना हुँदा उहाँसहित ७ जनाको ज्यान गएको थियो । 

अधिकारीको निधनमा सरकारले बिहीबार राष्ट्रिय शोक घोषणा गरेकाले मन्त्रालय खुलेन । शुक्रबार पनि मन्त्रालयमा कुनै चहलपहल देखिएन । मन्त्रालय छिर्ने ढोकाको दाहिनेपट्टि छेउमै मन्त्री अधिकारीको तस्बिर राखिएको छ ।

श्रदाञ्जलीका लागि मन्त्री अधिकारीको तस्बिरसँगै अरु ६ जनाको पनि उसैगरी तस्बिर राखिएको छ । पुष्पगुच्छा, अगरबत्ती, अबिरसँगै शोक पुस्तिका पनि छ । 

मन्त्रालय पुग्नेहरुले शोकपुस्तिकामा आफ्ना शोकशब्द व्यक्त गरेको दृश्य निक्कै मर्माहत देखिन्थ्यो । मन्त्री अधिकारीको कार्यकक्ष पनि सुनसान नै थियो ।

कार्यकक्ष छिर्ने ढोकासमेत बन्द गरिएको थियो । केही कर्मचारीहरु मन्त्रालयमा भेटिए । धेरैजसो भने मन्त्री अधिकारीको अन्तिम संस्कारमा सहभागी हुन पोखरा पुगेका छन् । 

मन्त्रालय परिसर पनि उस्तै सुनसान देखिन्छ ।

डाइनेस्टी एयरको हेलिकोप्टर दुर्घटनामा पर्यटन मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्रीका सुरक्षा गार्ड अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया