कुखुराको दुई सय किलो अवैध मासु नष्ट

 चैत ९, २०७५ शनिबार १७:८:४५ | सन्तोष थापा
unn.prixa.net

फाइल तस्बिर

पर्वत – छिमेकी जिल्ला कास्कीबाट बसमा लुकाएर भित्राउँदै गरेको अवस्थामा पर्वत प्रहरीले भेटाएकाे २ सय किलो कुखुराको अवैध मासु शनिबार नष्ट गरेको छ ।

पोखरामा बर्डफ्लू देखिएपछि साविककाे धौलागिरी क्षेत्रमा कुखुरा आयातमा रोक लगाइएकाे थियाे । राेक लागेपछि व्यवसायीले तयारी मासु बोरामा लुकाएर आयात गरेको पाइएको हो ।साविक धौलागिरी अञ्चलको प्रवेशबिन्दु पर्वतको डिमुवामा बसमा जाँच गर्दा शुक्रबार दिउँसो बोरामा लुकाएर ल्याउँदै गरेको छ बोरा तयारी मासु जफत गरिएको हाे । 

ना ६ ख ७१८० नम्बरको बसमा लुकाएर बिक्रीका लागि मुस्ताङ्ग लैजादै गरेको मासु डिमुवामा प्रहरीले जफत गरेको हो । पोखराबाट बिक्रीका लागि लैजाँदै गरेको २ सय किलो भन्दा बढी मासु जफत गरेर शनिबार नष्ट गरिएको पर्वत प्रहरीले जानकारी दिएको छ । जफत गरिएको मासु मोदी गाउँपालिकाका जनप्रतिनिधि, पशु प्राविधिक र प्रहरीको रोहबरमा नष्ट गरिएको छ ।

केही दिन यता देशैभर कुखुरामा बर्डफ्लू देखिएपछि पर्वत सहित धौलागिरीका बागलुङ्ग, म्याग्दी र मुस्ताङमा समेत कुखुरा आयतमा रोक लगाइएको थियो । पोखरा– बागलुङ्ग सडकको धौलागिरी प्रवेश गर्ने नाका डिमुवाबजारबाट कुखुरा र प‌ंक्षीजन्य बस्तुहरु आयतमा रोक लगाइएको कुस्मा नगरपालिकाका पशु चिकित्सक राम्जिप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कास्की, चितवन, मकवानपुर लगायतका जिल्लामा कुखुरामा बर्डफ्लू भेटिएपछि यस क्षेत्रमा रोग फैलन नदिन आयतमा रोक लगाइएको पशु चिकित्सक पौडेलको भनाइ छ । 

बुधबार मात्रै चितवन र पोखराबाट कुखुरा बोकेर आएका दुई वटा गाडी डिमुवाबाट सम्बन्धित क्षेत्रमा फिर्ता पठाइएको थियो ।  कुश्मा र म्याग्दी तथा जोमसोम तर्फ बिक्रीका लागि लैजाँदै गरेका कुखुरा नियन्त्रणमा लिएर फिर्ता पठाइएको थियो ।

कास्कीमा बर्डफ्लू देखिएपछि पर्वत सहितका छिमेकी जिल्लाहरु पनि उच्च जोखिममा रहेका छन् । छिमेकी जिल्लाबाट पंक्षीजन्य उत्पादनहरु बिक्रीका लागि ल्याउन केही समयका लागि नदिने र यस क्षेत्रमा समेत उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया