अचम्मकी आकृति : मलेसियाबाट फर्किएका बाबासँग मात्र बोतलको आश

 बैशाख १, २०७६ आइतबार १२:४५:४४ | मिलन तिमिल्सिना
unn.prixa.net

बाटो मास्तिर कान्लामा झार टिपिरहेकी उनले मलाई देख्नेबित्तिकै सोधिन्, ‘तपाईँलाई यो फूलको नाम थाहा छ ? ’

सेतो फूल फुल्ने मसिनो चरीअमिलो जस्तो झार मैले चिनिनँ । 

‘सरी नानु, मलाई थाहा भएन नि यसको नाम, यो त झार हो ’ उनले टिपेको झार नियाल्दै मैले सोझो जवाफ फर्काएँ ।

‘यति ठूलो मान्छेलाई पनि नाम थाहा नहुने रे ’ उनी मुसुक्क हाँसिन् । 

म खिस्रिक्क परें ।

‘तिमीलाई किन चाहियो र यसको नाम ?’ मैले सोधें ।

‘स्कुलमा साथीहरुलाई भन्न पाइन्थ्यो नि काठमाण्डौमा यस्तो झारको फूल टिपेर खेलेको भन्नलाई’ हातमा भएको झारे फूल हेर्दै उनले भनिन् ।

उनको कुरा सुनेर मलाई अचम्म लाग्यो । जाबो झारको नाम थाहा पाएर साथीहरुसँग फूर्ति लगाउन पनि के मज्जा होला ! हामी सानो हुँदा बजार गएर फर्किएको बेला मोटर देखेको कुरा गर्थ्याैँ । कहिलेकाहीँ काठमाण्डौ आउन पाइयो भने फर्किएपछि दुईचार महिनासम्मै धरहराको बयान गरेर थाक्दैन थियौँ । तर यी नानीलाई नाथे झारको नाम थाहा पाउने रहर पो छ !

‘काठमाण्डौबाट फर्केको मान्छेले पनि साथीहरुसँग के झारको कुरा गर्नु ? मोटरको, बाटोको, झिलिमिली बत्तिको, नयाँ नयाँ ठाउँको पो कुरा गर्नुपर्छ त’ मैले उनको ध्यान झारबाट हटाउने प्रयास गरें ।

तर उनले झार चलाउन छोडिनन् । मेरो कुरा सुनेर मुसुक्क हाँसिन् मात्र ।

छिमेकीको घरमा पाहुना लाग्न आएकी नानी थिइन् । छिमेकका अरु केटाकेटीभन्दा फरक स्वभाव भएकी उनीसँग गफिन मन लाग्यो ।

‘तिम्रो नाम के हो नि ?’ मैले कुराकानी सुरु गरें ।

‘आकृति’ उनले छोटो जवाफ दिइन् ।

‘आकृति मात्रै ?’ मैले अझै खुलाउने प्रयास गरें ।

‘होइन कुँवर पनि हो ।’ 

‘आकृति कुँवर ?’ मैले नामथर एकै ठाउँमा मिसाएर भनें ।

उनले अँ भनेर मुन्टो हल्लाइन् ।

‘कति राम्रो नाम रहेछ । मान्छे पनि राम्रो, नाम पनि राम्रो’ मैले फुर्क्याउन खोजेँ ।

उनी लजाएजस्तो गरिन् ।

‘कतिमा पढ्छौ नि ?’ 

‘एकमा’

‘स्कुलको नाम के हो नि ?’

‘एभर साइनिङ इंग्लिस बोर्डिंग स्कुल,  बुटवल ’

‘बुटवलबाट काठमाण्डौ किन आएको नि ? ’

‘घुम्न ।’

‘कोसँग आएको ?’

‘आमा, ममी अनि दाइसँग’

मैले अन्तर्वार्ता लिए जसरी उनलाई सोधिरहेँ । उनले खुरुखुरु जवाफ दिइरहिन् । मसित बोल्दा पनि उनको ध्यान फुलेको झारमै थियो । झार खेलाउँदा घरिघरि पछिल्तिर बाटेको कपालको चुल्ठो एकातिरको काँधबाट अगाडि लत्रिन खोज्थ्यो । हत्तपत्त चुल्ठो पछिल्तिर लर्काएर मिलाउँथिन् । 

मलाई उनीसँग अझै कुरा गर्ने मुड चल्यो । कुरा अगाडि बढाउँदै सोधें, ‘काठमाण्डौमा कहाँ कहाँ घुम्यौ त ?’

‘घुमेकै छैन नि । दाँत देखाउन मात्र गएको’ उनले मतिर हेर्दै भनिन् । दाँत त ठिकै देखिन्छ ।

‘दाँत के भएको छ र तिम्रो ?’ मतिर फर्केर कुरा गरेको बेला उनको दाँत हेर्न खोज्दै मैले सोधें ।

‘नयाँ र पुरानो दाँत खप्टेर आएछ नि’ उनले आँ गरेर दाँत देखाउन खोजिन् । तर मैले दाँत खप्टेको देखिनँ ।

‘अनि डाक्टरले के भने नि ?’ 

‘गुलियो नखानु भनेका छन् । अब बाबाले मिठाई लेराइदिने होला, खान नपाइने भयो’ उनले मुख अमिलो बनाइन् ।

अघि ममी र दाइको मात्र कुरा गरेकी थिइन् । अहिले बाबाको पनि नाम लिइन् ।

‘तिम्रो बाबा कहाँ हुनुहुन्छ र ?’ मैले सोध्नेबित्तिकै फुरुँग हुँदै भनिन्, ‘विदेशमा हुनुहुन्छ नि मलेसियामा । आज आउँदै हुनुहुन्छ ।’ 

‘ओहो के–के ल्याइदिनुहुन्छ होला बाबाले, मलाई नि देउ है’ उनले धेरैथोकको बयान गर्छिन् भन्ने मेरो आश थियो । तर उनले अचम्मको जवाफ दिइन्, ‘बोतल लेइदिनुहुन्छ, अरु त के नै चाहियो र ।’

‘विदेशबाट आउने बाबाबाट जम्मा बोतलको आश ! अनि कस्तो बोतल ? किन चाहियो उनलाई बोतल ?’ मैले अचम्म मान्दै सोधें ।

‘स्कुलमा पानी लैजाने बोतल नि’ उनले भनिन् । हिजोआज धेरै केटाकेटीले स्कुल जाँदा झोलामा थरिथरिका आकर्षक पानीको बोतल बोक्ने गरेको मैले सम्झिएँ । उनलाई त्यस्तै बोतलको खाँचो रहेछ भन्ने बुझें ।

‘त्यति भए पुग्छ त तिमीलाई ?’ मैले फेरि सोधें ।

‘पुगिहाल्छ नि । अरु त के चाहियो र’ अघि टिपेको झार पर फ्याँक्दै उनले भनिन् । फेरि अर्कोपट्टि फर्केर झार खेलाउन थालेपछि मैले भनें, ‘तिमी कति सन्तोषी र ज्ञानी रहेछौ नि ? ’

‘अरुले पनि त्यसै भन्छन्’ उनले हत्तपत्त थपिन्, ‘ज्ञानी, काम सघाउँछे भनेर घरमा नि भन्नुहुन्छ ।’

उनको हरेक जवाफ अनौठो, नौलो र रमाइलो लाग्यो । 

‘के के काम गर्न जानेकी छौ र ?’ मैले सोधें ।

‘कुचो लगाउन, भाँडा माझ्न सबै जानेको छु’ उनले बल्ल झार खेलाउन छाडिन् । 

‘हैन होला ?’ मैले आशंका व्यक्त गरें ।

‘हो नि आफूले खाएको आफैं माझ्छु, नपत्याए सोध्नु न हाम्रो ममीलाई’ मैले नपत्याएको ठानेर उनले विश्वास दिलाउन खोजिन् ।

‘अरु के–के गर्छौ नि ?’ मैले उनको कुरालाई अब पत्याउँछु भन्ने विश्वास दिलाउन खोज्दै अरु काम खोतल्न थालें ।

‘दुध लिन जान्छु । पसल जान्छु’ उनले कामको सूची थप्दै गइन् । अब उनी झार खेल्न छाडेर मसित खुलेर कुरा गर्दै थिइन् ।

काठमाण्डौ बसेर पढ्ने उनी सरहका धेरै केटाकेटी दुध डेरीबाट र चामल पसलबाट आउँछ भन्छन् । गाईभैंसी र धानखेत देखेका हुँदैनन् । मैले यो प्रसंग कोट्याउन थाल्दा उनले हत्तपत्त भनिन्, ‘दुध गाईंभैँसीले दिन्छ । अनि चामल चाहिँ खेतमा धान फलेपछि आउँछ ।’

‘त्यसो भए ढुंग्रो, चिम्टा, ठेकी, मदानी भन्ने पनि थाहा होला ?’ मैले अझै धेरैले बिर्सिसकेको भान्साको सामानको नाम भनें ।

‘किन नहुनु नि ढुंग्रोले आगो फुक्ने, चिम्टाले आगोको कोइला टिप्ने, ठेकीमा दही राख्ने, मदानीले मोही पार्ने’ उनले एकै सासमा सबैथोक एकैपटक भनिन् । म ट्वाँ परें ।

काठमाण्डौ बस्ने धेरै केटाकेटीलाई ढुंग्रो, चिम्टा, ठेकी, मदानी भन्ने थाहा नै छैन । घरमा देख्दै नदेखिने र प्रयोगमा नआउने कुरा थाहा हुने कुरो पनि भएन । तर बुटवलकी आकृतिलाई सबै थाहा छ । 

शहरमा बस्ने केटाकेटीलाई शहरमा पाइने मोबाइल र कम्प्युटरका कुरा मात्रै थाहा छ । तर आकृतिजस्ता गाउँमा बस्ने केटाकेटीलाई मोबाइल र कम्प्युटरका कुरा पनि थाहा छ, अनि गाउँघरतिर चलनचल्तीमा रहेका सरसामान पनि ।

म सोचमग्न भएको देखेर उनले कुराको प्रसँग बदलिन् र भनिन् ‘हजुरलाई रुमाल लुकाई खेल्न आउँछ ?’

‘आउँछ नि, किन नआउनु ?’ मैले जानेको छु भन्ने फूर्ति लाउँदै भनें, ‘तिमीलाई रुमाल लुकाई खेल पनि मन पर्छ हो ?’

‘हो, तर यहाँ कसैले पनि रुमाल लुकाइ खेल्दो रहेनछ । खाली क्रिकेट र फूटबल मात्रै खेल्ने रहेछन् । मलाई त फूटबल, क्रिकेट, अनि रुमाल लुकाइ, लुकामारी सबै खेल्न आउँछ’ उनले एकैपटक खरर भनिन् ।

‘तिमी र म रुमाल लुकाई खेलौं न त’ मलाई एकपटक बाल्यकालतिर फर्कन मन लाग्यो । तर उनले नाईं नखेल्ने भनिन् ।

‘अनि दाइहरुसँग खेले भयो नि ?’ मसित खेल्न अप्ठ्यारो लाग्यो होला भनेर मैले दाइहरुसँग खेल्न भनें ।

‘उनीहरु रुमाल लुकाई खेल्न मान्दैनन् नि । अनि एक्लै रुमाल लुकाई खेल्न नि मिल्दैन । त्यसैले फूल टिप्ने खेल  खेलेको ?’ बल्ल उनको बाध्यता थाहा भयो ।

‘तपाईंको घरमा खेल्ने साथीहरु छैनन् ?’ उनको प्रश्नले एकछिन मलाई अलमलमा पार्‍यो । 

‘छन्, तर तिमी काठमाण्डौ आएजस्तै उनीहरु परीक्षा दिएर गाउँ गएका छन्’ मैले ढाँटें । उनले अनुहार मलिन बनाइन् ।

छिमेकका अरु केटाकेटी परीक्षा दिएर गाउँ गएका छन् । उनलाई खेल्ने साथी चाहिएको थियो । मैले उनलाई मिल्ने साथी खोज्न सकिनँ । उनी निराश भएजस्तो देखिइन् । अनि भनिन्, ‘भोलि घर जाने हो, अब त उतै साथीहरुसँग खेलिहाल्छु नि । ’

‘अनि ठूलो भएपछि के बन्ने तिमी ?’ मैले प्रसँग बदलें ।

‘थाहा छैन’ उनले छोटो उत्तर दिइन् ।

‘डाक्टर, पाइलट, टिचर ?’ मैले छान्न दिएँ ।

‘टिचर त नबन्ने’ उनले हत्तपत्त जवाफ फर्काइन् ।

‘किन नि ?’ आश्चर्य मान्दै मैले सोधें ।

‘इक्जामको बेला पेपर बाँड्न झ्याउ हुन्छ । कहिले यता, कहिले उता दौडिरहनुपर्ने रहेछ । अनि लेखिरहन पर्ने, कराइरहन पर्ने ।  झ्याउ लाग्छ । टिचर त नहुने’ शिक्षक बन्न मन नपर्ने उनको रमाइलो कारण सुनेर हाँसो लाग्यो ।

अझै गफ गर्न मन थियो । 

‘म जान्छु है । ममीले गाली गर्नुहुन्छ फेरि’ भन्दै उनी उठिन् । अनि उफ्रँदै घरतिर लागिन् । 

उनीसँग धेरैबेर बसेर कुरा गरेको उनकी आमाले परबाट हेरिरहेकी थिइन् । उनी आमा भएतिर गएपछि म पनि त्यही बाटो हुँदै घरतिर लागें । मुसुमुसु हाँसिरहेकी उनकी आमासँग भनें, ‘तपाईंकी छोरी धेरै बाठी र ज्ञानी रहिछिन् ।’ 

‘हजुर, यत्तिकै हो, बोल्न कसैले सक्दैन । कसैसँग बोल्न पनि लाज मान्दिनँ’ छोरीको कपाल सुम्सुम्याउँदै आमाले भनिन् ।

‘ए साँच्ची उनको बाबा आज मलेसियाबाट आउँदै हुनुहुन्छ हो ?’ मैले अघि नै आकृतिले बोतलको कुरा गरेको सम्झें ।

‘हो एयरपोर्टमा झरिसक्नुभयो रे, अब एकछिनमा आइपुग्नुहुन्छ’ आमाले भनिन् ।

मलेसियाबाट फर्किएका बाबाले आकृतिलाई बोतल मात्रै लेराएका होलान् त ? मनमा खुल्दुली बढ्यो । आकृति, उनको आमा र दाइको जस्तै मेरो ध्यान पनि मलेसियाबाट फर्किएका लाउरे आउने बाटोतिर केन्द्रित भयो ।

केहीबेरपछि पछिल्तिर झोला भिरेका अधवैंशे मान्छे आइपुगे । उनी आकृतिकै बाबा थिए । बाबा आउँदा आकृति घर छेउमा झारसँगै खेलिरहेकी थिइन् । परबाट छोरी देख्नेबित्तिकै बाबा हाँसे । तर आकृति लजाएर बसिन् । 

मलाई लागेको थियो, बाबा देख्नेबित्तिकै उनी खुरुरु दौडेर खुट्टामा अँगालो मार्छिन् । खै के ल्याइदिनुभयो भनेर झोला र खल्ती छामछुम गर्छिन् । तर उनले त्यसो गरिनन् । बाबा भित्र पसेको धेरैबेर भैसक्दासमेत बाहिरै बसिरहिन् । 

हामी त बा नजिकै पसल गएर फर्किंदा पनि झ्याम्मिन्थ्यौं । के के ल्याइदिनु भयो भन्दै झोला र खल्ती छाम्थ्यौँ। तर आकृतिले त्यस्तो कुनै प्रतिक्रिया जनाइनन् । लाग्यो, धेरै वर्ष विदेश बसेर फर्किएका बाबासँग आत्मीयता फर्काउन अझै केही समय लाग्छ । 

धेरैबेरपछि उनी भित्र पसिन् । म उनी बाहिर आउने प्रतीक्षामा बसें । भित्र झ्यालबाट मलाई हेर्दै रहिछिन् । मैले हातको इशाराले  बाहिर बोलाएँ । उनी खुरुरु दौडिएर आइन् ।

‘अनि बाबाले के के लेइदिनुभएछ त ?’ मलाई अघिदेखि खुल्दुली लागेको कुरा सोधें ।

उनले उस्तै पारामा जवाफ फर्काइन्, ‘मैले अघि नै भनेको होइन, बोतल लेइदिनुहुन्छ भनेर, हो  त्यही बोतल लेराइदिनुभएको छ ।’

‘अरु नि’ मलाई अझै कोसेली र  मिठाइका सूची सुन्न मन थियो । तर उनले धेरै कुरा खुलाइनन् । ‘अरु त थाहा छैन’ भनेर उफ्रँदै भित्र पसिन् । म एकटकले उनी गएतिर हेरिरहेँ ।


 

अन्तिम अपडेट: असोज २९, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया