सरकार र चिकित्सकको साँढे जुधाइ, बिरामीकाे पिल्साइ

 चैत २६, २०७५ मंगलबार १९:१२:२५ | विना न्याैपाने
unn.prixa.net

काठमाण्डाै – वीर अस्पतालको कुर्सीमा निन्याउरो अनुहार लगाएर बसिरहनुभएका जितेन्दर कहिले उपचार होला र घर जान पाइएला भनि दिन गनिरहनुभएकाे छ ।

तर डाक्टरहरुको आन्दोलन नरोकिएसम्म आफ्नो उपचार नहुने थाहा पाएपछि उहाँलाई खाना खाने मन लाग्नै छाड्यो ।

'बाँच्ने आशा नभएपछि खाना खाने मन पनि नहुँदो रहेछ',  उहाँका रसिला आँखाले भनिरहेको छ, खोइ बिरामीको उपचार, खोइ देशमा सरकार ? 

तर उहाँको यो पीडा न त डाक्टरले सुन्छन् , न त दुई तिहाइको सरकारले नै । निजी अस्पतालमा उपचार गर्न पैसा छैन, सरकारीमा उपचार हुने छाँटकाँट देखिदैन ।

रौतहटका जितेन्दरजस्तै उपचार गर्न नपाउँदा देशभरि विभिन्न सरकारी अस्पतालमा छटपटाइरहेका बिरामीहरुलाई लाग्दो होला, नेताहरु त सामान्य रुघा लाग्दा पनि उपचार गराउन विदेश जान्छन् तर  देशका नागरिककाे उपचार किन गर्न सक्दैनन् ?

अहिले नेपालमा स्वास्थ्य क्षेत्रको समस्या यस्तै छ । समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी चिकित्सक आन्दोलनमा उत्रिएपछि देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प भएका छन् । 

यसले गर्दा बिरामीहरु मर्कामा परेका छन् । संघले शुक्रबारदेखि आफूहरुको माग पूरा नभएसम्म आन्दोलनका  कुनै पनि कार्यक्रम स्थगित नगर्ने चेतावनी दिएको छ । 


काठमाण्डाैको वीर अस्पतालमा शल्यक्रियाका लागि पालो कुरेर बसेका बिरामीले पनि सेवा पाउन सकेका छैनन् । बाहिरी जिल्लाबाट आएका बिरामी झनै मर्कामा परेका छन् । 

‘डाक्टरले अप्रेसन गनुपर्छ भनेका थिए तर आज जता गए पनि बन्द छ, अब अर्काे मंगलबार आउन भनेका छन्, धेरै गाह्रो भएको छ’, उपचारकf लागि एक हप्तादेखि वीर अस्पताल धाइरहनुभएका रौतहटका जितेन्दरले आफ्नो पीडा पोख्नुभयो, ‘किड्नीमा पत्थरी छ । पेट दुखेर हिँड्न बोल्न पनि सकिरहेको छैन ।’  

त्यस्तै अस्पतालको अर्को छेउमा सिन्धुलीका ९६ वर्षीय भिम थापा बसिरहनुभएको थियो । उहाँलाई आफूलाई कुन रोग लागेको भन्ने पनि थाहा थिएन । 

‘केही दिन पहिले परीक्षणका लागि अस्पताल आउँदा डाक्टरले मंगलबार आउनु भनेको थियो तर आज त अस्पताल बन्द पो रहेछ’, निराश हुँदै उहाँले भन्नुभयो, ‘मैतिदेवीबाट आउन धेरै गाह्रो छ, डाक्टरले उपचार गर्दैनन रे आज, अब क्यार्ने  होला ।’

जितेन्दर र भीम त प्रतिनिधि पात्र मात्र हुन् । उहाँहरु जस्ता धेरै बिरामी अलपत्र परेका छन् ।  सरकारी चिकित्सक संघ गोदानका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले माग पूरा नभए सामूहिक रुपमा राजीनामा दिने बताउनुभएको छ । ‘हामीहरु जुनसुकै बेला पनि वार्तामा बस्न तयार छौँ तर बेवास्ता गरे जुनसुकै बेला सामूहिक राजीनामा दिने तयारी भएको छ’, पाण्डेले भन्नुभयो ।

गोदानका अध्यक्षले यसो भनिरहँदा यता सरकारले भने  कर्मचारी समायोजन ऐनको विरोध गर्दै स्वास्थ्य सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका चिकित्सकहरु तत्काल सेवामा नफर्किए कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। 

सरकारी चिकित्सक संघ  (गोदान)को आह्वानमा सरकारका झण्डै १४ सय चिकित्सक एकै पटक देशभर आन्दोलनमा उत्रिँदा बिरामी मारमा परिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सूचना जारी गरेर चिकित्सक तत्कालै सेवामा फर्कनुको विकल्प नभएको चेतावनी दिएको छ ।

तर सरकार र चिकित्सकको यस्तो साँढे जुधाइमा सर्वसाधारण बिरामीहरु पिल्सिएका छन् । यसबारे कसैलाई पनि चासाे छैन । कसैलाई सत्ता चलाउने खेल भइरहँदा कसैको जिन्दगीसँग खेलवाड भइरहेको छ । यसलाई नियन्त्रण गर्ने सरोकारवाला निकाय कुन हो ?


 

अन्तिम अपडेट: चैत १६, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया