भारतले नेपालमा पुस्तकालय र विद्यालयसहित ७२ वटा शैक्षिक संरचना पुनर्निर्माण गर्ने

 फागुन २२, २०७५ बुधबार १८:८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतले नेपालमा पुस्तकालय र ७० वटा विद्यालय सहित ७२ वटा शैक्षिक संरचना पुनर्निर्माण गर्ने भएको छ । 

विद्यालय भवन र पुस्तकालय पुनर्निर्माणबारे अलग अलग समझदारीपत्रमा हस्ताक्षर भएको छ । भूकम्प प्रभावित ७ जिल्लाका ७० वटा विद्यालय र काठमाण्डौ उपत्यकाका दुई पुस्तकालयका लागि परामर्श सेवासम्बन्धी समझदारी भएको हो । 

यो समझदारीसँगै भारत सरकारको अनुदान सहयोगबाट पुनर्निर्माण हुने तय भएका विद्यालयको निर्माण कार्य अघि बढाउने बाटो खुलेको छ । भूकम्पबाट क्षतिग्रस्त ७२ शैक्षिक संरचनाको पुनर्निर्माणमा प्राविधिक सहयोग पुर्याउन भारतले सेन्ट्रल बिल्डिङ रिसर्च इन्स्टिच्युट सिबिआरआई परिचालन गर्ने भएको छ । 

भारत सरकारको तर्फबाट भारतीय राजदूतावासका नियोग उपप्रमुख डाक्टर अजय कुमार र सिबिआरआईका तर्फबाट टिमलिडर डाक्टर पूर्णिमा परिदाले हस्ताक्षर गर्नुभयो । 

केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षाका आयोजना निर्देशक इमनारायण श्रेष्ठ र भारतीय राजदूतावासको पुनर्निर्माण प्रभागकी प्रमुख सुचिता किशोरले गोरखा र नुवाकोटका आठ विद्यालयको परियोजना विशेष सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ । 

हस्ताक्षर कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी उपस्थित हुनुहुन्थ्यो । 

भारतीय सहयोगमा रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, गोरखा, नुवाकोट र धादिङका ७० वटा माध्यमिक विद्यालयको पुनर्निर्माण हुनेछ । 
त्यस्तै, त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय तथा पुल्चोकको राष्ट्रिय पुस्तकालयको भवन बन्नेछ ।
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया