‘पिलाछेँ’ बस्ती पुनर्निर्माणसँगै स्थानीयले पाएको पुनर्जीवन

 बैशाख १२, २०७६ बिहिबार १३:११:२३ | कुमार रञ्जित
unn.prixa.net

ललितपुर – भित्री ललितपुरको पूर्वी मोहडामा चारवर्षअघि क्षतविक्षत् भएको एउटा गुचुमुच्च परेको किसान बस्तीको हरेक स–साना चोकहरुका बीचमा बौद्ध धर्मका प्रतीकका रुपमा रहेका चैत्यहरु रहेका छन् । चारवर्षअघि भूकम्पले तहस–नहस भएको ललितपुरको ‘पिलाछेँ’ का नाममा चर्चित बस्ती यतिबेला पुनर्निर्माणका साथै त्यहाँको जनजीवनले पुनर्जीवन पाएर नयाँ उत्साहका साथ अघि बढिरहेको छ ।

बस्तीको पूर्वी प्रवेशद्वारबाट प्रवेश गर्नेबित्तिकै आउने चोकको उत्तरतर्फ रहेको फल्चामा दशजना ज्येष्ठ महिलाहरु लहरै बसेर बत्ती काट्दै हुनुहुन्छ, जो उहाँहरुको नियमित कर्म नै बनिसकेको छ ।

उहाँहरु प्रत्येक दिन बिहान १० बजे आउनुहुन्छ, र साँझ ५ बजे फर्किनु हुन्छ । प्रत्येक दिन प्रत्येकले २ हजार बत्ती काट्नुहुन्छ, र त्यसबापत २ सय रुपियाँ पाउनुहुन्छ । त्यसबीच उहाँहरु खाजा खान उहाँहरु आफैँले घरबाटै लिएर आउनुहुन्छ । बृद्धाहरुको उत्साह र सक्रियताले युवाहरुमा थप जाँगर प्रदान गरिरहेको संयोजन गरिरहेकी स्थानीय गंगा महर्जन बताउनुहुन्छ ।

१० जना ज्येष्ठ नागरिक बृद्धाहरुको यसप्रकारका दैनिक क्रियाकलापमा संयोजन कार्य गरिरहनुभएकी महर्जनले बृद्धाहरुले उत्पादन गर्नुभएको बत्ती बजारसम्म पुर्‍याउन त्यहीँ लिन आउने व्यवस्था गरिएको र त्यसबाट बृद्धाहरुमा आत्मनिर्भरता र स्वाभिमान बढिरहेको बताउनुहुन्छ । बृद्धाहरु पनि सक्रियतापूर्वक औँला चलाएर आफ्ना परम्परागत सीप प्रदर्शन गरिरहेका छन् ।

२०७२ सालको वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि एकीकृत पुनर्निर्माणको योजनासहित सोही स्थानका सफल व्यवसायी रमेश महर्जनको नेतृत्वमा सञ्चालित ‘माया फाउण्डेशन’ ले कार्यारम्भ गरेको थियो । जस अन्तर्गत बस्तीका १ सय १० मध्ये क्षतिग्रस्त ८२ वटा घरहरुको पुनर्निर्माण हुने कार्यको थालनी भएकोमा केही पूरा भैसकेको देखिन्छ भने केही हुँदै गरेको र केही हुन बाँकी रहेको देखिएको छ । पुनर्निमाणको कार्य भैरहेकाले सबै चोकका सबैजसो व्यस्त देखिन्छन् र निर्माण सामाग्रीहरुले चोकहरु भरिएका छन् ।

स्थानीय महिलाहरुले पनि पुनर्निर्माणमा पूरा सहयोग गरिरहेका छन् । महिला अगुवा सरिता महर्जन पिलाछेँका महिलामा देखिएको सहयोगी भावना र सक्रियताबाट खुशी हुनुहुन्छ । उहाँ प्रत्येक दिन पुनर्निर्माण र महिला गतिविधिमा सहभागी हुँदै सबैलाई प्रोत्साहित गर्नुहुन्छ । यस बाहेक पिलाछेँ बस्तीमा सांस्कृतिक समूह, युवा समूह, गुथि समूह लगायत विभिन्न समूहहरुले आ–आफ्ना जिम्मेवारी एकआपसमा सहयोगका साथ वहन गरिरहेका छन् ।

बस्तीको बीचैमा प्रसिद्ध नाचिरहेका गणेशको मूर्ति सहितको तीनतले मन्दिर रहेको छ । भूकम्पले पूरै भत्किएर त्यसबाट पुरिएर स्थानीय एकजनाको मृत्यु समेत भएको स्थानीयहरु दुःखपूर्वक सम्झिन्छन् । अहिले सो मन्दिर पनि पुनर्निर्माण पूरा हुने क्रममा अन्तिम चरणमा रहेको छ । नजिकै अर्को चोकमा पूरा भैसकेको घरमा पर्यटकका लािग अत्याधुनिक ‘होमस्टे’ सञ्चालन भएकोमा स्थानीयहरु उत्साहित छन् । परम्परागत नेवाः शैलीमा सजाइएका कोठाहरुमा पर्यटकका लागि पर्याप्त सेवा उपलब्धता साथै स्थानीयलाई रोजगारीको श्रृजना गरिएको महिला समूहका उगुवा सरिता महर्जन बताउनुहुन्छ ।

पूर्वतर्फ ग्वार्को र उत्तरतर्फ बालकुमारीस्थान रहेको पिलाछेँ प्रवेशद्वारकै मुखमा नवर्निर्मित एक घरमा फोटो स्टुडिओ सञ्चालन गरिएको छ । जसमा स्थानीय जनजीवन साथै नेवाः संस्कृति र सम्पदा झल्किने फोटाहरु बाहिरैबाट हेर्न सकिन्छ । अधिकांश कृषक परिवार रहेको पिलाछेँ बस्ती वर्षैभरी विभिन्न सांस्कृतिक गतिविधिले झकिझकाउ रहने बस्ती मध्ये पर्दछ । भजन फल्चा र गुठी घर निर्माण सम्पन्न भैसकेकाले सामाजिक तथा सांस्कृतिक कार्यहरु निर्वाध हुन थालेका छन् ।

‘‘पिलाछेँ” बस्ती पुनर्निर्माणले ललितपुरलाई मात्रै होइन, समग्र देशलाई नै सकारात्मक सन्देश प्रवाह गरिरहेको छ । त्यस पुनर्निर्माण योजनाको सफल कार्यान्वयनले नमूनाका रुपमा अन्य स्थानलाई पनि आकर्षण गरिरहेको छ । काठमाण्डौको किलागलस्थित ‘दम्बो चोक’ एकीकृत बस्ती पुनर्निर्माण आयोजना र काठमाण्डौकै मरुस्थित ‘पीगःननि’ एकीकृत पुनर्निर्माण आयोजनाहरुले ‘पिलाछेँ’ बाट सिकेर अगाडि बढ्न सकिने उपत्यकाका पुराना बस्ती पुनर्निर्माणमा सक्रिय योजनाकार र इञ्जिनियरहरुले बताएका छन् । 

अन्तिम अपडेट: चैत ३०, २०८०

कुमार रञ्जित

उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया