रकम भुक्तानी नभएपछि ठेकेदारले हटाए बजारका सौर्य बत्ती

 फागुन २५, २०७५ शनिबार १३:४७:९ | विमल बिष्ट
unn.prixa.net

डोटी – दिपायलमा जडान गरिएका सोलार अर्थात् सौर्यबत्तीहरु ठेकेदारले उखेल्न थालेका छन् । आफूहरुसँग गरिएको सम्झौताअनुसार रकम नदिएको भन्दै दिपायलको पिपल्ला बजारमा जडान गरिएका सौर्यबत्तीहरु ठेकेदारले धमाधम उखेल्न सुरु गरेका हुन् । 

सरकारी अनुदानमा ठेकेदार कम्पनी मनिङ्ग सनले पिपल्ला बजारमा जडान भएका ३० वटा सौर्यबत्ती मध्ये ७ वटा बत्ती हटाउन लागेको ठेकेदार वेदप्रकाश कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दिपायल सिलगढी नगरपालिकाले हामीले जडान गरेका ७ बत्तीको दिनुपर्ने ७ लाख रुपैयाँ लामो समय बित्दा पनि नदिएपछि हटाउन थालेका हौँ ।’

तत्कालीन दिपायल सिलगढी नगरपालिकाका कार्यालय प्रमुख तुलसीप्रसाद आचार्यले यो कम्पनीसँग सोलार राख्नेबारे सम्झौता गर्नुभएको थियो ।

त्यतिबेला रकम भुक्तानी नभएको र उहाँ सरुवा भएर अन्यत्र गइसकेपछि पुरानो रकम भुक्तानी गर्न नसकिने अवस्थाले रकम नदिएको दिपायल सिलगढी नगरपालिकाका अहिलेका नगरप्रमुख मञ्जु मलासीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘समयमै काम सम्पन्न नगरी बिल भरपाइ नदिएकाले त्यो बेला भुक्तानी दिएन, अहिले हामीसँग रकम छैन कहाँबाट दिने ?’ 

डोटी उद्योग वाणिज्य संघसँग २०७३ फागुन १७ गते नगरपालिकाले ३० लाखमा ३० पोलको सम्झौता गरी सौर्यबत्ती जडानका लागि कार्यादेश दिएको थियो । त्यसपछि उद्योग वाणिज्य संघले त्यो काम २०७३ फागुन ६ गते मर्निङ्ग सन नेपाल कम्पनीलाई जडानका लागि ठेक्का दिएको थियो ।

कम्पनीले काम गरेबापत दुई पटकको किस्ता गरी २३ लाख रुपैयाँ भुक्तानी पाइसकेपछि बाँकी रकम उद्योग वाणिज्य संघलाई नै नगरपालिकाले नदिँदा ठेकेदारलाई दिन नसकिएको उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो ।

ठेकेदारले जडान गरेका बत्ती हटाउन लागेपछि बजार अन्धकार हुने भन्दै दिपायलका स्थानीय दुखी भएका छन् । 

स्थानीय रामबहादुर विष्टले भन्नुभयो, ‘बत्तीले बजार उज्यालो भइरहेको थियो, अब उखेलेपछि अन्धकार हुने भयो ।’ यसबारे डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले ठेकेदारलाई तत्काल बजारमा भएका सौर्यबत्ती नउखेल्न आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘नागरिकलाई समस्या पर्ने भएकाले बत्ती नउखेल्न आग्रह गरेको छु, ठेकेदारले पाउनुपर्ने रकम भुक्तानीका लागि सम्बन्धित निकायमा पहल गर्नेछौँ ।’

अन्तिम अपडेट: बैशाख ६, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया