पर्यटकको रोजाइमा लमजुङको काउलेपानी ‘होमस्टे’: ८ वर्षमा भित्रिए झण्डै एक लाख पर्यटक

 चैत २६, २०७५ मंगलबार १२:५३:१४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको काउलेपानी होमस्टे नेपालकै नमुना होमस्टेको रुपमा परिचित छ । धार्मिक एवम् प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ काउलेपानी । त्यसैले पछिल्लो समय धेरै पर्यटकको रोजाइमा पर्ने गरेको छ, यो होमस्टे । 

समुद्री सतहबाट झण्डै १६ सय मिटरको उचाइमा रहेको काउलेपानीबाट बुद्ध, मनास्लु, लमजुङ, अन्नपूर्ण हिमाललगायत विभिन्न दर्जनभन्दा बढी हिमाल देख्न सकिन्छ । 

ऐतिहासिक लमजुङ दरबार, काउलेपानी देवीको मन्दिर, कोट, किल्ला, गढी यहाँका अर्का मुख्य आकर्षण हुन् । गाउँसम्म आउने पर्यटकलाई स्थानीयले गर्ने स्वागत र पर्यटक फर्कँदा उनीहरुले गर्ने बिदाइले पर्यटकको मन छुन्छ ।

स्थानीयको मित्रवत् न्यानो आतिथ्यले फेरि पनि गाउँ फर्की आउन लालायित बनाउँछ, पर्यटकलाई । धार्मिक एवम् प्राकृतिक सौन्दर्यमा रमाउनुका साथै ‘अर्गानिक’ खानाको स्वादमा भुल्छन्, यहाँ आउने पर्यटक । साथै उनीहरु मौलिक संस्कृतिमा पनि रमाउँछन् ।

२५ घरधुरी रहेको काउलेपानीमा १५ घरधुरीले व्यवस्थित रुपमा होमस्टे चलाएका छन् ।

काउलेपानी पर्यटन विकास समितिका सचिव जगत गुरुङका अनुसार गाउँमा पर्यटकको संख्या १० भन्दा बढी भए सामुदायिक र कम भए पारिवारिक प्याकेजको व्यवस्था मिलाइएको छ । उहाँका अनुसार गाउँमा सन् २०११ बाट होमस्टे सुरु भएको हो । 

पर्यटक आगमन बढ्दो

काउलेपानी हामेस्टे विशेषगरी आन्तरिक पर्यटको रोजाइमा पर्ने गरेको छ । देशका विभिन्न ठाउँबाटै बाह्रै महिना उलेख्य संख्यामा पर्यटकहरु काउलेपानी पुग्छन् ।

काउलेपानी पर्यटन विकास समितिका अनुसार ८ वर्षमा आन्तरिक र बाह्य दुवै गरी ९८ हजार ९ सय ७९ पर्यटक गाउँ भित्रिएका छन् । समितिका अनुसार ८ वर्षमा होमस्टेमा ९८ प्रतिशत आन्तरिक पर्यटक र २ प्रतिशतमात्रै बाह्य पर्यटक आएका हुन् । 

समितिका अनुसार सन् २०११ मा ३ हजार ४ सय ८३, सन् २०१२ मा ७ हजार ९ सय ९९, सन् २०१३ मा १० हजार १ सय १५ जना पर्यटक होमेस्टे आएका थिए । 

यस्तै, सन् २०१४ मा १० हजार ३ सय १५ जना, सन् २०१५ मा १३ हजार ३ सय ६९ जना पर्यटक गाउँ आएका थिए ।सन् २०१६ मा  १६ हजार ३ सय ११ जना, सन् २०१७ मा १८ हजार ३ सय र सन् २०१८ मा १९ हजार ६० जना पर्यटक काउलेपानी होमस्टे पुगेका थिए । 

होमेस्टेमा पर्यटक आगमन बढ्दै गएको काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङ बताउनुहुन्छ ।उहाँका अनुसार काउलेपानीलाई नेपालकै उत्कृष्ट होमस्टे घोषणा गरेपछि यहाँ पर्यटकको आगमन संख्यामा वृद्धि भएको हो ।
 

अन्तिम अपडेट: चैत ९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया