दुबई अस्पतालमा थलिएकी कमलाको उपचार खर्च मिनाहा गराउने नेपाली दूतावासको प्रयास

 चैत २१, २०७५ बिहिबार १२:३८:४८ | उमाकान्त पाण्डे

युएई – यूएईको आबुधाबीमा रहेको नेपाली दूतावासले दुई महिनादेखि दुबई अस्पतालमा उपचार गराइरहेकी काभ्रेकी कमला गिरीको उपचार खर्च मिनाहा गराउने प्रयास थालेको छ । 

दूतावासका उपनियोग प्रमुख सागरप्रसाद फुयाँल र जनसम्पर्क अधिकृत इरफान आलमले बुधबार अस्पतलामा पुगेर कमलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै बिरामीको उपचारमा लागेको खर्च मिनाहा गरिदिन आग्रह गर्नुभएको छ । 

यसअघि पनि बिमारीको परिवारको आर्थिक अवस्थाबारे अस्पताललाई अवगत गराउँदै उपचारमा लागेको खर्च छुट गरिदिन दूतावासले पत्रमार्फत आग्रह गरेको थियोे । तर, दूतावासबाट आधिकारिक प्रतिनिधि आउनुपर्ने भन्दै अस्पतालले पत्र नबुझेपछि उपनियोग प्रमुख फुयाँल र जनसम्पर्क अधिकृत आलम अस्पताल पुग्नुभएको हो । बुधबार दूतावासको टोलीले कमलाको उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनसँग समेत छलफल गरेको छ । 

अहिलेसम्म कमलाको उपचारमा ४ लाख दिर्हाम अर्थात एक करोड २० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । उपचारमा लागेको खर्च सबै तिर्न बाँकी रहेको कमलाका श्रीमान् बिमलले दूतवासका उपनियोग प्रमुख फुँयाललाई जानकारी गराउनुभएको थियो थियो । 

ल्युकेमीया ब्लड क्यान्सरले थलिएर अचेत अवस्थामा अस्पताल भर्ना भएकी कमलाको डेढ महिनापछि मात्रै होस खुलेको थियो । कमलालाई अझै ६ हप्ता अस्पतालमै राख्नुपर्ने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन ।

‘कमलाको उपचारमा लाग्ने खर्च मिनाहाा गर्न हामीले प्रयास सुरु गरेका हौं,’ उपनियोग प्रमुख फुयाँलले भन्नुभयो ‘तर सबै रकम मिनाहाा गर्ने सवालमा अस्पताल प्रशासनले माथिल्लो निकायमा जानकारी गराउनुपर्ने  र त्यहाँबाट मात्र निर्णय गर्न सकिने बताएको छ ।’

तर अस्पताल प्रमुख यूएई बाहिर रहेको र अर्को हप्ता मात्रै आउने भएकाले फेरि दूतावासले भेट्ने र छलफल गरेर रकम मिनाहााका लागि सक्दो प्रयास गर्ने उहाँले जनकारी दिनुभयो । 

किमो गराउन खर्च जुटाउनै समस्या

कमलालाई ६ पटक किमो गराउनुपर्ने डाक्टरले बताएका छन् । तीनपटक किमो भइसकेको छ । 

एक पटक किमो गराउँदा ७ हजार दिर्हाम अर्थात झण्डै २ लाख १० हजार खर्च हुन्छ । किमो गराउन समेत आर्थिक समस्या भएकाले कमलाका श्रीमान् बिमलले सहयोगका लागि सबैसँग आग्रह गर्नुभयो । 

यूएईमा रहेका नेपाली संघसंस्था तथा व्यक्तिहरुले उहाँको उपचारमा सहयोग गर्ने बताएका छन् । गैरआवासीय नेपाली संघ र नेपाली समाजका प्रमुखले बिमारी र आफन्तलाई भेटेर सहयोग गर्ने बताएका छन् ।

काभ्रे समाज यूएईले पहिलो चरणको आर्थिक सहयोग समेत गरिसकेको छ । यस्तै अबुधाबीमा गायक प्रकाश पौडेलको पहलमा सहयोग संकलन भइरहेको छ ।

‘साथीभाइको सहयोग तथा उधारोमा नियमित औषधी खुवाउँदै छु, तर अहिलेसम्मको बिल मैले तिर्न सक्ने अवस्था छैन,’ विमलले भन्नुभयो, ‘उपचारमा लागेको खर्च मिनाहाा गरिदिने प्रयास गर्न दूतावासलाई आग्रह गरेको छु ।’ 

अस्पतालमा चार वर्षिया छोरीसँगै श्रीमतीको उपचारमा खटिएका विमललाई मनोबल उच्च राख्न उपनियोग प्रमुख फुँयालले आग्रह गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया