कोशीटप्पु अतिक्रमण गर्न आएका भूमिहीन र प्रहरीबीच झडप, ११ जना पक्राउ

 चैत १३, २०७५ बुधबार १९:३७:४८ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी  – कञ्चनरुप नगरपालिका–१, कोशीटप्पु वन्यजन्तु आरक्षभित्रको खाली जग्गा अतिक्रमण गरी घर बनाउन आएका सयौँ व्यक्तिलाई प्रहरीले धपाएको छ । त्यस्तै ११ जनालाई प्रहरीले पक्राउसमेत गरेको छ । 

कञ्चनरुप नगरपालिका–१, वैरवा नजिक कोशी टप्पु वन्यजन्तु आरक्षको जग्गामा घर बनाउन विभिन्न जिल्लाबाट आएका पाँच सयभन्दा बढी व्यक्तिलाई प्रहरीले बुधबार बिहान धपाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

एकै पटक धेरै संख्यामा आएका मानिसले जग्गा अतिक्रमण गर्न लागेको सूचना पाएपछि प्रहरी पुगेको थियो । प्रहरीले घण्टौंसम्म सम्झाउँदा पनि उनीहरुले ठाउँ खाली गर्न मानेनन् । उनीहरुले नमानेपछि प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरी उनीहरुलाई आरक्षबाट लखेटेको हो । उनीहरुले नजिकैको मानव बस्तीमा आश्रय लिएका छन् ।

कोशी टप्पु वन्यजन्तु आरक्षको जग्गा अतिक्रमण गरेर घर बनाउने उद्देश्यले पूर्वको झापादेखि पश्चिमको गोरखासम्मका व्यक्तिहरु भेला भएका थिए । उनीहरु दैनिक उपभोग्य सामग्री, खाना पकाउने ग्याससहित बालबच्चा लिएर आएका थिए । झापा, धनकुटा, उदयपुर, भोजपुर, चितवन र गोरखासम्मका व्यक्ति आरक्षको खाली जग्गामा घर बनाएर वस्ती नै बसाउने योजनाका साथ आएका प्रहरीको भनाइ छ ।

कञ्चनरुप नगरपालिका–१, कोशीटप्पु एरियामा रहेको मध्यवर्ती क्षेत्रमा मंगोल अर्गनाइजेसन १ नम्बर प्रदेशका इन्चार्ज शक्ति चाम्लिङ राई (डा.गोपाल गुरुङ) को नेतृत्वमा नेपालभरिका भूमिहीन मानिसहरुलाई बसोबास गराउनका लागि ठूलो संख्यामा भेला भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

घटनास्थलमा इलाका प्रहरी कार्यालय कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट समेत खटेको टोली तत्कालै घटनास्थलमा खटिई प्रहरीद्वारा सम्झाई बुझाई गर्दा नमानेपछि  लाठी चार्ज गरी, १० राउण्ड अश्रुग्याससमेत  फायर गरी भिड तितरबितर गरिएको साथै भिड नियन्त्रण गर्ने क्रममा मंगोल अर्गनाइजेसन केन्द्रीय सदस्य शक्ति चाम्लिङ राईलगायत ११ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

घटनाका बारेमा थप अनुसन्धानको काम भैरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया