‘जिउँदो शहीद’ सँग सङ्गत

 बैशाख ७, २०७६ शनिबार ७:५८:२५ | डिल्लीप्रसाद आचार्य
unn.prixa.net

मेरो बाल्यकालीन अबोध मनभित्र १९९० सालको विनाशकारी भुइँचालो र यसले उत्पन्न गरेका विध्वंशका कथाहरूको गहिरो छाप परेको छ । मभन्दा झन्डै चार वर्ष जेठो थियो छ त्यो भुइँचालो । त्यस बेला यस्तो भएको थियो रे ! उस्तो भएको थियो रे ! भन्ने खालका कथाहरू घर छिमेकमा सधैं सुनिन्थे । 

भुइँचालोका कथाको सिलसिला अलि पुरानो हुँदै जाँदा मैले अर्को नयाँ कथा सुनें । त्यो कथा चार शहीदबारे थियो । शहीद काण्ड १९९७ सालको घटना रहेछ । राणाकालीन समयमा शहीद भएका गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको कथा । ती चार युवामध्ये कसैलाई रूखमा झुन्ड्याएर त कसैलाई गोली हानेर मारिएको रहेछ । 

देशमा प्रजातन्त्र ल्याउन होमिएका ती शहीदका कथा सुनेपिच्छे म टोलाउँथें । मेरो मुटुुमा अनौठो तरङ्ग उठ्थ्यो । अनि म, मनका पानामा कल्पनाको मसीले ती चारै शहीदका फरकफरक अनुहार कोर्थें । मलाई ती एकएक अनुहार प्रिय लाग्थे । 

धेरैपछि किताबका पानामा तिनका अनुहार देखें । मैले कल्पेका चार शहीदका अनुहार र वास्तविक अनुहार नमिल्दा एकछिन त खिन्न भएँ । तर, आज पनि मलाई तिनका वास्तविक अनुहारभन्दा मैले सानोमा कल्पना गरेर बनाएको छविचित्र नै बढी प्यारो लाग्छ । जीवनमा कतिपय अवस्थामा सत्यभन्दा भावना बढ्तै शक्तिशाली भएर आउने रहेछ ।

२००७ सालको राजनीतिक क्रान्तिताका म पुगनपुग १३ वर्षको थिएँ । मैले सुनें, ‘देशमा प्रजातन्त्र आयो । चार शहीदको सपना पूरा भयो ।’ चार शहीदको सपना पूरा भएको कुरा सुन्दा मलाई मेरै सपना पूरा भएको आभास भयो । म खुसी भएँ ।

चार शहीदपछि मैले बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, राजा त्रिभुवन आदिका नाम सुनें । त्यस बेलासम्म म देश बनाउने काम कुनै राजा वा राजनेताको रैछ भन्ने सोच्थें । जब जागिरे भएँ, त्यसपछि बल्ल क्रमशः बुझ्न थालें, देश बनाउन कति धेरै मान्छेले जेलनेल, यातना र कष्ट सहेका रहेछन् । कति धेरैले ज्यानै आहुति दिएका रहेछन् । 
देश, इतिहास र राजनीतिक सङ्घर्षका धेरै कुरा मैले २०१८ सालमा आएर मात्रै बुझें जस्तो लाग्छ । गोविन्दप्रसाद उपाध्यायलाई नभेटेको भए सायद यो कुरा अझै ढिलो बुझ्थें । के थाहा, कतिपय सन्दर्भ बुझ्ने मौकै पो पाउँदिन थिएँ कि !

गोविन्दप्रसाद उपाध्याय बाग्लुङको दौडाहा टोली प्रमुख भएर आएको २०१८ सालमै हो । उनी बाग्लुङ आउँदा मेरो प्रशासनिक पृष्ठभूमि बनिसकेको थियो । मेरो कामप्रति विश्वास बढेपछि उनले मलाई नायब सुब्बा सरहको निजी सहायक बनाए । उनको पिए भएपछि हामी एकअर्काका नजिक भयौं । उनीसँग घुलमिल हुँदै जाँदा क्रमशः उनको रोचक पृष्ठभूमि पनि थाहा भयो ।

हाकिमलाई श्रीमान् भन्ने चलन थियो । गोविन्द श्रीमान् त ‘ज्यूँदा शहीद’ पो रहेछन् । ब्राह्मणलाई मारे ब्रह्महत्याको पाप लाग्छ भन्ने राणा शासकहरूको विश्वासले मात्रै उनी बाँचेका रहेछन् । नत्र त उनी पनि मैले सानोमै कथामार्फत चिनेका शहीदजसरी नै मारिने रहेछन् ।

राणा शासकले ब्राह्मण भएका कारणले उनीलगायत टंकप्रसाद आचार्य, रामहरि शर्मा र केहीलाई मृत्युदण्डको साटो जन्मकैदको सजाय तोकेका थिए । १९९७ मा जन्मकैदको सजाय पाएका गोविन्द श्रीमान् सात सालको आन्दोलनको बलमा जेलमुक्त भएका थिए । 

उनी नेपालकै पहिलो राजनीतिक संगठन नेपाल प्रजा परिषद्का सक्रिय सदस्य थिए । उनको गर्वलाग्दो विगतका अनुभव सुनेर मेरो युवा हृदय घरीघरी आन्दोलित हुन्थ्यो । देश र समाजका लागि बाँच्ने मान्छेका कथा सुन्दा आफ्नो जीवन पनि यस्तै अर्थपूर्ण बनाउन पाए हुन्थ्यो भन्ने ऊर्जा जाग्थ्यो ।

गोविन्द श्रीमानको निजी सहायक भएर म उनीसँगै धेरै ठाउँ पुगें । दौडाहा टोली प्रमुखका हैसियतले बाग्लुङ र गण्डकी क्षेत्रको वस्तुस्थिति अवलोकनका लागि उनले मलाई सँगै लगे । त्यस बेलामा सात सालको आन्दोलन, तत्कालीन राजनीतिक–आर्थिक अवस्था र मुलुकको भविष्यबारे उनीसँग धेरै कुराकानी भए । 

कामको सिलसिलामा सँगसँगै हिँड्दा हिँड्दै कालान्तरमा म उनको विश्वास पात्र बन्न पुगें । धवलागिरि, सगरमाथा र कर्णालीका धेरै ठाउँमा सँगै काम गर्ने अवसर जुर्‍यो । उनीसँगको सामीप्य मेरो जीवनको ठूलो उपलब्धि हुनगयो । भर्खरै युवावस्थामा प्रवेश गरेको मेरो तत्कालीन चेतनामा उनको विचार र व्यवहारको बलियो असर पर्‍यो । उनी मलाई समाज, राजनीति र इतिहास बुझाउने गुरु बने । उनीसँग मैले जीवनको महत्त्वपूर्ण समय बिताएँ । 

मेरो मानसपटलमा आज पनि ज्यूँदा शहीद गोविन्दप्रसाद उपाध्याय घुमिरहन्छन् । उनी मेरो स्मृतिमा ज्यूँदा छन् ।

अञ्चल हाँक्ने भार

मभन्दा माथिल्लो पदमा धेरै हाकिमहरू आए, गए । कोही छिटो, कोही ढिलो । म परें बाग्लुङकै स्थानीय । नयाँ काम सिक्ने उत्साह, स्थलगत काममा रुचि, सफा र शुद्ध लेख्ने खुबी र भैपरीआउने अप्ठ्यारासँग नभाग्ने प्रवृत्तिले गर्दा नयाँनयाँ मान्छेसँग काम गर्दा पनि मलाई कुनै असहज भएन । त्यसैले होला, पुराना बडाहाकिमहरू जाने र नयाँ आउने भइरहँदा पनि मेरो काममा त्यसले कुनै नकारात्मक असर पारेन । बरु, नयाँनयाँ हाकिमसँग काम गर्दा फरक कार्यशैली र भिन्न दृष्टिकोणबाट धेरै कुरा सिक्ने अवसर मलाई मिलिरह्यो ।

प्रशासनिक अनुभवले एकातिर देशका दुर्गम क्षेत्रका कुनाकाप्चामा पुग्न, डुल्न सघायो भने अर्कोतिर आफ्नो आत्मविश्वास पनि बढायो । सुरुवाती दिनमा म आपूmलाई सरकारी जागिर खाएको ठूलो मानिस सम्झन्थें । बेलाबेला फुर्किन्थें पनि । तर अनुभव र सङ्गतले मेरा भ्रम हट्दै गए । ठूलो हुने भन्दा असल हुने मोह बढ्दै गयो ममा । 

यस्तै पृष्ठभूमिमा म गोविन्द श्रीमान्सँग ठोक्किन पुगेको थिएँ । मुलुकलाई १४ अञ्चल, ७५ जिल्लामा विभाजन गर्ने घोषणा २०१८ सालमा भयो । त्यसपछि गोविन्द श्रीमान् दौडाहा प्रमुखबाट धवलागिरि अञ्चलको अञ्चलाधीश बनाइए । मलाई माया गर्ने भएकोले गोविन्द श्रीमानकाे इच्छाले आफ्नै जन्म क्षेत्र धवलागिरिमा अञ्चलाधीशको निजी सहायक हुने भएँ । एकातिर खुसी थपियो, अर्कोतिर जिम्मेवारीको भार पनि ।

पञ्चायती व्यवस्थाअन्तर्गतको अञ्चलाधीश पद अत्यन्तै शक्तिशाली थियो । अञ्चलाधीशको हैसियत समग्र अञ्चलकै सर्वोच्च सरकारी प्रतिनिधिका रूपमा थियो । अञ्चलभरिका सम्पूर्ण गतिविधिप्रति सजग रही त्यसको व्यवस्थापन गर्ने र शान्ति सुरक्षा कायम गर्ने मुख्य व्यक्ति अञ्चलाधीश नै थिए । म उनको निजी सहायक भएकोले मेरो अभिभारा स्वतः बढ्ने नै भयो ।

धेरैपटक अञ्चलस्तरीय कार्यको समन्वय र सम्पादन, औपचारिक समारोहसम्बन्धी कार्य, चुनाव, दैवी विपत्ति, विकास, प्रशासन, न्याय आदि सबै पक्ष हेर्ने अभिभारा एक्लै पनि निर्वाह गर्नुपर्ने परिस्थिति आइपथ्र्यो । तत्कालै निर्णय गर्नुपर्ने क्षणहरूमा अञ्चल हाँक्ने तरिका, दायित्व र भार कसरी निर्वाह गर्नुपर्छ, ती कुरा मैले सिकिसकेको थिएँ । 

२५ वर्षे ठिटौले उमेरमै म नायव सुब्बा (नासु) भइसकेको थिएँ । सबैले ‘सुब्बा साहेब’ भनेर बोलाउँथे । श्रीमती स्वतः ‘सुब्बिनी साहेब’ भइसकेकी थिइन् । अञ्चलाधीशले व्यक्तिगत रूपमा विश्वास गरेको निजी सहायक भएकोले पनि अञ्चलभरिका सबै किसिमका जिम्मेवारी सम्हाल्नै पर्ने बाध्यता मलाई पथ्र्यो । यो बाध्यता पनि रमाइलो लागिरहेको थियो मलाई । जिन्दगीमा जिम्मेवारी थपिँदा बेग्लै ऊर्जा पनि थपिने रहेछ । प्रशासनिक कार्यभारले जीवन थप रोचक बनायो ।

विमान दुर्घटनाको प्रतिवेदक

२०१९ सालमा बाग्लुङ ढोरपाटन क्षेत्रको तीलाचनधुरी नजिकै विमान दुर्घटनाग्रस्त भयो । त्यो विमान काठमाण्डाैबाट दिल्लीका लागि उडेको शाही नेपाल वायु सेवाको डिसी–थ्री थियो । दुर्घटनामा भारतका लागि नेपालका तत्कालीन राजदूत नरप्रताप थापाको मृत्यु भएको खबर आइपुग्यो । हवाई जहाज चालक दलसमेत गरी त्यसमा दसजना सवार थिए । ती सबैको घटनास्थलमै मृत्यु भएको भन्ने खबर आएको थियो ।

दुर्घटना भएको कुरा केन्द्रबाट अनुसन्धान गरिने भए पनि यसबारे सबै जानकारी बटुल्ने काम हाम्रो कार्यालयअन्तर्गत पनि पथ्र्यो । आफ्नै कार्यक्षेत्रमा विमान दुर्घटना भएकाले अञ्चल प्रतिनिधि भई यसबारे जानकारी बटुल्ने काममा म खटिएँ । 

मलगायतका सरकारी प्रतिनिधिहरु घटनास्थल पुग्दा लासहरू उठाउने काम भइरहेको थियो । करिब एक हप्तापछि मात्र त्यो विमान फेला परेकोले मलाई घाइते यात्रुहरू जाडोले पनि मरे कि जस्तो लाग्यो । कक्रक्क परेर बसेको मुद्रामा उनीहरूका लास देख्दा मेरो मन कटक्क खायो । 

सायद बाक्लो बादलका कारण बाटो पहिल्याउन नसक्दा दुर्घटना भएको अनुमान थियो । दिल्ली जानुपर्ने जहाज बाटो बिराएरै ढोरपाटन पुगेको हुनुपर्छ । क्षतविक्षत भएको हवाईजहाज त्यहीँ थियो । मैले दुर्घटनास्थल पुगेर त्यहाँ हवाई जहाज पल्टेको र मान्छे मरेको व्यहोरासहितको विवरण समेटेर प्रतिवेदन बुझाएँ ।

जागिरकै क्रममा यस्तो दुखद् घटनाको समेत मैले साक्षी बन्नुपर्‍यो । दुर्घटनाले मलाई जीवनको क्षणभङ्गुरताबारे पनि सोच्न बाध्य बनायो । यो घटनाको प्रभाव ममा पछिसम्म पर्‍यो । जनगणनामा जीवित मान्छेको विवरण बुझ्ने कामबाट जागिर सुरु गरेको मैले मृतकको गणना समेत गर्नुप¥यो । कस्तो विडम्बना ?

मानिस आफ्नो जीवनप्रति उत्साही हुन्छ । तर जीवन क्षणभंगुर छ । सृष्टिको विशाल र विराट चक्रमा  उसको स्थान र अवस्थिति नगन्य बन्छ । यो ब्रह्माण्ड, यो अनन्त आकाश जहाँ पृथ्वीजस्ता लाखौं पिण्ड विचरण गरिरहेका छन् । यो निरन्तर र अकल्पनीय निर्माणको सन्तुलित सञ्चालन ! यो कल्पनातीत व्यवस्थाका अगाडि व्यक्ति फगत सूक्ष्म अंश न हो । यो सङ्ख्यातीत संरचनाका अगाडि उसको वजन कति र कुन स्थानको महत्ता के ? 

मानिसको जन्म र मृत्युको प्रयोजन के ? दुर्घटित विमानका भौतिक संरचना र मृत शरीरहरू देखेर निकैबेरसम्म मेरो दिमागमा यस्तै प्रश्नहरूको शृङ्खला चल्यो । मनलाई सिंगो आकाशले थिचेसरी भयो । भतभती मुटु पोल्यो र आँखा रसाए । त्यहाँ म जतिसुकै भावुक बने पनि मेरा जिम्मेवारी धेरै थिए । दिइएको काम पूरा गर्न बिस्तारै आफूलाई सम्हालेँ र काममा तल्लीन भएँ । जीवनमा यस्तो हृदयविदारक दृश्य फेरि देख्नु नपरोस् भन्ने कामना गरिरहेँ ।

(डिल्लीप्रसाद आचार्यको स्मृति संग्रह ‘झझल्काहरु’ पुस्तकको एक अंश । २०७६ वैशाख ६ गते उहाँको चौरासी पूजाको अवसरमा यो पुस्तक विमोचन भयो ।) 
 

अन्तिम अपडेट: असोज १८, २०७६

डिल्लीप्रसाद आचार्य

आचार्य पूर्व प्रशासक तथा पत्रकार हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया