चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै – वि.सं. २०५९ सालतिर हुनुपर्छ, महेन्द्ररत्न क्याम्पस ताहाचलमा सेनाले छापा मार्यो । त्यतिबेला म स्नातक तहमा शिक्षाशास्त्रतर्फको विज्ञान विषय पढ्थेँ । उज्यालोको सञ्चालक संस्था कम्यूनिकेसन कर्नरमा काम गर्न थालेको केही समय भएको थियो । भनौँ काम सिक्दै थिएँ । क्याम्पसमा प्रयोगात्मक कक्षा सकिनेबित्तिकै कुपण्डोलमा रहेको कार्यालय पुग्थेँ ।
सधैँझैँ त्यो दिन पनि विज्ञानको प्रयोगात्मक कक्षा लिन मात्र क्याम्पस पुगेको थिएँ । सेनाले हरेक विद्यार्थीको झोला र खल्ती जाँच गर्न थाल्यो । कार्यालय जान ढिलो हुने भयो । त्यतिबेला सेनासँग खुलेर बोल्न सकिँदैन थियो ।
खल्तीमा रेडियो नेपालको अस्थायी प्रवेशपत्र थियो । कम्यूनिकेसन कर्नरले त्यो बेला हाकाहाकी कार्यक्रम उत्पादन गथ्र्यो । कार्यक्रम रेडियो नेपालबाट प्रसारण हुन्थ्यो । कार्यक्रम उत्पादन र प्रसारणका लागि रेडियो नेपालमा आइजाई बाक्लै गर्नुपर्ने भएकाले रेडियो नेपालले हामी सबैलाई अस्थायी परिचयपत्र बनाइदिएको थियो ।
मैले डराइडराई सेनाका एकजना मेजरसँग ‘मलाई रेडियो कार्यक्रम बनाउन जान हतार भयो’ भनेर अनुरोध गरेँ । उनले परिचयपत्र हेरे । ‘हाकाहाकी कार्यक्रम बनाउने तपाईँ हो ?’, मलाई तलदेखि माथिसम्म हेरेर उनले सोधे । मैले ‘हो तर म त भर्खर मात्र सिक्दैछु’ भनेँ ।
‘गोपाल गुरागाईं र मण्टेश्वरी राजभण्डारीले काम गर्ने यसमै हैन ?’ उनले फेरि सोधेपछि मैले हो भनेँ । उनले ‘ल म त यो कार्यक्रमको फ्यान हुँ । तपाईँलाई ढिला भएको हो भने जानुस्’ भनेर क्याम्पसबाट निस्कन दिए । म दंग परेँ ।
सेनाले मलाई जाँच नै नगरी बाहिर जान दियो । म मात्रै क्याम्पस हाताबाट बाहिर जान पाएको देखेर अरु सैनिकले पनि मलाई हेरे । मेरा साथीहरु त ट्वाँ परेर नै मलाई हेर्दै थिए ।
– २०६२/०६३ को जनआन्दोलनको एक वर्षअघि काठमाण्डौमा कर्फ्यु लागेको दिन थियो । बिहान ६ बजे कायाकैरनमा पत्रिका पनि पढ्नुपर्ने । कर्फ्युका कारण समयमै पत्रिका आउन सम्भव थिएन । बिहानैको कायाकैरनमा डेराबाट आउन सजिलो थिएन । त्यसैले, सोहम सुवेदी, सरोज दाहाल र म अघिल्लो रात अफिसमै सुतेका थियौँ । बिहानै सहकर्मी सरोज दाहालले ‘हिँड मिलन हामी पत्रिका लिएर आउने’ भनेर बाइक स्टार्ट गरे । अघिल्तिर प्रेस भनेर टाँसे । म पछाडि बसेँ । सडक सुनसान थियो । त्यतिबेला सहजै कर्फ्यु पास पनि बन्दैन थियो ।
थापाथली पुल पुगेपछि ड्युटीमा रहेका सैनिकले रोके । हामीले आफ्नो परिचयपत्र देखायौँ । ‘ए कायाकैरनका लागि हो ? ल ल जानुहोस्, तर बाटोमा कसैले रोके भने परिचयपत्र देखाउनुहोस्, अनि कायाकैरनका लागि भन्नुहोस् है’ भने । हामी मख्ख पर्दै अगाडि बढ्यौँ । सडक सुनसान थियो । सेना र प्रहरीबाहेक सडकमा कोही थिएनन् । ठाउँठाउँमा रोकिँदै, आफ्नो परिचयपत्र देखाउँदै हामी अगाडि बढ्यौँ ।
न्यूरोडमा गोरखापत्र संस्थान अगाडि सधैँझैँ पत्रपत्रिका पाइयो । पत्रपत्रिका बोकेर कार्यालय फर्किंदै गर्दा थापाथली पुलमा फेरि अर्का सैनिकले रोके । हामीले परिचयपत्र देखायौँ र बाटो माग्यौँ । उनले हाम्रो कुरा सुनेनन् । ‘अब एक शब्द बोल्नुभयो भने म बोल्दिनँ, जे गर्छ यसैले गर्छ’ भनेर बन्दुक देखाएपछि हाम्रो सातो गयो । ७ बजे कर्फ्यु खुल्ने समयसम्म अफिसबाट सय मिटर टाढा थापाथली पुलमा बस्नु पर्यो । वर्षमा ३ सय ६५ दिन प्रसारण हुने कायाकैरन त्यो दिन केही गरे पनि समयमा प्रसारण भएन ।
– २०६२/०६३ को जनआन्दोलन सुरु हुनुभन्दा पहिले पनि रत्नपार्क आसपास नेपाली कांग्रेस र नेकपाका विभिन्न दलहरुले दिनहुँजसो जुलुस, धर्ना र प्रदर्शन गर्थे । आन्दोलन कहिले सशक्त हुन्थ्यो, कहिले झारा टार्ने खालको । धर्नामा कार्यकर्ता र अरु मान्छेको उपस्थिति बाक्लो भएको दिन नेताहरु टुँडिखेल वरपरको सडक नै ढाक्नेगरी जुलुस अगाडि बढाउँथे । मान्छे कम भएको दिन रत्नपार्कबाट लुसुक्क असनतिर छिर्थे । जुलुस कहिले जोशिलो पारामा झण्डा हल्लाउँदै उफ्रन्थ्यो । कहिले अल्छीलाग्दो पारामा झण्डा काँधमा राखेर सहभागीहरु लखरलखर हिँड्थे ।
एक दुई जनालाई प्रहरीले समात्नेबित्तिकै अरु पनि आफैं प्रहरीको गाडीमा चढ्थे । कहिले प्रहरीसँगको लुकामारी रमाइलो खेलजस्तो हुन्थ्यो । कहिले भने प्रहरीले अश्रुग्यास र लाठी प्रहार गर्थ्यो।
दिनहुँजसो हुने आन्दोलनका यी सबै दृश्यलाई रेडियो रिपोर्टमा उतार्ने काम मेरो जिम्मामा थियो । रेडियो कानको माध्यम भएकाले कानले सुन्ने मात्र होइन, देख्नेगरी लेख्न र भन्न सक्नुपर्छ भन्ने गोपाल गुरागाईंबाट शिक्षा पाएको थिएँ । त्यसैले म रिपोर्ट बनाउँदा यस्तै शैली अपनाउँथे । नेपाल दर्पण र कायाकैरनमा रिपोर्ट बजेपछि सुन्नेहरु भन्थे, ‘मिलनको रिपोर्ट सुनेर आन्दोलनमा गएजस्तै र आन्दोलन देखेजस्तै भयो ।’
– आन्दोलन चर्किंदै जाँदा तत्कालीन सरकारले दलका शीर्ष नेताहरुलाई घरमै नजरबन्दमा राख्थ्यो । एकपटक यसैगरी नेताहरु नजरबन्दमा थिए । आन्दोलनका कमाण्डर कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला पनि नजरबन्दमै हुनुहुन्थ्यो । उहाँ मिडियामा कमै बोल्नुहुन्थ्यो । सितिमिति प्रतिक्रिया दिनुहुन्नथियो । उहाँको निवास महाराजगञ्जमा प्रायः सुशील कोइराला पनि सँगै हुनुहुन्थ्यो ।
शीर्ष नेताहरु नजरबन्दमा परेपछि अब आन्दोलन के होला भन्नेमा सबैको चासो थियो । पत्रकारले सकेसम्म गिरिजाप्रसाद कोइरालाको प्रतिक्रिया लिन खोज्थे । तर उहाँको प्रतिक्रिया लिन सजिलो थिएन । उहाँले प्रतिक्रिया नदिए पनि कोइराला निवासमा कांग्रेसका अरु कोही नेता होलान् भनेर एक दिन मैले फोन गरेँ । फोन सुशील कोइरालाले उठाउनुभयो । फोन गर्नुको कारण बताएपछि उहाँले ‘सभापतिज्यू यहीँ हुनुहुन्छ कुरा गर्नुस्’ भनेर गिरिजाप्रसाद कोइरालालाई फोन दिनुभयो । गिरिजाप्रसाद कोइरालासँग कुरा हुन्छ भन्ने सोचेकै थिइनँ ।
मैले बोल्न नपाउँदै गिरिजाप्रसाद कोइरालाले भन्नुभयो, ‘ए कायाकैरनबाट हो ? ल देशभरिका मान्छेलाई भनिदिनू हाम्रो आन्दोलन अझै सशक्त हुन्छ । अरु मिडियालाई पनि तपाईँले नै मेरो कुरा भनिदिनुस् ।’ यति भनेर उहाँले फोन राखिदिनुभयो ।
– २०६२/०६३ को जनआन्दोलन सफल भएपछि माओवादी शान्ति प्रक्रियामा आउने पर्खाइ थियो । तर नेताहरु भूमिगत नै थिए । पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई भारतमा रहेछन् । भट्टराईका सहयोगी विश्वदीप पाण्डेको नम्बर फेला पर्यो ।
बाबुराम र प्रचण्ड दुवैसँग फोनमा अन्तर्वार्ता लिएँ । अन्तर्वार्ताको सुरुमा कायाकैरनको नाम लिनेबित्तिकै दुवैले भन्नुभयो, ‘हामी डाँडाकाँडा र वनपाखामा हिँडेको बेला तपाईँहरुकै समाचार सुन्छौँ । समाचार ब्यालेन्स लाग्छ र विश्वसनयीय पनि छ । यसलाई कायम राख्नुहोला ।’
– केही दिनअघि घर जानु थियो । धादिङ जाने बस फेला परेन । तेल ट्याङ्करमा चढेँ । अरु यात्रु थिएनन् । अलि पर पुगेपछि सहचालकले भाडा मागे । भाडा दिनेबेलाको छोटो कुराकानीमै ‘तपाईं हेटौंडातिरको एफएममा समाचार भन्नुहुन्छ हो ?’ भनेर चालकले सोधे । मैले ‘एफएममा समाचार त भन्छु, तर हेटौँडामा हैन, काठमाण्डौमा’ भनेँ ।
उनले हेटौंडा एफएममा मलाई सुनेको कुरा गरेँ । मैले हो हामी काठमाण्डौबाट बोल्छौँ, तर देशभरि नै सुन्न सकिन्छ भने । चिनजान हुँदा नाम भनेपछि मलाई उनले एकछिन ट्वाँ परेर हेरे । अनि भने, ‘तपाइंँको बोली र ज्यान त मिल्दैन त !’
कतै गएको बेला एकछिन कुरा गर्दा धेरैले यसैगरी सोध्छन् । बोली र मान्छे मिलेन भन्नेहरु धेरै हुन्छन् । कतिले त रेडियोमा बोल्ने मिलन र तपाईं अर्कै होला पनि भन्छन् । यस्ता कुरा सुनेर म पनि बेला बेला मख्ख पर्छु ।
– यी त भए आफैलाई मख्ख पार्ने दुई चारवटा प्रसङ्ग । तर आफ्नो पेशाको मर्यादासित जोडिएका केही तीता प्रसङ्ग पनि बेला बेला आइरहन्छन् । एकदिन फलफूल विकास निर्देशनालय कीर्तिपुरका प्रमुखसँग कुराकानी गर्नुपर्ने थियो । कुराकानीको समय लिन फोन गर्दा उनी अन्कनाए । निकै बेरपछि अन्कनाउँदै भने, ‘ठिकै छ कुरा त गर्नुहोस्, तर हामी केही दिन सक्दैनौँ ।’ केही भनेको के हो र ? मलाई त तपाईँको कुरा मात्रै चाहिएको हो भने । त्यसपछि बल्ल उनले यहीँ आउनुहोस् अनि केही भनेको के हो भनौंला भने ।
समय मिलाएर म उनको कार्यालय गएँ । तर कुराकानी सुरु गर्नेबेलामा उनले भने, ‘धेरैले यसैगरी कुराकानी गर्छन्, अनि तपाईँको कुरा प्रसारण या प्रकाशन गरेबापत पैसा चाहिन्छ भनेर भन्छन्’ । उनको कुरा सुनेर मलाई अचम्म लाग्यो । पत्रकारलाई कुराकानी गरेबापत पैसा दिन पर्दैन, हामी त त्यस्तो कल्पना पनि गर्दैनौ भन्दा उनी केहीबेर नपत्याएर जिल्लै परे ।
उनले आफूबाट पैसा लिनेको नाम त भन्दिनँ, तर चलेकै पत्रिकाका पत्रकारले पनि मसित पैसा लिएर गएका छन्’ भनी सुनाए । त्यसपछि उनीसित समय लिन हामीलाई कहिल्यै कठिनाइ भएन । उनले उज्यालोका कार्यक्रम र उज्यालोमा काम गर्ने पत्रकारहरुप्रतिको विश्वास बढेको बताए ।
फलफूल विकास निर्देशनालयका प्रमुखले मात्र होइन, नेपाल कृषि अनुसन्धान परिषद नार्कका एकजना अधिकृतले पनि यस्तै गुनासो गरे । उनले केही पत्रकारहरुले भिडियो सामग्री बनाइदिन्छौं भन्दै पैसाको लागि बार्गेनिङ गरेको दुखेसो गरे ।
एकदिन पूर्व ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथुले भने, ‘मेरो अफिसमा बसेर चिया नखाने पत्रकार अति थोरै छन्, तर उज्यालोका पत्रकारहरु चिया खान बोलाउँदा पनि आउँदैनन् । चिया खान म नै उज्यालोमा आउनुपर्छ । उज्यालोका कार्यक्रम पनि विश्वसनीय छन्, काम गर्ने मान्छे पनि इमान्दार छन् ।’
– चार वर्षअघि वैशाख १२ गते भूकम्प जाँदा सबै रेडियो, टेलिभिजन र अनलाइन बन्द भए । कम्प्युटरहरु ढलेपछि उज्यालो रेडियो नेटवर्कको प्रसारण पनि पाँच मिनेट जति रोकियो । त्यतिबेला उज्यालोमा दिउँसो १२ बजे र ३ बजे दिउँसोको समाचार बुलेटिन थिएन । समाचारको समयमा पनि गीत बज्थ्यो ।
गीत बज्ने समय भएकाले समाचार कक्षका हामी साँझका बुलेटिनहरु र अरु काममा व्यस्त थियौं । ११ बजेर ५६ मिनेटमा डरलाग्दो भुइँचालो गयो । काम गर्दै गरेको कम्प्युटर ढल्यो । अरु सबैजस्तै हामी पनि आत्तियौँ । के गर्ने, कसो गर्ने अलमल र अन्यौलमा सबै भर्याङबाट तल झरेर सडकसम्म पुग्यौं ।
भूकम्पले टेबुलका कम्प्युटर ढालेपछि प्रसारण रोकिएको थियो । तर भूकम्पको धक्का रोकिएको थिएन । अफिसको चार तले भवन बाँस हल्लिए झैं हल्लिँदै थियो । भवन भूकम्प प्रतिरोधी भएकाले हल्लिए पनि ढल्दैन भन्ने विश्वास चाहिँ भूकम्पले पनि ढालेको थिएन । जे त होला, अब रेडियोबाट भुइँचालो गएको खबर भन्नुपर्छ भनेर हामी हल्लिरहेको भवनको दुई तलामाथिको स्टुडियोमा चढ्यौँ ।
भित्ता समाउँदै माथि पुगेपछि पनि सबैलाई डर लागेको थियो । जे त होला भनेर म स्टुडियोभित्र पसेँ । प्राविधिक साथी शशिन्द्र गौतमले कम्प्युटर र मिक्सर खोलेर मलाई इशारा गर्नुभयो । ‘भर्खरै ठूलो भूकम्प गएको छ, भूकम्प कतिको हो भन्ने थाहा नभए पनि यसले धनजनको ठूलो क्षति पुर्याएको आशंका गर्न सकिन्छ । भूकम्पको धक्का फेरि पनि गैरहेको हुनाले तपाईँ खुला ठाउँमा गएर सुरक्षित बस्नुहोला ।’
यति भन्न नभ्याउँदै भुइँचालाले फेरि हल्लियो । ल अब चाहिँ मरिने भइयो भन्ने मनमा डर लाग्यो । अफिसमा रहेका सबै आत्तियौँ । तर हामीले रेडियोको प्रसारण रोकेनौँ । अफिसको भवन भूकम्प प्रतिरोधी छ भन्ने विश्वासले हामीलाई आँट दियो । त्यसपछि लगातार हामीले थप सूचना र जानकारी बटुल्दै, प्रसारण गर्दै आयौँ । कहिले भुइँतलाबाट, कहिले दोस्रो तलाको स्टुडियोबाट ।
भोलिपल्ट दिउँसो ५ बजेतिर हामी भुइँतलाबाट भूकम्पसम्बन्धी जानकारी प्रसारण र प्रकाशनमा व्यस्त थियौँ । त्यही बेला कहिल्यै नदेखेका र नचिनेका एकजना वृद्ध उज्यालोमा आउनुभयो । ‘उज्यालोका मान्छे यहीँबाट बोल्दैछन् हो’ भनेर सोध्नु भो । हो हामी नै उज्यालोमा बोल्दैछौँ भनेपछि भावुक भएर भन्नुभयो, ‘म तपाईँहरुलाई धन्यवाद दिन आएको ! तपाईँहरुले धेरैको ज्यान बचाउनुभयो !’ उहाँले यसोभन्दा सबैको छाती चौडा भएको अनुभव भयो ।
उज्यालोको सञ्चालक संस्था कम्यूनिकेसन कर्नरले वार्षिकोत्सव मनाइरहँदा दिमागमा यस्तै यस्तै धेरै खालका सम्झना एकैपटक आउँछन् । एउटै संस्थामा काम गरेको पनि दुई दशक हुन लागेछ भनेर अत्यास पनि लाग्छ । तर धेरैको यस्तै विश्वास र प्रशंसाले मलाई यहीँ टिकाइराखेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।