नेपालमा लगानीको वातावरण नबन्नुमा सरकार र विप्लव दोषी : पूर्व अर्थमन्त्री महत

 चैत १, २०७५ शुक्रबार १७:९:५२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले नेपालमा लगानीको वातावरण नै नभएको बताउनु भएको छ । 

रिपोटर्स क्लब प्रदेश पाँचले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सरकारको लगानीसम्बन्धी स्पष्ट नीतिको अभाव र विप्लव नेतृत्वको नेकपाको अराजक क्रियाकलापका कारण स्वदेशी र विदेशी लगानीकर्ता नै हतोत्साही भइरहेको बताउनु भएको हो । ‘एकातिर उद्योगी व्यापारीहरुलाई विप्लवका कार्यकर्ताले आतंकित पारेका छन् भने अर्कातिर सरकारले कर बढाएर लगानीकर्तालाई भाग्ने अवस्था सिर्जना गरेको छ’, उहाँले भन्नुभयो ।

कर र भन्सारको वृद्धिले तस्करी मौलाइरहेको उहाँको दाबी छ । कानुनविपरीत गतिविधि गर्ने छुट विप्लव नेतृत्वको पार्टीलगायत कसैलाई नभएको भन्दै उहाँले कानुनविपरीत हुने क्रियाकलाप रोकिएनन् भने विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्धको कुनै अर्थ नरहने बताउनु भयो । उहाले सीके राउतसँग भएको सम्झौता विवादास्पद रहेको बताउनुभयो ।

प्राथमिकताको पहिचान गर्नका लागि सरकार असफल भएको बताउदै उहाँले हावादारी सपनाको खेती गरेर नागरिकलाई भ्रममा नपार्न सुझाव दियो । व्यवस्थापकीय कमजोरीका कारण कांग्रेसले संसदमा प्रभावकारी भूमिका खेल्न नसकेको नेता महतले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ९, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया