नेपाल मागेर खाने अवस्थाबाट अब आत्मनिर्भरताको बाटोमा अगाडि बढ्यो : प्रधानमन्त्री ओली

 चैत ८, २०७५ शुक्रबार १५:५२:४४ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही  – प्रधानन्त्री केपी शर्मा ओलीले सरकार विकासको महाअभियानमा जुटेको बताउनु भएको छ । 

रुपन्देहीको तिलोत्तमामा निर्माण हुन लागेको बुटवल मेडिकल कलेज पूर्वाधार विकास आयोजना कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्टिय गौरवका आयोजनाहरु समयमै पूरा गर्नका लागि सरकार तत्पर रहेको बताउनुभयो । 

सरकारले विकासलाई गति दिन विप्लव समूहमाथि प्रतिबन्ध लगाउनु परेको बताउँदै उहाँले हिंसात्मक क्रियाकलापले विकासलाई अवरोध गर्ने बताउनुभयो । उहाँले नेपाल अब मागेर खाने अवस्थाबाट आत्मनिर्भरताको बाटोमा अगाडि बढेको बताउनुभयो ।

मासिक ३५ हजार  रुपैयाँ भाडा तिरेर स्थापना गरिएको कार्यालयमा आयोजना प्रमुख हित उपसचिव, शाखा अधिकृत, इन्जिनियर, लेखा अधिकृत, चालक र कार्यालय सहयोगीसहित सात जनाको दरबन्दी रहेको आयोजना प्रमुख मानबहादुर घिमिरेले जानकारी दिनुभयो । आयोजनाले मेडिकल कलेज स्थापनाका लागि आवश्यक पर्ने इआईए, गुरुयोजना निर्माण, जग्गा प्राप्तिलगायतका कार्य गर्नेछ ।

३ सय शैयाको प्रस्तावित मेडिकल कलेजको लागि तिलोत्तमा नगरपालिका वडा नम्बर १ र ८ को वन क्षेत्रअन्तर्गत झण्डै २ सय बिगाहा जमिन हस्तान्तरण गरिसकिएको छ ।

यस्तै प्रधानमन्त्री ओलीले आजै बुटवल–नारायणगढ सड खण्डको स्तरोन्नति गर्ने कार्यको समेत शिलान्यास गर्नुभएको छ । 

एसियाली विकास बैंकको ८५ प्रतिशत ऋण र नेपाल सरकारको १५ प्रतिशत गरी झण्डै १७ अर्बको लगानीमा साढे ३ वर्षभित्र यस सडकखण्डको स्तरोन्नति गरी चार लेनको बनाउने कार्य सकिने आयोजनाको पश्चिम खण्डका प्रमुख इन्जिनियर सुरेश न्यौपानेले जानकारी दिनुभयो । 

यसका लागि चाइना स्टेट कन्स्ट्रक्कनसँग सम्झौता भएको छ । बुटवल–नारायणगढ सडक खण्डको स्तरोन्नति नवलपुरबाट दाउन्नेसम्मको ६५ किलोमिटर र दाउन्नेबाट बुटवल राजमार्ग चौराहासम्मको दोश्रो खण्डगरी दुई चरणमा हुनेछ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया