पिरतीको पर्खाइ : थकाइ त होइन बरै तर अत्यासचाहिँ लाग्ने रै’छ !

 फागुन १८, २०७५ शनिबार १२:३५:४ | श्यामशितल परियार
unn.prixa.net

काठमाण्डाै – त्यो पल । घडीले रातको ९ः५९ः५८ बजाउँदा अर्थात् रातको १० बज्न २ नानाे सेकेण्ड मात्रै बाँकी रहँदा । अत्यास लाग्थ्यो । नरमाइलो लाग्थ्यो । छटपटी हुन्थ्यो मलाई तिम्रो बोली सुन्नका लागि २ नानो सेकेण्ड कुर्नुपर्दा पनि । 

कारण प्राय : हररात १० बजेपछि, जो फोनमा तिमी र म बोलिन्थ्यो । 

काम र पढाइका बीच अघि बढेको हाम्रो चोखो मनको साइनाे । मनको निकै समिप तर भौतिक रुपमा निकै दूर थियौँ, हामी एक–अर्काबाट । 

काम र पढाइबाट फुर्सद मिलेपछि बोल्ने हामी । अनि भौतिक रुपमा टाढा रहेका तिमी र मलाई आपसमा जोड्ने, सुख–दुःख एक–अर्कामा बाँड्ने माध्यम नै यही फोन त थियो । 

प्रायः तिमी जुनेली रातमा । आकाशको जुन हेर्दै मसँग बोल्न निको मान्थ्यौ । रमाउँथ्यौ । थाहा छ मलाई तिम्लाई आकाशको जुन । फूल अनि कलकल बगेको नदी तिमीलाई औधी मन पर्दथ्यो ।

आज पनि उसैगरी सम्झन्छु । जुनेली रातमा आकाशको जुन हेर्दै तिमी संग मिठामिठा प्रितका बात गरेको । अनि सँगै जिउने मर्ने सपना बुनेको पनि ।

*****

विगतमा एकैछिन तिम्रो बोली सुन्न नपाउँदा अत्तालिने म । तिम्रो बोली सुन्न २ सेकेण्ड कुर्दा पनि छटपटाउने म । तिमीबिनाको जीवन कल्पना गर्न नसक्ने म । ‘औधी चोखो मिठो माया गर्छु । मलाई छोडी कहिँकतै नजानू है’ भनेर तिमीसंग मायाको भख माग्ने म ।

एकरती पनि सोचेको थिइनँ मैले ।  

‘मलाई नै समयले तिमीबाट अलग्याउँछ । तिमीबाट छुटाउँछ । तिम्रो अभाव र यादले सताउँछ । तड्पाउँछ । रुवाउँछ । टुटेको सपना, च्यातिएको मन लिएर जीवनभर तिम्रो पर्खाइमा बस्नुपर्छ’ भनेर । 

सायद जीवनको रीत नै यस्तै छ । सोचेको कम, नसोचेको ज्यादा भैदिने ।  

*****

मनमा बसेकी प्रिय मान्छे भएकाले पनि होला । सोच्थेँ, यो संसारमा तिमीलाई राम्ररी बुझ्न सक्ने मान्छे म नै हूँ । तिम्रो दुःखमा सँगै दुख्थेँ म । तिमी रुँदा सँगै रुन्थेँ म । अनि हाँस्दा सँगै हाँस्थेँ । या भनौँ तिमी हाँस्दा तिम्रो ओठको मुस्कान बनिदिन्थेँ । तिमी रुँदाको बखत साथमा हुँदा यी हातले ती परेला पुछिदिन्थेँ ।समिप नहुँदा ‘नरुनू’ भनि मायाले सम्झाउँथे । 

त्यसपलमा, तिमी प्यार दर्शाउँदै भन्ने गथ्र्यौनी, ‘आखिर मलाई चोखो माया गर्ने । मलाई बुझ्ने मेरो भावनाको कदर गर्ने हजुर नै त हुनुहुन्छ नि !’

हो, म तिम्रो भावनाको कदर गर्थेँ । किनकी चोखो मनको प्यारमा एक–अर्काको भावनाको कदर गर्नु, विचारको सम्मान गर्नु, एकआपसमा सञ्चार हुनु, हृदयदेखि नै विश्वास गर्नु आवश्यक छ । हुन्छ । त्यसैले यी सब कुरामा उतिक्कै ध्यान पुर्याएको हुन्थेँ मैले । उसैगरी तिम्ले पनि । 

*****

आज तिमी मेरोसामु छैनौ । तिमी कसैकी भैसक्यौ । 

एकपल मबिनाको संसार कल्पना गर्न नसक्ने तिमी । ‘आखिर कसरी टाढा भयौ ?’ तिमी आफ्नै खुशीले म बाट टाढा भयौ या बाध्यताले । 

‘हजुरबिना बाँच्न सक्दिनँ । हजुरलाई धेरै माया गर्छु । हजुरबाट अलग्गिएर बस्ने छैन म’ भनी  यो अँगालोभरि भरिएर यो शिर छोइ खाएका वाचाकसम चटक्कै भुली पराइ बन्यौ । टाढा भयौ । यसमा मेरो गुनासो पनि हैन । दुःखेसो पनि छैन । 

म त सदा तिम्रो सुखखुशी, भलो चिताउने मान्छे । हिजो सँगै हुँदा तिमी आफैले भन्ने गथ्र्यौनी, ‘चोखो माया गर्नेले आफ्नो मनभित्र बसेको मान्छेको खुशी चाहन्छ । सदा भलो चिताउँछ ।’

तर सवाल यो हो, तिमीलाई असाध्यै बुझ्ने टोपलिने म । ‘मबाट तिमी नै टाढा किन भयौ ?’ भन्नेबारे आजसम्म भेउ पाउन सकिन बाबै मैले । 
न टाढा हुनुबारे मुख नै खोल्यौ तिमीले । 

*****

हो, तिमी जसको भए पनि । संसारको जुनसुकै कुनामा रहे तापनि । उसैगरी आज पनि तिमीलाई म चोखो माया गरिरहेको छु । 

तिमी टाढा भएदेखि तिम्रो पर्खाइमा देउराली, भञ्ज्याङ, चौतारी कुर्ने बानी परेको छ । 

तिम्रो अभावमा चिसो रातमा, आकाशको जुन हेर्दै तड्पदैँ कैयौँ रात बिताएको छु । बिछौनामा छट्पटाउँदै आँशुले सिरान रुझाउँदै कयौँ रात गुजारेको छु । 
आज पनि त्यहीँ छु, जहाँ तिमीले छोडेर गयौ । आज पनि उस्तै छु, जस्तो तिमीले छोडेर गयौ ।

*****

आज तिमी कसैकी भयौ । कसैको साथमा छौँ । यति धेरै माया गर्ने तिमीलाई एकै चिम्टी सिन्दुरले मबाट सदाका लागि टाढा बनाउँछ । सोचेको थिइनँ ।
समयले या भाग्यले भनौँ छुटाएरै छाड्यो, म बाट तिमीलाई, तिमीबाट मलाई । 

तिमी टाढा भएदेखि बुझेँ मैले । मान्छे टाढा भए तापनि माया पराइ हुँदो रहेनछ । 

सिउँदो भर्नु, सँगै जिउनुलाई नै प्रेमको जित ठान्थिनँ म । तर माया गरेको मनको मान्छेसँगै सँगै रहूँ भन्ने चाहनाचाहिँ सबैमा हुने रैछ बरै !

‘चोखो माया त त्यो हो । समयले टाढा बनाएछ भने पनि माया मनले भुल्न नसकोस् । सदा मनको मान्छेको सुखखुशी र भलो चिताओस्’, तिमी भन्थ्यौ  ।

अलिअलि दुखाउँदैन, रुवाउँदैन भने त्यो के माया ! त्यसैले कहिलेकाहीँ दुख्ने मन, रसाउने आँखालाई मायाको चिनो सम्झेको छु । यसरी नै मन बुझाउँदै–बुझाउँदै तिम्रो भलो चिताएरै बाँचेको छु म आजसम्म ।

*****

आज पनि तिम्रै लागि धड्कन्छ, यो दिल । सदा तिम्रो भलो चिताउँछ यो मन । सके तिम्रो जिन्दगीको बाटोमा फूल रोपुँला । तर तिमी हिँड्ने बाटोमा काँडा बनेर कैल्यै बिजाउने छैन मैले तिमीलाई । 

हिजो बिझाउने तिम्रा याद आज मेरो जीवन गुजार्ने सहारा बनेका छन् । जिउने बहाना बनेका छन् । 

तिमी जुन संसारमा छ्यौ । त्यही संसारलाई माया नै मायाले सजाउनु । मेरो कामना छ । 

तिमी कसैकी भइसक्यौ । तर हेर न आजसम्म म भने कसैको हुन सकिन । हुनै चाहिनँ । कसैको साथमा रम्नुभन्दा तिम्रो यादमै तड्पन, रुन, पर्खाइमा बस्न जाती मान्छ । निको मान्छ यो मेरो मन । त म के गरूँ !

*****

तिम्रो बाटो हेर्दाहेर्दै, दोबाटोमा तिम्लाई कुर्दाकुर्दै । तिमी नआउँदा कति आँशु बगे । कति मन दुखे । त्यस्को कुनै लेखाजोखा छैन । यति थाहा छ, तिमी आउने बाटो

कुरेर देउराली, भञ्ज्याङ, चौतारीमा पर्खी बसेको पनि वर्षौ भइसकेछ । 

जीवनका यतिका समय तिम्रो पर्खाइमा बिताएँ । तिमी फर्केर एकचोटी पनि आइनौ । सायद फर्केर आउने छैनौ कैल्यै । तिमीलाई मैलै वर्षौदेखि पर्खीबसेको चौतारीमा । 

तर तिमी नै तिमी बसेको मन थप्छ, ‘बाह्र वर्षमा खोला त फर्कन्छ भन्छन् । उ त मान्छे हो । त्यो पनि तैँले असाध्यै माया गरेको मान्छे । अझै पर्खी बस् । एकदिन अवश्य आउनेछे उ तँलाई सम्झेर ।’

कुनै दिन चौतारीमा भेट भएछ भने, तिमीलाई आँखाले नअघाइञ्जेलसम्म हेरी भन्नुछ, ‘सदा खुशी रहनू है ।’

बस् यति भन्नुछ तिमीलाई । अझै तिम्रो पर्खाइमा छु । सायद यो जीवन बित्नेछ तिम्रै यादमा । यसमै खुशी छु म ।

तिम्रो पर्खाइमा वर्षाैँ बसेको मेरो अनुभवले भन्छ, ‘पिरतीको पर्खाइमा थकाइ त होइन, बरै तर अत्यासचाहिँ लाग्नै रैछ !’ 

अन्तिम अपडेट: कात्तिक २८, २०७६

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया