हावाहुरी चल्दा बिजुलीको पोल र रुखमुनि नबसौँ !

 चैत २०, २०७५ बुधबार १३:५१:१ | सर्जु वैद्य

बारा र पर्सामा आएको हावाहुरीलाई पूर्वानुमान गर्न नसकेको भन्दै अहिले मौसमविदको आलोचना भैरहेको छ । जल तथा मौसम विज्ञान विभागले यसअघि गर्दै आएको पूर्वानुमान मिलेको थियो ।

तर अकस्मात हामी मौसमविदले पनि अनुमान गर्न नसकेको हावाहुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति भयो । यो दुःखको क्षणमा हामी पनि टुलुटुलु हेर्न बाध्य छौँ । प्रि–मनसुनको बेला यस्तो हावाहुरी चल्न सक्छ भनेर हामीले सामान्य पूर्वानुमान मात्रै गरेका थियौँ । तर यो डरलाग्दो विनाशकारी विपदका रुपमा देखा पर्‍यो । यसका केही कारण छन् ।

दुर्लभ र पूवार्नुमान विपरीत !

आइतबार बेलुकी ५ बजेतिर पोखराको आसपासमा स्थानीय वायु सक्रिय भएको थियो । यो निकै सामान्य रुपमा देखिएको थियो । नभन्दै पोखरा क्षेत्रमा यसको कुनै प्रभाव देखिएन । पोखराबाट लगभग निष्क्रिय बनिसकेको यही स्थानीय वायु चितवन हुँदै बारा र पर्सामा पुगेर वितण्डा मच्चायो ।

यो हाम्रा लागि पनि नयाँ थियो । सम्भवतः इतिहासमै पहिलो पटक होला । छोटो समयमा स्थानीय वायु सक्रिय भएर ठूलो धनजनको क्षति गरायो । यो अस्वभाविक होइन । तर विल्कुलै नयाँ हो । हामीले सामान्यतया ७२ घण्टा अर्थात तीन दिनसम्मको पूर्वानुमान गर्छौँ। यसका लागि नयाँ प्रविधिको प्रयोग गरिरहेका छौँ ।

अहिले हामीसँग भएको प्रविधिले यो किसिमको अर्थात यति सानो स्थानीय वायुलाई पूर्वानुमान गर्नै सक्दैन । मौसमको पूर्वानुमान भनेको आकाशमा बादल लागेर गरिने होइन । उच्च प्रविधिको प्रयोगले वायुको मापन गरेर त्यसलाई ‘कम्प्युटर सफ्टवेर’को माध्यमले विज्ञानको सूत्र प्रयोग गरेर निकालिन्छ ।

अहिले बारा र पर्सामा आएको जुन हावाहुरी छ, त्यसको मात्रा र असर मापन गर्ने क्षमता हामीसँग छैन । यो किसिमको हावाहुरीको पूर्वानुमान गर्न सजिलो हुँदैन । यसलाई तत्कालै मापन गर्नुपर्छ, जसलाई ‘नाउकास्ट’ भनिन्छ । जसको अवधि दुई घण्टाको हुन्छ । तर यो पनि त्यसै गर्न सकिँदैन । यसका लागि मौसमी राडार अनिवार्य चाहिन्छ ।

सुर्खेतमा मौसमी राडार, तर सञ्चालनमा छैन !

बारा र पर्सामा आएको हावाहुरीको पूर्वानुमान सुर्खेतमा निर्माण भएको मौसमी राडारबाट किन गर्न सकिएन भन्ने धेरेको जिज्ञासा थियो । तर यसको वास्तविकता भने थोरैलाई मात्र थाहा छ ।

मौसमी राडार बनाउन वर्षौँ लाग्छ । विश्व बैंकको सहयोगमा सुर्खेतको रातानाङ्लामा मौसमी राडार त बनेको छ । तर यो सञ्चालनमा आउन सकेको छैन । मौसमी राडार बनेर मात्रै हुँदैन । राडार बनेपछि त्यसलाई सञ्चालनमा ल्याउन उच्च प्रविधि र दक्ष जनशक्ति चाहिन्छ । जुन अहिले हामीसँग छैन । भएको जनशक्ति सीमित छ । राडार सञ्चालनमा ल्याउनलाई आवश्यक प्रविधि विदेशबाट ल्याउनुपर्छ ।

विश्व बैंकले झण्डै ३० करोड रुपैयाँको लागतमा मौसमी राडार बनाए पनि यसलाई सञ्चालनमा ल्याउन समय लाग्छ । सुर्खेतमा भएको राडारले सुर्खेत, बाँके, दाङ वा त्यस आसपासका जिल्लाको मौसम थाहा पाउन सकिन्छ । तर बारा र पर्साको मौसमी विवरण सुर्खेतमा राखिएको राडारबाट लिन सकिँदैन । 

यसका लागि बारा र पर्साकै नजिकमा राखिएका राडार प्रयोग गर्नुपर्छ । सरकारले उदयपुर र पाल्पामा राडार निर्माण गर्ने भनेको छ । तर अहिलेसम्म काम सुरु भएको छैन ।

खोइ अध्ययन अनुसन्धान ? 

मौसमको पूर्वानुमान गर्ने भनेको मौसम पूर्वानुमान पद्धतिले हो । वर्षौँ पहिले यो पद्धति विकास गरिएको थियो । त्यही पद्धतिबाट हामीले अहिले मौसम पूर्वानुमान गरिरहेका छौँ । तर यसले स–साना स्थानीयस्तरमा उत्पन्न हुने वायुलाई मापन गर्न सक्दैन ।

नेपालमा मात्र होइन, विकसित देशमा पनि यस किसिमका वायुलार्ई मापन गर्ने छुट्टै अध्ययन अनुसन्धान गर्ने निकाय चाहिन्छ । जसले नयाँ नयाँ मोडलको विकास गर्न सक्छ । तर अहिले हामीले पुरानै ‘मोडल’लाई प्रयोग गरिरहेका छौँ । 

जल तथा मौसम विज्ञान विभाग स्थापना भएको ५० वर्ष पूरा भएको छ । तर अहिलेसम्म पनि हामीले हाम्रा संरचनालाई बलियो बनाउन सकेका छैनौँ । अध्ययन र अनुसन्धानलाई फराकिलो बनाउन सकेका छैनौँ । 

विकसित देशबाट भित्र्याइएका ‘मोडल’लाई आफ्नो देशमा ल्याइसकेपछि हाम्रो नेपालकै  ‘डाटा’ हाल्नुपर्ने हो । त्यसमा अटोमेटिक मेशिन राख्नुपर्छ । रेडियसन राख्नुपर्छ । मौसमी राडार राख्नुपर्छ । स्याटेलाइटको डाटाहरु पनि राख्नुपर्छ । 

यो सबै डाटा ‘इन्पुट’ गरेर त्यो मोडललाई ‘कस्टमाइज’ गर्नुपर्छ । जसले हाम्रो आफ्नै मौसमी पद्धति छ भन्ने पुष्टि गर्न सकोस् । यसलाई बर्सेनि ‘अपग्रेड’ गर्नुपर्छ । यसरी मात्रै हाम्रो मौसम पूर्वानुमान क्षमता र पद्धति बढ्दै जान्छ । यसका लागि त अध्ययन अनुसन्धान चाहियो । अध्ययन अनुसन्धानका लागि बलियो संरचना चाहिन्छ ।

त्यसमाथि मौसमको पूर्वानुमान भनेको वैज्ञानिक पद्धतिमा रहेर गरिने अनुसन्धान पद्धति हो । तर बिडम्बना हाम्रोमा अध्ययन अनुसन्धान गर्ने शाखा, महाशाखा छैन । खाली अहिले भएको संरचना भनेको पहिलेदेखि नै चलिरहेको पद्धतिलाई निरन्तरता मात्रै दिने हो । तर यसले त सधै साथ दिँदैन । यसैकारण पनि हामीले बारा र पर्सामा ठूलो धनजनको क्षति ब्यहोर्नु परेको हो । 

कम्तीमा नयाँ अध्ययन र अनुसन्धानको निकाय वा संरचना हामीसँग भएको भए हावाहुरी आउनु पहिले हामीले विज्ञप्ति जारी गर्न सक्थ्यौँ । समयमै सुरक्षित रहन आग्रह गर्न सक्थ्यौँ । तर छैन । नभएपछि के नै गर्न सकिन्छ र ? सक्ने जति गरिरहेका छौँ । बाँकी अध्ययन र अनुसन्धान लागि बारा र पर्सामै पुगेर गर्छौँ ।

हावाहुरीबाट जोगिने कसरी ? 

हावाहुरी सामान्यतया चैतदेखि जेठ महिनासम्मै चल्छ ।  प्रिमनसुनको समय भएकाले यो समय ठूलो हावाहुरी चल्ने, घर भत्किने, छाना उडाउने हुन्छ । हामीले अहिलेसम्म देखेको हावाहुरी भनेको घरको छाना उडाउनेसम्मको हो । तर बारा र पर्सामा आएको हावाहुरी आँधीजस्तो छ । जसले केहीबेरमै ठूलो धनजनको क्षति पुर्‍यायो । 

त्यसैले हावाहुरी चल्नासाथ सतर्क हुन जरुरी छ । हावा चल्यो, हुरी आयो, आकाश गड्याङगुडुङ भयो, बिजुली चम्किएजस्तो भयो, चट्याङ पर्‍यो भने तत्कालै सुरक्षित ठाउँमा बस्नुपर्छ ।

यस्तो बेला बाहिर बस्नु निकै जोखिम हुन्छ । कतिपय बिजुलीको पोल र रुखमुनि बस्नुहुन्छ । यो झन डरलाग्दो हुन्छ । चट्याङ पर्ने भनेकै बिजुलीको पोल र रुखमा हो । त्यसैले हावाहुरी चल्नासाथ घरभित्र सुरक्षित भएर बस्नुपर्छ ।

कच्चा संरचनाको घरभित्र पनि जोखिम नै हुन्छ । त्यसैले हावाहुरी चल्नासाथ सुरक्षित ठाउँमा बस्ने गर्‍यो सतर्क भयो भने धेरै हदसम्म ज्यान जोगाउन सकिन्छ । हामीसँग प्रविधि नभएपछि आफैँले ज्यान जोगाउनुको विकल्प पनि छैन । 

(जल तथा मौसम विज्ञान विभागका महानिर्देशक वैद्यसँग विष्णु विश्वकर्माले गरेको कुराकानीमा आधारित)

अन्तिम अपडेट: मंसिर १८, २०७६

सर्जु वैद्य

वैद्य जल तथा मौसम विज्ञान विभागका महानिर्देशक हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया