नयाँ वर्षमा नयाँ काम: सबैको बैंक खाता र स्वास्थ्य बीमा

 बैशाख १, २०७६ आइतबार १९:५२:९ | मदन पौड्याल
unn.prixa.net

आइतबारदेखि नयाँ वर्ष २०७६ सुरु भएको छ । साल फेरिएसँगै घरका भित्ता र खोपीमा पात्रो फेरिएका छन् ।

नयाँ वर्षको पहिलो दिन शुभकामना आदानप्रदान, घुमघाम तथा रमाइलो गर्ने गरिन्छ । त्यतिमात्र होइन बितेको वर्ष गरेका कामको समीक्षासहित यो वर्षभरी गर्ने काममा योजना र योजना कार्यान्वयनको संकल्प समेत गर्ने गरिन्छ । सरकारले पनि नयाँ वर्षसँगै केही नयाँ कार्यक्रम सार्वजनिक गरेको छ ।

देशवासीका नाममा सम्बोधन: समयलाई हेक्का राख्न आग्रह

नयाँ वर्षको अवसरमा बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्नुभयो । उहाँले सरकारको आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपालीको केन्द्रविन्दु नागरिक र धर्ती भएको उल्लेख गर्नुभयो । समृद्धि नै सुखको आधार भएको उहाँको भनाइ छ ।

पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षको स्वागत गरिरहँदा उहाँले समयलाई हेक्का राख्न नागरिकलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री निवास बालुवाटार परिसरबाट सम्बोधन सकेको केही समयपछि उहाँ राष्ट्रिय सभागृह पुग्नुभयो ।

बैंक खाता र ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा अभियान

सभागृहबाट उहाँले खोलौ बैंक खाता अभियान सुरु गर्नुभयो । ‘समृद्धिसँग जोडौं नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ अभियान सुरु भएको हो । यो अभियान अन्तर्गत बैंक खाता खोल्दा कुनै पनि शुल्क लाग्नेछैन बरु उल्टै एक सय रुपैयाँ खातामा जम्मा हुनेछ । तर यसअघि कुनै पनि बैंकमा खाता नभएको भने हुनुपर्नेछ ।

नागरिकताको प्रमाणपत्र वा राहदानी वा फोटोसहितको मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्र वा स्थानीय तहले प्रमाणित गरी उपलब्ध गराएको फोटोसहितको सिफारिस वा अन्य कागजपत्र भएपनि सजिलै खाता खोल्न सकिनेछ । बजेटमा उल्लेख भएको कार्यक्रमलाई कार्यान्वयन गर्दै सरकारले बैंक खाता नभएकाहरुको नयाँ खाता खोल्ने अभियान सुरु गरेको हो ।

ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र व्यवस्था

बीमा रकमसमेत सरकारले ब्यहोर्नेगरी ज्येष्ठ नागरिकलाई परिवारका अरु सदस्यको अतिरिक्त एक लाख रुपैयाँको सुविधा प्रदान गर्नेछ । स्वास्थ्य बीमाको नयाँ व्यवस्थामा सिङगो परिवारका लागि ३ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ तर ज्येष्ठ नागरिकका लागि बीमा शुल्क लाग्नेछैन ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलका अनुसार परिवारका ५ जनासम्म सदस्यले ३ हजार ५ सय रुपैयाँ तिरे पुग्छ तर ६ जना सदस्य भए ३ हजार ५ सयमा थप एक जनाको ७ सय रुपैयाँ जोड्नुपर्छ । तर परिवारमा दुई जना ज्येष्ठ नागरिक भएपनि बीमा शुल्क लाग्नेछैन । यसरी सिङगो एक परिवारले परिवारका सदस्यका लागि १ लाख रुपैयाँसम्मको र दुई जना ज्येष्ठ नागरिकको थप एक÷एक लाख गरी दुई सहित जम्मा तीन लाखको उपचार सुविधा पाउनेछ ।

ज्येष्ठ नागरिकको उपचार सुविधा लिइसकेपछि पनि परिवारका सदस्यले पाउने एक लाखसम्मको सुविधाबाट समेत आवश्यक परे उपचार सुविधा लिन सकिन्छ । ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र खोलौं बैंक खाता कार्यक्रममै प्रधानमन्त्री ओलीले बृद्धभत्ता बढ्ने समेत बताउनुभयो ।

पोखराबाट नेपाल भ्रमण वर्ष

नयाँ वर्षको पूर्वसध्यामा हिजो बेलुका नेपाल भ्रमण वर्ष २०२० पोखरादेखि शुभारम्भ गरिएको छ । सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० सम्ममा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य छ । यो महत्वकांक्षी कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेवाताल किनारबाट गर्नुभयो । 

राष्ट्रिय भर्ना अभियान दिवस घोषणा हुँदै

सरकारले नयाँ कार्यक्रम मात्र घोषणा गरेको छैन । नयाँ वर्षकै अवसरमा कुनै पुरानै कार्यक्रमलाई पनि महत्वका साथ निरन्तरता दिने तयारी छ । त्यसैक्रममा सोमबार राष्ट्रिय भर्ना अभियान दिवस घोषणा हुँदैछ । ‘हाम्रो नगर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऊँ’ भन्ने नाराका साथ अभियान सुरु हुनेछ  ।

१५ वर्षदेखि विद्यार्थी भर्ना अभियान चलिरहेको छ । २०६१ सालदेखि विद्यालय उमेर समूहका विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन विभिन्न कार्यक्रम हुँदै आएका छन् । यो अभियान पनि विद्यार्थी भर्नाकै निरन्तरता भएको शिक्षा विभागका प्रवक्ता दीपक शर्माले बताउनुभयो ।

भेरी बबई आयोजनाको ब्रेक थ्रु 

भेरी बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको ब्रेक थ्रु आउँदाे मंगलबार गर्ने तयारी छ । भेरी बबई डाइभर्सनको प्रवेशद्वार सुर्खेतको भेरीगंगा नगरपालिका–११, चिप्ले र निकास भेरीगंगा नगरपालिका–५ को हात्तीसारमा छ ।

१२ हजार २ सय मिटर लामो सुरुङ प्रधानमन्त्री ओलीले औपचारिक रूपमा ब्रेक थ्रु गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले सरकारले केही गरेन भन्नेहरुलाई यो आयोजना गतिलो जवाफ भएको बताउनुभयो ।

यीबाहेक त्रिभुवन विमानस्थललाई बुटिक एयरपोर्ट बनाउन सुरु गर्ने, देशभर आर्थिक गणनाको थालनी गर्ने पनि सरकारको तयारी छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया