गौलीको कागती खेती : अष्ट्रेलियाको ‘पीआर’ त्यागेर छोरीज्वाइँ नेपाल फर्कँदै

 फागुन २९, २०७५ बुधबार ११:४२:४५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ– यसअघि चितवन बसोबास गर्दै आएका गोवर्द्धन गौलीले ‘चितवन चिया उद्योग’ दर्ता गर्नुभयो । झापाबाट चियापत्ति चितवन लगेर प्याकिङ गरी उहाँ आफैँ चियापत्ति बेच्नुहुन्थ्यो । ‘विगतमा चितवनमा साईकलमा चियापत्ति, मसाला र दालमोठ राखेर बेच्थेँ,’ उहाँ विगत सम्झनुहुन्छ ।

लगत्तै, उहाँले चितवनमै घरजग्गा कारोबार पनि सुरु गर्नुभयो । यस व्यवसायबाट उहाँले केही पैसा आर्जन गर्नुभयो । प्रगतिशील विचारधाराका गौलीलाई केही साथीभाइले उत्पादनशील क्षेत्रमा लाग्न सुझाव दिए । आफ्नै रहर र साथीभाइको हौसलाले उहाँलाई कृषिमा लाग्न प्रेरणा दियो ।

कृषि कर्मका लागि उहाँले आफ्नै पुख्र्यौली थलो, लमजुङको कुन्छालाई रोज्नुभयो । सुन्दरबजार नगरपालिका–१, कुन्छामा अहिले उहाँले ‘हिर्कुश एग्रो फर्म प्रालि’ सञ्चालन गर्नुभएको छ ।
   
५ करोड लगानी, कागती खेतीमा जोड

आफ्नै नाममा रहेको २ सय रोपनी र भाडाको गरी झण्डै ४ सय रोपनी पाखो जग्गामा उहाँले व्यवसायिक कृषि कर्म अघि बढाउनुभएको छ । उहाँले मुख्यतया : व्यवसायिक कागती खेतीलाई जोड दिनुभएको छ । उहाँले ४ हजार ५ सय बोट कागती लगाउनुभएको छ । ५ सय सुन्तलाको बोट लगाउनुभएको छ । उहाँले सुन कागती–१, सुन कागती–२, तेह्रथुम लोकल जातको कागती लगाउनुभएको हो । उहाँको फर्ममा ‘हाइटेक नर्सरी’ समेत छ ।

‘हामीसँग हाइटेक नर्सरी छ । १३ वटा ‘सिड्सका मदरप्लान्ट’ छन् । यसबाट साइन निकाल्छौँ । तीनपाते सुन्तलामा जोडेर ‘ग्राफ्टिङ’ गरी बिरुवा बेच्छौँ,’ उहाँले भन्नुभयो । यस्तै, उहाँले पाइनएपल, वासिङ्टन जातको जुनार र खुखु, उन्सु, मर्कट, किन्नु र ओतो जातको सुन्तला पनि लगाउनुभएको छ । अहिले उहाँको नर्सरीमा कागती र सुन्तलाको गरी डेढ लाख बिरुवा छ ।

‘गएको वर्ष १२ लाखको बिरुवा बेच्यौँ । प्रति बिरुवा ४० रुपैयाँका दरले बेचेका हौँ,’ उहाँले भन्नुभयो, ‘यसवर्ष हामीसँग डेढ लाख बिरुवा छन् । यसवर्ष ४० लाख रुपैयाँ बराबरको बिरुवा बेच्ने हाम्रो लक्ष्य छ ।’ कृषि व्यवसायमा ५ करोड लगानी भईसकेको उहाँ बताउनुहुन्छ । ‘कुल लगानीको ९५ प्रतिशत जति लगानी कागती खेतीमै छ,’ उहाँले भन्नुभयो ।   

‘ग्रिनिङ रोग’ले किसान मारमा  

गौलीका अनुसार सिँचाईका लागि २ किलोमिटर तल ताप्ले खोलाबाट ‘लिफ्टिङ’ गरी फर्मसम्म पानी ल्याईएको छ । यसका लागि सुन्तला जात बाली विकास परियोजना कीर्तिपुरबाट २० लाख रुपैयाँ बराबरको अनुदान प्राप्त भएको हो ।

उहाँले आधुनिक प्रविधिको उपयोग गरी व्यवसायिक कृषि कर्म अघि बढाउनुभएको छ । सुन्तला खेतीमा ‘ग्रिनिङ रोग’ले सताउँदा किसान मारमा पर्ने गरेको उहाँ बताउनुहुन्छ । यस रोग नियन्त्रणका लागि राज्यले नै पहलकदमी चाल्नुपर्ने उहाँ बताउनुहुन्छ । 

कागती, सुन्तला र जुनार खेती मात्र होइन, उहाँले मेवा खेती पनि गर्नुभएको छ । उहाँले भैँसीपालन र बाख्रापालन व्यवसायलाई पनि विस्तार गर्ने योजना बनाउनुभएको छ ।

‘अहिले हामीसँग ५ वटा भैँसी छ । २० वटासम्म भैँसी पाल्ने र बाख्राको संख्या एक सय पुर्‍याउने लक्ष्य छ । १२ वटा स्थानीय जातकै बाख्रा छन्,’ स्थलगत अवलोकन गर्न फर्मसम्म पुगेको पत्रकारको टोलीलाई उहाँले  जानकारी गराउनुभयो ।
   
समृद्धिको आधार कृषि र पर्यटन

फर्ममा गोवर्द्धनसँगै उहाँकी श्रीमती तारा भट्टराई गौली, छोरा संवर्द्धन गौली र छोरी पुञ्ज गौली कोइरालाको संयुक्त लगानी रहेको छ । कृषि र पर्यटनको विकासबिना देशको आर्थिक समृद्धि सम्भव नहुने उहाँ बताउनुहुन्छ । पर्यटनका लागि पनि कृषिको विकास हुनु जरुरी छ ।

‘त्यसैले आफ्नै देशमै बसेर कृषिमै केही गर्नुपर्छ भन्ने सोच राखेर कृषि कर्म अँगालेको हुँ,’ उहाँले भन्नुभयो । उहाँको फर्मबाट १५ जनाले रोजगारी पाएका छन् ।

छोरीज्वाइँ ‘पीआर’ त्यागेर नेपाल आउँदै

थालनी भएको ५ वर्षमै उहाँको कृषि कर्म फस्टाउँदै गएको छ । कृषि कर्ममा सघाउन अष्ट्रेलियाबाट छोरी पुञ्ज र ज्वाइँ विजेश कोइराला नेपाल फर्कन लागेको गोवर्द्धनकी श्रीमती ताराले जानकारी दिनुभयो । आफ्नो छोरीज्वाइँ अष्ट्रेलियाको ‘पीआर’ त्यागेर नेपाल फर्कन लागेको गोवर्द्धनले बताउनुभयो ।

‘छोरीज्वाइँ अष्ट्रेलियाको मेलवर्नमा हुनुहुन्छ । उहाँहरुले ‘पीआर’ प्राप्त गरिसक्नुभएको छ । उनीहरु कृषि कर्ममा सघाउन त्यहाँको ‘पीआर’ त्यागेर नेपाल आउँदै छन्,’ उहाँले थप्नुभयो, ‘सायद अबको ४ महिनामा उनीहरु नेपाल आइसक्छन् ।’ कृषि कर्ममा गर्न सके पैसाकै लागि विदेशिनु नपर्ने गौली दम्पत्तीको सुझाव छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

1 Comments

  • Yogi

    March 21, 2019, 3:42 p.m.

    राम्रो काम, तर छोरी ज्वाईंको धेरै भर नपर्नुस/

  •  0 Reply

तपाईको प्रतिक्रिया