हावाहुरीले छानो उडाउँदा पर्वतका दर्जन विद्यालयमा क्षति, पढाइ प्रभावित

 बैशाख १९, २०७६ बिहिबार १५:७:६ | सन्तोष थापा
unn.prixa.net

पर्वत - बुधबार दिउँसो एक्कासी आएको ठूलो हावाहुरीका कारण पर्वतका विभिन्न स्थानीय तहमा सञ्चालित दर्जन विद्यालयमा क्षति पुर्‍याएको छ ।

विद्यालयको छानो उडाउँदा बालबालिकाको पढाइ प्रभावित बनेको छ । हावाहुरीका कारण पर्वतको कुश्मा नगरपालिका-१२, ठूलीपोखरीमा रहेकाे जनज्योति प्राविको चार कोठे भवनको पुरै छाना उडाएको छ भने मोदी गाउँपालिका २ देउपुरमा सञ्चालित जननेत्र मावि, कुश्मा नगरपालिका १४ आर्थर डाँडाखर्कमा सञ्चालित एउटा प्राथमिक विद्यालयलगायत विभिन्न स्थानका विद्यालयहरुमा क्षति पुगेको छ । 

बुधवार अन्तराष्ट्रिय श्रमिक दिवसका कारण विद्यालय बन्द रहेका कारण मानवीय क्षति हुन नपाएको जननेत्र माविका शिक्षक भूमिराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालय तत्काल मर्मत गर्न नसकेमा पठन पाठन सञ्चालन गर्न समस्या हुने भएको छ । 

पिपललटारी, कटुवाचौपारी, शंकरपोखरी, धाइरिङ्ग, पाङ, दुर्लुङ्ग लगायतका क्षेत्रमा पनि हावाहुरीका कारण बालीनाली र कच्ची घर तथा सार्वजनिक भवनहरुमा क्षति पुगेको स्थानीयले बताएका छन् ।

त्यस्तै जलजला गाउँपालिकाको शालिजा, धाइरिङ, बनौ, कुश्मा नगरपालिकाको पिपलटारी, ठूलीपोखरी, खौलालाकुरी र मोदी गाउँपालिकाको देउपुर, महाशीलाको लुंखुदेराली लगायतका क्षेत्रमा बाक्लो असिना परेको छ । आधा घण्टाभन्दा बढी समय परेको असिनाले बालीनालीमा ठूलो क्षति पुगेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

कार्यालय प्रमुख बासु रेग्मीका अनुसार प्लाष्टिकका टनेल र बेमौसमी तरकारीमा ठुलो क्षति पुगेको बताउनुभयो । उता दक्षिण पर्वतको विहादी, महाशीला, पैंयु र फलेबास नगरपालिकाका विभिन्न वडाहरुमा पनि हावाहुरी र असिनापानीले क्षति पुर्‍याएकोछ । 


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया