माई भ्याली गोल्डकप : डिफेन्डिङ च्याम्पियन थ्रीस्टारलाई हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा

 फागुन २९, २०७५ बुधबार १८:१०:१५ | सुजता सुनुवार
unn.prixa.net

इलाम – डिफेन्डिङ च्याम्पियन थ्रीस्टार क्लबलाई पराजित गर्दै हिमालयन शेर्पा क्लब इलाममा जारी पाँचौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माई भ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

हिमालयन शेर्पा क्लबले बुधबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन थ्रीस्टार क्लब ललितपुरलाई ३–१ गोलले पराजित गरेकाे हाे । थ्रीस्टारले सुरुवाती अग्रता लिए पनि त्यो अग्रता लामो समय टिकेन ।

खेलको १४ औँ मिनेटमा नै थ्रीस्टारका कप्तान अनिल गुरुङले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता पाँच मिनेट पनि टिकेन । १९ औँ मिनेटमा हिमालय शेर्पाका विजय श्रेष्ठले गोल गरी खेल बराबरीमा ल्याए । 

पहिलो हाफमा १–१ को बराबरीमा खेलेको थ्रीस्टारले दोश्रो हाफमा भने विपक्षीलाई दबाबमा राख्न सफल बन्यो । चामत्कारिक खेल प्रदर्शन गरेको हिमालयन शेर्पाले ६८ औँ मिनेटमा दोश्रो गोल गर्‍याे । 

कर्नरको अवसरलाई सदुपयोग गर्दै हिमालयन शेर्पाका त्रिभुवन गुरुङले हेडमार्फत गोल गरी टिमलाई जित नजिक पुर्‍याए । ७५ औँ मिनेटमा पुनः हिमालयन शेर्पाका सुनिल खड्काले गोल गर्दै टिमलाई ३–१ को जित निश्चित दिलाए । पेनाल्टी क्षेत्रबाट सीधै जाली चुमाएका थिए ।

खेलको म्यान अफ् द म्याच विजेता हिमालय शेर्पा क्लबका विदेशी खेलाडी रामसेइ घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

बिहीबार तेश्रो क्वार्टरफाइनलमा मेची नेत्रालय झापाले विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मीको सामना गर्नेछ ।

५ चैतसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरी १० टिमको सहभागिता छ । माई भ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया