पर्वतारोही अरुणिमा सिन्हाको बायोपिकमा आलिया भट्टको मुख्य भूमिका रहने

 चैत २५, २०७५ सोमबार ८:२७:५५ | एजेन्सी
unn.prixa.net

करण जोहरको धर्मा प्रोडक्शन कम्पनीले भारतीय पर्वतारोही अरुणिमा सिन्हाको बायोपिक बनाउने तयारी गरिरहेको छ । यस फिल्ममा अभिनेत्री आलिया भट्टले मुख्य भूमिका निर्वाह गर्ने खबर सार्वजनिक भएको छ । अभिनेत्री आलिया भट्ट स्वयमले आफू अरुणिमा सिन्हाको भूमिका निर्वाह गरिरहेको पुष्टि गरेकी छिन् । फिल्मको निर्देशन फिल्म ‘मसान’ फेम निर्देशक नीरज घेवनले गर्नेछन् । 

आलियाले निर्देशक निरज घेवनकासाथ भेट भइसकेको र आफू यस फिल्मको भूमिकाको लागि निकै नै उत्साहित रहेको बताएकी छिन् । साथै यो बायोपिकको कहानी निकै नै प्रेरणादायी रहेकोले यो कहानी दर्शक समक्ष पुर्‍याउन जरुरी रहेको पनि बताएकी छिन् । यस फिल्मको काम अर्को वर्षदेखि सुरु गरिनेछ । अभिनेत्री आलियाले फरक–फरक धारका फिल्ममा काम गर्ने अवसर पाइरहेकोमा आफू निकै भाग्यशाली रहेको प्रतिक्रिया दिएकी छिन् ।

को हुन अरुणिमा सिन्हा ?

सानै उमेरमा खेलमा रुची भएकी अरुणिमा भलिबल खेलाडी पनि हुन् । २४ वर्षको उमेरमा ट्रेनमा यात्रा गर्ने क्रममा लुटेराहरुले उनको घाँटीको सिक्री र झोला खोसेर ट्रेनबाट बाहिर फालिदिएका थिए । रेलवे ट्रयाकमा लड्दा उनको बाँया खुट्टा ट्रेनले कुल्चिदिएको थियो ।

दुर्घटनामा परेर बायाँ खुट्टा गुमाएकी अरुणीमाले खेल करियर छोडेर सगरमाथा चढ्ने निधो गरिन् । उनको आत्म विश्वास र शाहसले सन् २०१३ मा संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहण सफल भइन् । सन् २०१५ मा अरुणिमालाई भारतीय सरकारले पद्मश्री पुरस्कारले सम्मानित गरेको थियो ।

अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘कलंक’ यही अप्रिल १७ मा रिलिज हुँदैछ । यस बाहेक अभिनेता रणबिर कपूरका साथ फिल्म ‘ब्रम्हास्त्र’ मा पनि आलियाको मुख्य भूमिका रहनेछ । आलियाका बुवा महेश भट्टले निर्माण गर्दै गरेको उनको सुपरहिट फिल्म ‘सडक’ को सिक्वेल ‘सडक २’ पनि आलियाको अभिनय रहनेछ ।

यस्तै सञ्जय लीला भन्सालीले निर्माण गर्ने फिल्म ‘इन्शाअल्लाहमा अभिनेता सलमान खानका साथ स्क्रिन शेयर गर्नेछिन् । साथै ‘बाहुबली’ फेम एसएस राजामौलीको फिल्म ‘आरआरआर’ मा पनि आलिया मुख्य अभिनेत्रीको रुपमा अनुबन्धित भइसकेकी छिन् । यतिबेला आलिया भट्ट बलीउडकी चर्चित तथा व्यस्त अभिनेत्री हुन् ।  

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया