दुई प्रदेशका चार जिल्लालाई केन्द्र बनाएर बागमती नदीमा मोटरबोट सञ्चालन

 बैशाख १, २०७६ आइतबार १८:२८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

रौतहट - दुईवटा प्रदेशको चार जिल्लालाई पायक पर्ने गरी बागमती नदीमा आइतबारबाट मोटरबोट सञ्चालनमा ल्याएको छ ।

प्रदेश नम्बर ३ को मकवानपुर र सिन्धुली जिल्ला त्यस्तै प्रदेश नम्बर २ को रौतहट र सर्लाही जिल्लाको बीचमा पायक पर्ने गरी बागमती नदीबाट गन्तव्यमा पुग्नेगरी मोटरबाट परीक्षणका लागि सञ्चालनमा ल्याइएको हो । 

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सांसद तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालको नेतृत्वमा बागमती नदीबाट चार जिल्लाका नागरिकले यात्रा गर्न सकून् भनेर मोटरबोट सञ्चालनमा ल्याइएको हो ।

मोटरबोट सञ्चालनमा आए पछि मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर २ राईगाउँ, सिन्धुली जिल्लाको हरिहरपुर गढी गाउँपालिका, सर्लाहीको बागमती नगरपालिका र रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाका नागरिकलाई जलमार्गबाट गन्तव्यसम्म पुग्न सहज हुन्छ ।

सांसद दाहालको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट २० लाख रुपैयाँ सहयोग प्राप्त भए पछि अहिले मकवानपुरको बागमती गाउँपालिकाका स्थानीय महिलाहरुको उपभोक्ता समिति गठन गरेर मोटरबोट परीक्षणमा ल्याइएको हो । राईगाउँको बागमती जलमार्ग उपभोक्ता समितिको आयोजनामा चन्द्रपुरको पर्यटकीय स्थल नुनथरमा भव्य कार्यक्रमका साथ सञ्चालनमा ल्याइएको सांसद दाहालले बताउनुभयो । 

जलमार्ग निर्माण भएपछि बागमती नदीमा व्यावसायिक रुपमा मोटरबोट सञ्चालनमा ल्याइनेछ । रौतहटको चन्द्रपुर नुनथर क्यान्टिन बजारदेखि मकवानपुरको राईगाउँसम्मको सात किलोमिटर क्षेत्र पैदलमार्गबाट निकै घुमाउरो पर्ने भए पछि जलमार्गलाई विकल्प बनाइएको जलमार्ग उपभोक्ता समितिको अध्यक्ष रिता पहाडीले बताउनुभयो । आइतबारबाट सुरु भएको मोटरबोटमा ११ सिट क्षमता छ । 

मोटरबोटको सञ्चालनपछि बागमती गाउँपालिका तथा मकवानपुरकै पर्यटन विकाससँगै यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । 
तत्कालको लागि यहाँ ल्याइएको जहाज यसअघि चितवनको नारायणी नदीमा सञ्चालित जहाज हो ।

सांसद विकास कोषमा रहेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत खर्च गरिने योजनामध्येबाट २० लाख खर्च गरेर जलमार्गको निर्माण गरिएको हो । 

‘सडकबाटो मात्रै विकास हैन, यसले पर्यटन प्रबर्द्धनसँगै स्थानीयलाई व्यवसायीकता प्रदान गर्न सक्छ’ दाहालले भन्नुभयो,‘विकासको नाममा बजेट छरेर मात्रै हुन्न, नागरिकलाई रोजगार दिने कोशिश हुनुपर्छ ।’ 

तत्कालको लागि भाडामा लिइएको मोटरबोटको मासिक २ लाख भाडा तिर्नुपर्छ । सरकारी निकायबाट सञ्चालन गर्दा झन्झटिलो हुने भएकोले यसको व्यवस्थापन निजी क्षेत्रलाई दिने तयारी भइरहेको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया