वर्षकाे पहिलाे दिन जात्रामय बन्याे भक्तपुर

 वैशाख १, २०७६ आइतबार १८:४१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – नयाँवर्षको दिन भक्तपुरमा प्रसिद्ध बिस्केट जात्रा मनाइन्छ । सधै झैँ यस वर्ष पनि बिस्केट जात्राको रौनकले भक्तपुर उज्यालिएको छ । 

परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा नयाँ वर्षको पहिलो दिन अर्थात आइतबार बिहानैदेखि सुरु भयो । भेलुखेलमा हिजो साँझ उठाइएको लिङ्गो हेर्न भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रे लगायतका विभिन्न जिल्लाबाट हजारौँको संख्यामा मानिसहरुको घुईचो लागेको छ । 

५५ हात लामो ईन्द्रध्वजा सहितको लिङ्गो जात्रा हेरे शत्रु नाश हुने, सहकाल आउने जनविश्वास रहेको छ । चैत मसान्तमा ईन्द्रध्वजा सहितको लिङ्गो उठाउने र वैशाख एक गते  दिनभर भव्य मेला गरी साँझ लिङ्गो ढाल्ने गरिन्छ । आज यो जात्रा हेरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहि आएको छ ।

चरखण्डीमा रातिदेखि नै भिड

आजैको दिन अर्थात वैशाख एक गते नै भक्तपुरको दधिकोट र सिरुटारको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । चरखण्डी महादेव मन्दिरको कुण्डमा स्नान गरी महादेवको पूजा गरे शरीरका सबै रोग नाश हुने, गरेको काम सफल हुने जनविश्वास रहेको स्थानीयबासी एवम् संस्कृति अनुसन्धानकर्ता रत्न सायमीले बताउनुभयो । 

किम्वदन्तीअनुसार सिकारीले मारेको भंगेरा चरखण्डीको पोखरीमा डुब्दा दैवी शक्तिका कारण पुनः जीवित भएर उडेको भनाइ छ । यहाँको कुण्डमा नुहाए जीउमा खटिरा, दागलगायत छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने बुढापाकाको भनाइ छ ।

यही विश्वासका कारण आजको दिन यहाँको कुण्डमा स्नान गर्नको लागि बिहान ४ बजे देखि नै भीड लागेको छ । प्रत्येक वर्ष वैशाख १ गते मनाइने चारखण्डी मेलामा मन्दिर परिसरमा युवाहरुले शरीरमा बत्ती बालेर बसेका छन् ।

शरीरमा बत्ती बालेर बसेमा पाप नष्ट हुने एवं पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । यस मन्दिरमा बिहान ५ बजे देखि नै तीनवटा खट सहितको खट जात्रा समेत गरिएको छ । दधिकोटको बिभिन्न क्षेत्र परिक्रमा गराएर बिहानै ल्याइएको खट पुनः मन्दिर परिषरमा राखेर पुजा गर्ने गरिन्छ ।

त्यसैगरी दधिकोटको चित्रपुरमा गणेश मन्दिरमा पनि बिहानैदेखि मेला लागेको छ भने गणेशको खट जात्रा समेत गरिएको छ । दधिकोट र सिरुटारका बासिन्दाले गणेशको पूजा गरी बलि चढाएका छन् । यता सिरुटार र ललितपुरको टीकाथली गाविस जोड्ने दोभानस्थित गुप्तेश्वर महादेव मन्दिरमा पनि मेला लागेको छ ।

यता सिरुटार, बालकोटका बासिन्दाले यहाँको गुप्तेश्वर महादेव मन्दिरमा रथ यात्रा गरी जात्रा मनाएका छन् । धिमे बाजाका साथ रथलाई टोल टोलमा घुमाएर पुजा गर्दै जात्रा मनाएको हो ।

थिमीमा चान्हेसिया अर्थात रात्रिको जात्रा मनाइयो 

चैत मसान्तको दिन साँझबाट सुरु गरी रातभर संचालन हुने चान्हेसिया अर्थात रात्रिको जात्रा आज बिहान थिमीमा सम्पन्न भएको छ । मध्यपुर थिमीका बासिन्दाले मनाउने यस जात्रामा अघिल्लो दिनको साँझ बालकुमारीलाई थिमीको लायकू दरबारबाट जात्रा गरि बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराएर चान्हेसिया जात्रा सुरु हुन्छ ।

चान्हेसिया जात्रामा सर्वप्रथम त दिगुटोलमा रहेको दिगुभैरबलाई आचाजु कर्माचार्यको घरबाट लायकुमा ल्याइन्छ भने त्यसपछि तलेजुबाट बालकुमारीलाई ढकीमा राखेर कपडाले छोपी लायकू अगाडि ल्याइएर जात्रा मनाइन्छ । त्यसपछि भने खटमा राखी बालकमारी मन्दिरमा विराजमान गराइन्छ ।

जात्रामा थिमीको अधिकांश घरघरबाट चिराग बालेर र धिमाय बजाइ दक्षिणबाराही, हरिसिद्धि र अजिमा देवतालाई ल्याएपछि पुनः बालकुमारीबाट शंखधर चोक हुँदै क्वाछेंमा रहेको दक्षिण बाराही मन्दिर परिक्रमा गराएको थियो ।

त्यसपछि तछुटोल, विष्णुवीर मन्दिर परिक्रमा गराइ बालकुमारी मन्दिरमा पुर्याएर पाँच पटक परिक्रमा गराएपछि त्यही स्थानमा आ आफ्नो आसनमा खटहरुलाई राखेपछि जात्रा सम्पन्न भएको थियो । यो जात्रा हिजो साँझ सुरु भएर आज बिहान चारबजे सम्पन्न भएको थियो । 

थिमीमा विष्णुवीर  सिद्धिकाली जात्रा 

त्यस्तै मध्यपुर थिमीका बासिन्दाले प्रसिद्ध विष्णुवीर एवं प्रसद्धिकाली जात्रा मनाएका छन् । विष्णुवीरलाई सुङ्गा टोलबाट तछुटोलको गणेश, प्रथम गणेश, वामुने गणेश, थासमा गणेशलगायत विभिन्न देवगणसहित इनाय् टोल, हात्ती महाङ्काल, भुलाँखेल, चोडे, सिवाटोल, दथुटोल, लाछी, वामुने टोल हुँदै पुनः तछुटोल र सुङ्गा टोलमा परिक्रमा गर्दै बालकुमारी मन्दिरमासमेत परिक्रमा गराइएको थियो ।

बालकुमारी मन्दिरको डबलीमा राखिएको विष्णुवीरसहितका देवगणलाई स्थानीय बासिन्दाले पूजा गरेपछि विष्णुवीरलाई सुङ्गाटोलबाट पाङ्गु टोलमा लैजाँदा नेवारी परम्पराअनुरूप मान्छे मर्दा बजाइने सिं बाजा बजाउँदै लाने प्रचलन रहेको छ ।

त्यस्तै सिद्धिकालीका साथै अन्य विभिन्न देवगण थिमीको हात्ती महाङ्काल, कुमाननी, तुलाननी हुँदै जात्रा चपाचो पु¥याइ स्वङ्गापुखुको दुना फल्चा परिक्रमा गराइ भुलाँखेल हुँदै चपाचो सिद्धिकालीको आफ्नै स्थानमा विराजमान गराइएको छ ।

त्यसैगरी विष्णुवीर, दक्षिण बाराही, बालकुमारीलगायत अन्य देवगणलाई सिन्दुर चढाई आआफ्नो स्थानमा विराजमान गराएपछि आजको जात्रा विसर्जन गरिने स्थानीयवासी रमेश श्रेष्ठले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया