थिएटर मलमा लिटल थिएटर ग्यारेज, साना नानीहरुले देखाए नाटक

 बैशाख ९, २०७६ सोमबार १८:२३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ- विभिन्न नाट्य प्रस्तुति मञ्चनका साथ ‘लिटल थिएटर ग्यारेज’ को पाँचौ संस्करण सम्पन्न भएको छ । थिएटर मल कीर्तिपुरकाे रंगमञ्चमा बालबालिकाहरुले नृत्य तथा अभिनयात्मक खेलको साथमा तीन वटा नाटक मञ्चन गर्दै ग्यारेजको समापन गरिएको हो । 

यस क्रममा उनीहरुले  ‘सुपरम्यान सपना’, ‘बाई बर्डी’ र ‘करेसाबारीका जडिबुटी’ नामको छुट्टाछुट्टै तीन नाटक प्रस्तुत गरेका थिए । राराहिल मेमोरियल स्कुलसँगको सहकार्यमा पुनः स्थापित थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी) नेपालले हरेक वर्ष गर्ने यो ग्यारेज बालबालिकाका लागि अभिनय कार्यशाला हो । बाल रंगमञ्चको अन्तर्राष्ट्रिय संगठनको नेपाल सेन्टर आसितेज नेपालको साथमा लिटल थिएटर ग्यारेज २०७५ को चैत २० बाट सुरु भएको थियो । 

बालबालिकाहरुले १५ दिने कार्यशालामा अघिल्लो १० दिन अभिनय र नाटकका प्रक्रियाहरु बुझ्दै, रमाउँदै पछिल्लो ५ दिनमा तीन नाटक तयार पारेका थिए । ५ देखि १४ वर्षसम्मका ३४ जना बालबालिका सहभागी भएको कार्यशालामा थिएटरका प्रक्रियामार्फत बालबालिकाको वृत्ति विकासका क्रियाकलापहरु भएका थिए । जसमा चित्रकला, माटो कला, नृत्य, कथावाचन, कथालेखन, वक्तृत्वलगायतका क्रियाकलाप पनि भएका थिए । 

कार्यक्रममा जापानी बालकथाकार मिल साकाईको बाल पुस्तक श्रृङ्खला ‘मेच्या बिरालो’ को चौथो श्रंखला ‘चियाको रमाइलो’ पनि विमोचन गरिएको थियो । लेखक, सम्पादक तथा राराहिल स्कुलका अध्यक्ष तुलसीदास महर्जन, आसितेज नेपालका अध्यक्ष दिपर्शनजंग राणालगायतका अतिथिहरुले विमोचन गरेका हुन् । 

५ देखि १४ वर्षसम्मका बालबालिका सहभागी थिएटर ग्यारेजमा उमेर समूह अनुसार छुट्टाइएको तीन समूहले छुट्टाछुट्टै नाटक मञ्चन गरेका थिए । ती मध्ये ‘सुपरम्यान सपना’ ले एक बालकले समाजमा हुने खराब प्रवृत्ति र मानिसहरुलाई परास्त गर्ने सुपर पावर बोकेर सेवा गर्दै हिँडेको सपनालाई नाटकमा उतारिएको थियो ।

बालबालिकाका इमान्दारिता र संवेदनशीलता नै उनीहरुको सुपर पावर रहेको भाव नाटकमा देखाइएको थियो । 

त्यस्तै अर्को नाटक ‘बाई बर्डी’ ले शहरी परिवेशको व्यस्थतामा अभिभावकबाट पर्याप्त समय नपाएको एक बालिकाले आफ्ना लागि साथीको खोजी र भेटिएका साथीसँगको सामिप्यतालाई दृश्यमा उतारिएको थियो । आफ्ना अभिभावकको समय नपाउँदा घरपालुवा कुकुर र घरमा आइपुगेको घाइते परेवासँग जोडिएको सम्बन्धलाई नाटकले उठान गरेको थियो । 

तेस्रो नाटक ‘करेसाबारी जडिबुटी’ले हाम्रै करेसामा पाइने वा हुर्काउन सकिने विभिन्न तरकारीजन्य वनस्पतिहरुको सम्मेलन आयोजना गरिएको थियो नाटकीय सम्मेलनमा विभिन्न मानवीय चरित्र बोकेका तरकारीहरुले आफ्नो विशेषता र गुणहरुलाई रमाइलो तरिकाले बयान गरेका थिए । तरकारीहरुले मानिसको स्वास्थ्यलाई राम्रो बनाइराख्न मद्दत गर्दै आएको कुरा उनीहरुले सम्मेलनमा बताएका थिए ।

यी नाटकहरुलाई थिएटर मल तथा थिएटर सेन्टर फर चिल्ड्रेनका युवा रंगकर्मीहरु केदार श्रेष्ठ, सञ्जिता पराजुली र इलिना नकर्मीले तयार पारेका हुन् । साथमा सबीर चुरौटे, अरुण पौडेल, सुजन महत र सुजिता महर्जनले सघाएका थिए । 

कीर्तिपुरस्थित थिएटर मल नाटकघरमा भएको कार्यशालामा काठमाण्डाै उपत्यकाका विभिन्न स्थानका बालबालिकाहरु सहभागी भएका थिए । ‘बालबालिकालाई नाटक घर लैजाऔं, उनीहरु पनि देख्न, सुन्न, सोच्न, महसुस गर्न र कल्पना गर्न सक्छन्’ भन्ने मूल धारणामा हरेक वर्ष चैत २० देखि हुने कार्यशाला २०७१ सालदेखि नियमित हुँदै आएको छ । छैटौं कार्यशाला २०७६ चैत्र २० बाट हुनेछ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया