राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालन हुन अझै केही दिन लाग्ने
मंसिर १०, २०८१ सोमबार
लमजुङ– ‘केही गर्न सकिएन’ भन्दै निराशा भाव राखेर सुखी संसारको कल्पना गर्दै विदेश भासिने युवाको कमी छैन । तर कतिपय युवा भने देशकै माटोमा श्रम–पसिना बगाउन लालायित हुन्छन् । देशकै माटोमा सुन्दर भविष्य खोज्न लागि पर्छन् । त्यसैमध्येका एक हुनहुन्छ, लमजुङ सुन्दरबजार नगरपालिका–६, मराँटेफाँटका खुशीराम परियार ।
हलगोरु पालेर, हलो जोतेरै उहाँले सजिलै परिवारको गुजारा चलाउनुभएको छ । उहाँले गोरु पाल्न थालेको ४ वर्ष भइसक्यो । विगतमा उहाँले लामो समय भारतमा काम गर्नुभयो । देश फर्किएपछि उहाँले विवाह गर्नुभयो र छोराछोरी पनि जन्मे ।
सिङ्गो परिवार पाल्नुपर्ने जिम्मेवारी उहाँको काँधमा थपियो । परिवार चलाउनका लागि उहाँले ज्यामी काम गर्नुभयो । दैनिक काम चल्दैनथ्याे । कमाइ पनि हुँदैनथ्याे । ज्यामी कामकै भरमा परिवार पाल्न र छोराछोरी पढाउन, हुर्काउन उहाँलाइ सकस भयो । खेतीपाती गर्नका लागि धेरै जग्गा जमिन पनि थिएन ।
त्यसपछि, खुशीरामले श्रीमती सरस्वती परियारको आग्रहमा हल गोरु पाल्नुभयो । हलगोरु पालेसँगै उहाँलाई खेती लगाउने समयमा खेतबारी जोत्नका लागि धेरैले बोलाउन थाले । खेतबारी जोत्नमा नै उहाँ व्यस्त हुनुभयो र कमाइ पनि राम्रो हुन थाल्यो ।
‘खेती लगाउने समयमा खेतबारी जोत्नका लागि भ्याइनभ्याइ हुन्छ । हलगोरु लिएर जोत्न गएको बेला दिनकै २ हजार कमाइ हुन्छ,’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार, काम चलेको बेला महिनामै ५०/६० हजार कमाइ हुन्छ । विशेषगरी जेठ, असार र साउनमा खेतबारी जोत्न भ्याइनभ्याइ हुन्छ । ‘धान, मकै लगाउने समयमा व्यस्तता बढ्छ । अरु समयमा फाट्टफुट्ट काम चलिरहन्छ । कमाइ भइरहन्छ,’ खुशीरामले खुशीसाथ भन्नुभयो, ‘मैले हलो जोतेरै सजिलै परिवार पालेको छु, छोराछोरी पढाएको छु ।’
खेतीपातीका लागि आफ्नै धेरै खेतबारी छैन, हलगोरु भएपछि उहाँले अधियाँमा भए पनि धान, मकै खेती गर्नुहुन्छ । ‘अधियाँमै भए पनि धान, मकैको खेती गर्छौँ । चामल बेसाएर खानु परेको छैन । चामल किन्ने पैसा जोगिएको छ,’ देशकै माटोमा श्रम–पसिना बगाउन सकेमा यहीँको कमाइले सजिलै जीवन चलाउन सकिन्छ भन्ने उदाहरण बन्नुभएका खुशीरामले भन्नुभयो ।
खुशीरामका अनुसार, पछिल्लो समय गाउँघरकै मान्छेले गोरु पाल्न छाडेका छन् । खेतीपाती गर्नका लागि गोरुसँगै जनशक्तिको पनि अभाव छ । त्यसैले हल गोरु पालेका, मनमा जोश–जाँगर भएका र हातमा सीप भएकाहरुको व्यस्तता बढ्दो छ, कमाइ पनि लोभलाग्दो छ ।
हाते ट्रयाक्टरको प्रयोग बढ्दो भए पनि अझै पनि कतिपय किसानले हलगोरुबाटै खनजोत गरी खेती लगाउने गरेको उहाँ बताउनुहुन्छ । ‘हलगोरुले जोत्दा गहिरोसँग जमिन जोतिन्छ । ट्रयाक्टर धाप खेतमा जाँदैन । धाप जमिन पनि हलगोरुबाटै जोत्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले पनि हलगोरुबाटै खेतबारी जोते खेती लगाउनेहरु पनि धेरै हुनुहुन्छ । ’
खुशीरामसँगै कृषि कर्ममा उहाँकी श्रीमती सरस्वती पनि जुट्नुहुन्छ । ‘हामी त खेतीपाती गर्छौँ । कुटो–कोदोलो गरेरै जीवन चलाएका छौँ । यसमा हामी खुशी छौँ,’ उहाँले भन्नुभयो । परियार दम्पतीका एक छोरा (विधान) र एक छोरी (दिना) रहेका छन् । विधान स्थानीय आदर्श बाल माविको कक्षा ८ मा पढ्छन् । छोरी दिना कक्षा २ मा पढ्छिन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।