कर्मचारी पक्राउ परेपछि बाँकेकाे मालपोत सेवा प्रभावित

 चैत २०, २०७५ बुधबार १९:४३:३८ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – सरकारी जग्गा व्यक्तिको नाममा किर्ते गरेको अभियोगमा ९ जना  कर्मचारी पक्राउ गरेपछि  भूमिसुधार तथा मालपोत कार्यालय बाँकेको कामकाज प्रभावित भएको छ । चैत ४ गतेदेखि सुरु भएको कर्मचारी पक्राउको सिलसिला अझै जारी छ । 

कर्मचारीको अभाव भएपछि एकैदिनमा हुनुपर्ने काम ४-५ दिनसम्म लाग्ने गरेको सेवाग्राहीहरुले बताएका छन् ।  जिल्ला प्रहरी कार्यालय बाँकेले चैत ४ गते अनुसन्धानका क्रममा मालपोत कार्यालय बाँकेका नासु रामबहादुर खड्का, रुद्र देवकोटा र टंक शर्मा तथा कम्प्यूटर कर्मचारी यज्ञश्वर वली र प्रेमचन्द्र ठकुरी पक्राउ परेका हुन् । यसैगरी लेखनदार विरबहादुर खड्का पनि पक्राउ परेका छन् ।

त्यसपछि पनि नासु सुशील रिजाल, खरिदार सञ्जय ठाकुर, र कार्यालय सहयोगी अन्तराम चौधरी पक्राउ परेका छन् । शाखा अधिकृत हेमराज शर्मालाई समेत पक्राउ पुर्जी जारी गरिएको श्रोतले जनाएको छ ।

भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख प्रेम दौल्यालले कर्मचारी अभाव सबैभन्दा ठूलो समस्या भएको बताउनुभयो । भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले कर्मचारी अभाव भएपछि परेको समस्या बारे विभागमा जानकारी गराईसकेको जनाएको छ ।

५ जना शाखा अधिकृतको दरबन्दी रहेको मालपोतमा पछिल्लो समयमा कार्यरत शाखा अधिकृत शर्मा पनि नभएपछि कार्यालय प्रमुख उपसचिव दौल्याललाई मानसिक तनाव भएको छ । तोक, सनाखत प्रमाणीकरणदेखि लिएर मुद्धा फाँट सम्म प्रमु्ख दौल्यालले हेर्दै आउनुभएको छ । 

यसैगरी मालपोत कार्यालय बाँकेका पूर्व अधिकृत हाल जिल्ला हुलाक कार्यालय बाँकेका पुष्पा श्रेष्ठ, भूमि सुधार तथा मालपोत कार्यालय बर्दियाका  मालपोत अधिकृत रामकुमार रोका,नासु कृष्णलाल शर्मा र खरिदार भूमिराज पोख्रेलसहित चारजना कर्मचारी समेत पक्राउ गरिएको छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया