कुलमान घिसिङ महिनैपिच्छे तामाकोशी धाउँदै, वैशाखभित्रै पेनस्टक पाइप जडान सुरु हुने

 वैशाख ९, २०७६ सोमबार १३:१२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम बेलैमा सक्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनास्थलमा मासिक अनुगमन सुरु गर्नुभएको छ । ४५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना आउँदो पुसभित्रै सक्न निर्देशक कुलमान घिसिङले आयोजनास्थलमा मासिक अनुगमन सुरु गर्नुभएको हो । 

कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार र आइतबार आयोजनाको स्थलगत निरीक्षण गरी आयोजनाको स्वामित्व लिएर सबै कार्यहरु निर्धारित मितिभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ । 

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको गएको चैत ९ गतेको निर्देशनअनुसार कार्यकारी निर्देशक घिसिङले आयोजनास्थल पुगेर निर्माणमा खटिएका आयोजनाको व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग बैठक गर्नुभएको हो । मन्त्री पुनले पछिल्लो पटक तय गरिएको तालिकाभित्रै निर्माण सम्पन्न गर्न हरेक महिना आयोजना स्थलमै उच्चस्तरीय बैठक राख्न निर्देशन दिनुभएको थियो ।

बैठकमा टेक्स्म्याकोका मुख्य कार्यलयका प्रमुख कार्यलयका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जिसी अग्रवाललगायत प्रमुख डिजाइन र इरेक्सेन इन्जिनियरहरु, सिभिल ठेकेदार सिनो हाइड्रोका आयोजना प्रमुख, एन्ड्रिज हाइड्रोका साइट प्रतिनिधि र परामर्शदाताका प्रतिनिधिहरुको उपस्थिति थियो ।

‘माथिल्लो तामाकोशीको लगानी गरेकाले आयोजनाको निर्माण कहिले सकिन्छ भन्नेमा हरेक नेपालीको चासो छ, त्यसैले व्यवस्थापन र स्वामित्व लिएर कामलाई तीव्रता दिनुहोस्’ निर्देशन दिँदै घिसिङले दिनुभयो ‘विद्युत गृहको काम सकिएर त्यहाँ रहेका टर्वाइनहरु पानी पर्खिएर बसेका छन्, देशमा अर्थतन्त्रलाई ठूलो सकारात्मक परिवर्तन ल्याउन सक्ने राष्ट्रिय गौरवको आयोजनाको आपूmले लिएको जिम्मेवारी छिट्टै पूरा गरी दिनुहोस् ।’

बैठकमा टेक्स्म्याकोका सीईओ अग्रवाललगायत अन्य ठेकेदार कम्पनीले आ–आफ्नो काम एक अर्कासँग समन्वय गरी निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । ‘हामीलाई अवसर दिनुहोस्, हाम्रो काम निर्धारित समयमै सम्पन्न गर्न प्रतिबद्ध छौँ’ अग्रवाललले भन्नुभयो ।

बैठकमा आयोजनाको अत्यन्तै जटिल एवम् चुनौतीपूर्ण मानिएको माथिल्लो र तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडानको प्रगतिका बारेमा विस्तृत छलफल तथा समीक्षा गरिएको थियो । त्यस्तै बाँध, इन्टेक र बालुवा थिग्रयाउने पोखरीमा आगामी जेठ महिनाको पहिलो साताभित्रमा पानी भरी परीक्षण गर्नेबारे छलफल भएको थियो ।

‘हेडवक्र्सका संरचनाहरुमा आउँदो जेठको पहिलो साताभित्र पानी भरी संरचना र गेटहरुको परीक्षण सुरु गरिसक्नु पर्छ’ घिसिङले निर्देशन दिंँदै भन्नुभयो, ‘मुख्य सुरुङमा कंक्रिट लाइनिङको काम छिट्टो सक्नुहोस् ।’

वैशाखभित्रै पेनस्टक पाइप जडान सुरु हुने

४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको तल्लो ठाडो सुरुङमा २२ वैशाख भित्रमा पेनस्टक पाइप जडान सुरु हुने भएको छ ।

माथिल्लो ठाडो सुरुङमा वैशाखभित्रमा पेनस्टक पाइन जडान सुरु हुने छ । आयोजनाको तल्लो पेनस्टक साफ्टमा ३७२ मिटर पेनस्टक पाइप जडान र परीक्षणलाई अत्यन्तै जटिल एवं चुनौतिपूर्ण मानिएको छ । तल्लो ठाडो सुरुङमा ५ मिटर लम्बाइ र २७ टन तौल भएका पेनस्टक पाइप जडान गर्नु पर्ने छ । माथिल्लो र तल्लो ठाडो सुरुङको पुछारमा रहने बेण्ड पेनस्टक पाइपहरु जडान भइसकेका छन् । अब ती बेण्ड पाइपहरुभन्दा माथि पाइपहरु जडान सुरु गर्न क्रेन राख्ने काम अन्तिम चरणमा पुगेको छ ।

पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि  तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गएको २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो सुरुङमा पाइप जडान भने टेक्स्याकोले नै गरिरहेको छ । 

२०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवम् बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा  आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादनलगायतले गर्दा आयोजनाको निर्माण ढिलाई भएको थियो ।  

आयोजनाको निर्माण आर्थिक वर्ष २०७३/७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो । भूकम्प लगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि चालू आव २०७५/७६को पुस महिनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिकाका तय गरिएको थियो । तर, लट २ को ठेकदारको  कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएपछि १५ पुस  २०७६ (३१ डिसेम्बर २०१९) भित्र एक युनिट (७६ मेगावाट)बाट विद्युत् उत्पादनको लक्ष्यसहितको  नयाँ समयतालिका तय गरी काम भइरहेको छ । 

आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ थियो । निर्माण अवधिको ब्याज १३ अर्ब २२ करोड र वित्तीय व्यवस्थापन तथा बैक कमिसनसहित आयोजनाको अनुमानित लागत ४८ अर्ब ८६ करोड थियो ।

अहिले आयोजनाको लागत ४९ अर्ब २९ करोड ५५ लाख रुपैयाँ (निर्माण अवधिको ब्याज बाहेक) पुग्ने संसोधित अनुमान छ । निर्माण अवधिको व्याज १९ अर्ब ८४ करोडसहित आयोजनाको अनुमानित लागत ६९ अर्ब ५९ करोड रुपैयाँ पुग्ने संसोधित अनुमान छ । 
 
 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया