बुढेसकालमा मन भुलाउन काठको काम

 बैशाख १३, २०७६ शुक्रबार ११:५५:२ | सन्जिता देवकोटा

इलाम – इलाम बजारभन्दा केही परको खरेल डाँडा । डाँडामा छ, सागर फर्निचर उद्योग । बिहान घामको झुल्को नपर्दै उद्योगमा काम सुरु भैसकेको छ । कोही काठ चिर्दैछन्, कोही मिलाउँदै । काँधमा काठ बोकेर आइपुग्नुभयो, चेतबहादुर राई ।

टाउकोमा पहेंलो उनको टोपी । ज्यानमा कालो ज्याकेट । चाहुरिएको छाला तर गाला भने राता राता । ठमठम काठ बोकेर हिँड्ने ७४ वर्षका चेतबहादुरको हाउभाउ देख्दा लाग्छ, उहाँलाई बुढ्यौलीले छोएकै छैन । 

‘नातिनातिना मात्र हैन, पनाति पनि देखिसकें मैले त’ इलामको सन्दकपुरका चेतबहादुरले आफू पाको भैसकेको भावमा भन्नुभयो । रुख किन्यो । ढाल्यो । त्यसलाई चिर्यो । अनि, बेच्यो । काठमै काम गरेर उहाँको सिंगो जिन्दगी गुज्रियो ।

५० वर्ष भयो उहाँले काठको काम गर्न थालेको । पहिले उहाँ गुजारा चलाउन काठको काम गर्नुहुन्थ्यो । हिजोआज काठको काम नगर्दा पनि गुजारा चल्छ । तर चेतबहादुरको मन मान्दैन । भन्नुहुन्छ – ‘मनोरञ्जनका लागि काम गर्छु ।’

चेतबहादुरलाई काम नगरी खाए पनि पुग्छ । ६ भाइ छोराले खुशैले पाल्छु भनेर भनिरहन्छन् । तर चेतबहादुर इलाम बजार एक्लै बसेर काठको काम गर्नुहुन्छ र एक्लै रम्नुहुन्छ । 

मन भुलाउन काम

चेतबहादुरको पाइला स्कुलमा कहिल्यै परेन । लेख्ने रहर लाग्दा मकैको ढोंड बालेर क ख लेख्न सिक्नुहुन्थ्यो । 

अलिअलि पढ्ने चेतबहादुरका साथीहरु लाहुर गए । चेतबहादुरको भने खेतबारी र बस्तुभाउ नै साथी भए । र बिस्तारै काठ व्यवसायले उहाँको जीवनको लगाम लगायो । 

२३ वर्षको उमेरमा विवाह गर्नुभयो । ६ जना छोरा जन्मिए । बालबच्चासँगै काठ व्यवसाय पनि हुर्काउनुभयो । ‘मसँग काठ किनबेच गर्न पाउने लाइसेन्स पहिलेदेखि नै छ,’ चेतबहादुर भन्नुहुन्छ, ‘पहिले त काठ किनबेच गर्न सजिलो थियो नि, अहिले जस्तो हुन्न थियो ।’ 

चेतबहादुरले जति इलामका काठलाई कसले चिनेको होला र ! कुन रुखबाट कस्ता काठ निस्कन्छन्, कति फाइदा हुन्छ र कस्ता सामान बन्छन् भन्ने कुरा रुख देख्दै पत्ता लगाउन सक्नुहुन्छ उहाँ । 

भन्नुहुन्छ, ‘रुख हेरेर काठको अन्दाज गरेजस्तै आफ्नो जीवनको पनि अन्दाज गर्न पाएको भए त ।’

‘जीवन सधैं उस्तै चल्दैन, भोलिको भर हुँदैन’ यो चेतबहादुरको भोगाइ हो । त्यसैले उहाँलाई लाग्छ, ‘आज रमाइलो गरी बाँच्न पर्छ ।’ र रमाइलोका लागि चेतबहादुर काठ व्यापारको काम गर्नुहुन्छ । 

हुन त काठ व्यवसायले नै चेतबहादुरको घर व्यवहार धान्यो । त्यही कामले नै उहाँलाई घर चलाउने पैसा कमाउन शहर पस्नबाट रोक्यो । तर अहिले उहाँलाई यो काम गर्नुपर्ने बाध्यता छैन । 

छोराबुहारीले चेतबहादुरकै इच्छा अनुसार नै पाल्छु भनेका छन् । तर काठको काममा उहाँको मन भुलेको छ । मनको घाउ भर्न औषधीको काम गरेको छ । त्यसैले पनि चेतबहादुरको यो काममा बाध्यता भन्दा आत्मीयता बढी छ । 

‘बुढी मान्छेले बेलेमै छाडेर गइहाल्यो, यसपछि मन बराल्न दार्जीलिङतिर पनि गएँ, तर कतै गए पनि मन मानेन, गाउँ नै आएर काम गर्न थालेदेखि बल्ल मन भुल्न थाल्यो,’ चेतबहादुर भन्नुहुन्छ, ‘अब बाचुञ्जेल मन भुलाउने यसैगरी त हो ।’

चेतबहादुरको श्रीमतीको मृत्यु भएको झण्डै २० वर्ष हुन लाग्यो । शरीर हो बेलाबेलामा बिरामी हुनु सामान्य थियो । सामान्य पेट दुख्दा पनि चेतबहादुर श्रीमतीको उपचारमा धरान र बिराटनगर पुगिहाल्नुहुन्थ्यो । तर हुने कुरा कसले टार्न सक्थ्यो र !

‘म त उसले नै बजार गएर सामान लिएर आउ भनेको थियो, देउराली बजारमा सामान किन्दै थिएँ, लौ साह्रो भयो भने फर्किएर घर पुग्दा गैसकेछ..,’ यति भन्दा चेतबहादुरको गला अवरुद्ध भयो । 

केही घण्टाअघि मात्रै आफूलाई बजार पठाएकी श्रीमतीले मृत्युको कारण पनि आफैसँग लिएर गइन । केही वर्ष पीडामा बिते उहाँको । काम नगरेरै बिताउनुभयो झण्डै दुई वर्ष त ।

‘गाउँ छाडेपछि त मन भुल्छ कि भन्ने ठानेर दार्जीलिङतिर पनि गएँ,’ लालबहादुरले सम्झनुभयो ‘कहीँ गए पनि मनै नमान्ने ।’ त्यसपछि चेतबहादुर इलाम फर्किएर पुरानै लयमा फर्किनुभयो । 

बुढेशकालको साथी काम

इलामको सन्दपुर गाउँपालिका १ हो लालबहादुरको घर । तर उहाँ इलाम बजारमा बस्नुहुन्छ । ६ छोरामध्ये दुईजना मलेसियामा छन् । दुईजना गाउँमा छन् त दुईजना दार्जीलिङतिर । 

उहाँलाई ६ छोरामध्ये जसकोमा बस्छु भन्दा पनि छुट छ । सबैले उत्तिकै प्यारो गर्छन् । तर उहाँको प्यार भने काममा छ । जुन उहाँ इलाम बजारमा एक्लै बसेर गर्नुहुन्छ ।

 ‘सबै छोराबुहारीले उत्तिकै प्यारो गर्छन्, कपाल मात्रै दुख्यो भने पनि लिन आइपुग्छन्, तर पनि किन हो यही काममा रमाइलो लाग्छ जान मन लाग्दैन,’ चेतबहादुर कामसँगको लगाव सुनाउनुहुन्छ । 

काठको किनबेच गर्न पाउने लाइसेन्स भएकाले तिरो तिरेको जमिनबाट रुख किन्न र बेच्न सजिलो भएको छ उहाँलाई । ‘धेरै जनाले फोन गर्छन्, यो काम त्यो काम भन्यो, मलाई त यसमै रमाइलो लाग्छ,’ चेतबहादुर हाँस्दै भन्नुहुन्छ ।

 तीन महिना खटेर काम गरे ६ महिना खान पुग्ने कमाइ गर्नुहुन्छ उहाँ । काममा खुशी र आनन्द छ । मानिससँग भेटघाट हुन्छ । हाँस्न पाइन्छ । हँसाउन पाइन्छ । चेतबहादुर भन्नुहुन्छ, ‘अहिलेसम्म ज्यानमा रोग छैन, काम गर्दाका फाइदा यस्तै त हो नि ।’

आफ्नो कामको कुरा गरिरहँदा उहाँको फोन बजिरहेको थियो । फर्निचर उद्योगमा काठको बस्दोबस्तो गरिदिनुपर्ने हतारोमा हुनुहुन्थ्यो उहाँ । 

हतारै हतारमा काम र खुशीका कुरा बाँड्दै बिदा हुने बेला चेतबहादुरले गुनगुनाउनुभयो, ‘हिमालै चुली त्यो पल्लापट्टि घाम लाग्यो घमस्ते, हाँसेर बस्यौं, अहिलेलाई छुट्छु सबैलाई नमस्ते ।’
 

अन्तिम अपडेट: जेठ ४, २०७६

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया