समाचार प्रभाव: वृद्धाश्रममा अलपत्र सीता अधिकारीसँग छाेराहरुले भेटे

 चैत २६, २०७५ मंगलबार १३:४७:९ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - हेटौँडाकाे वृद्धाश्रममा अलपत्र पर्नुभएकी धादिङको गल्छी गाउँपालिका-४, की सीता अधिकारीलाई साेमबार परिवारका सदस्यहरुले भेटेका छन् । 

सीता अधिकारी आश्रममा अलपत्र परेको र आश्रममलाई परिवारले उपलब्ध गराउने शुल्क नपाएको विषयमा उज्यालो अनलाइनमा ‘कमाउन छाडेपछि आफन्तले नै वृद्धाश्रम पुर्‍याए’ शिर्षकमा समाचार प्रकाशन भएकाे थियाे । 

१८ महिनाअघि हेटौँडाकाे श्रीमद्भागवत ज्ञानसंचार वृद्धाश्रमा राखिएकाे र आश्रममलाई नियमित दिनुपर्ने पैसा नदिएको भन्ने  तथ्य समाचारमार्फत बाहिरिएपछि सोमबार सीता अधिकारीका छोराहरु बाबुराम, शम्भु र रामचन्द्र अधिकारीले आश्रममा पुगेर आमासँग भेटघाट गरेको आश्रमले जनाएको छ । 

आश्रमलाई ०७६ असारसम्म तिर्नुपर्ने रकम तिरेको र आमाका लागि नियमित रुपमा परिवारले भेटघाट गर्ने प्रतिबद्धता जनाएको गल्छी गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले बताउनुभयो । 

वृद्ध आमाको नाममा सरकारले दिने सामाजिक सुरक्षा भत्ता उहाँको हातमा पर्नेगरी उपलब्ध गराउने, बिरामी पर्दा उपचार गराउन, उहाँले चाहेको बेला घरमा ल्याएर राख्ने वातावरण मिलाउन र वडा कार्यालयसमेत लागिपरेको गल्छी गाउँपलिका-४ का वडाध्यक्ष राजु अधिकारीले बताउनुभयो ।

वृद्धाश्रममा रहनुभएकी आमालाई घर ल्याउन आफूहरु आश्रम पुगेको र घर फर्कन आमाले नमानेपछि आश्रमलाई सहयोग उपलब्ध गराउने प्रतिबद्धतासहित आफूहरु फर्केको सीता अधिकारीका छोरा रामचन्द्र अधिकारीले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २८, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया