तलब नपाउँदा जाजरकोटका स्वास्थ्यकर्मी आन्दोलनमा

 असार १५, २०७५ शुक्रबार ८:२५:८ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकोट – कर्णाली प्रदेशको जाजरकोट जिल्ला स्वास्थ्य कार्यालय, नगर स्वास्थ्य शाखा मातहतमा रहेका र जिल्ला अस्पतालमा कार्यरत  कर्मचारीहरु तलब पाउन सकेका छैनन् ।

मन्त्रालयको उचित व्यवस्थापन गर्न नसक्दा स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य कर्मीलाई समस्या भएको छ ।

पाँच महिनादेखि तलब खान नपाएको भन्दै विहीबारदेखि जिल्ला अस्पताल जाजरकोटमा कार्यरत स्वास्थ्यकर्मीहरु हातमा कालो पट्टि बाँधेर आन्दोलनमा उत्रिएका छन् ।

यस अघि हरेक महिना तलब भत्ता बुझ्दै आएका स्वास्थ्यकर्मीले लामो समयदेखि तलब खान नपाउँदा आन्दोलनमा उत्रिन वाध्य भएको बताएका छन् ।  

यस अघि हरेक महिना तलबभत्ता बुझ्दै आएका स्वास्थ्यकर्मी स्वास्थ्य संस्था स्थानीय तह मातहतमा गएपछि समयमा तलब खान नपाएको बताएका छन्  ।

भेरी नगरपालिका मातहतका स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा कार्यरत चिकित्सकदेखि कार्यालय सहयोगीले गएको फागुन महिनादेखि तलब भत्ता खान नपाएको गुनासो गरेका छन् । शुक्रवारसम्म तलब निकासा नगरिए जिल्ला स्वास्थ्यबाट प्रदान हुने सबै सेवा ठप्प पारिने जाजरकोट अस्पतालका प्रमुख डा. राजेन्द्र लामाले बताउनुभयो ।

जिल्ला अस्पतालमा कार्यरत ५७ जना  स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी र भेरी नगरपालिकामा कार्यरत ३४ जना स्वास्थ्यकर्मीले समयमा तलब पाएका छैनन् ।

नगरपालिकाले भने बजेट तथा कार्यक्रम मन्त्रालयबाटै अहिलेसम्म निकासा नभएको प्रतिक्रिया दिएको छ । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया