मनहरीमा तीन वटा ट्रक ठोक्किँदा एक जनाको ज्यान गयाे, ११ जना घाइते

 बैशाख २१, २०७६ शनिबार २१:४३:२२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मनहरीमा भएको ट्रक दुर्घटनामा परेर शनिबार एक जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ मा रहेकाे जैसिङमा तीनवटा ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा हेटौंडा-३ की २५ वर्षीयन निर्मला राईको उपचारको क्रममा भरतपुर मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो । 

दुर्घटनाका ११ घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ ।

शनिबार बिहान साढे ९ बजे हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ३३७४ नम्बरको ट्रक र नारायणगढबाट हेटौंडातर्फ आइरहेको ना ४ ख ११९२ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् । दुई ट्रक ठोक्किएपछि नारायणगढतर्फबाटै आइरहेको ना ६ ख ९९०७ नम्बरको तेस्रो ट्रक पनि ठोक्किएर दुर्घटना भएको हो ।

घाइतेहरुको उद्दार गरी ६ जनालाई उपचारको लागि चितवनको भरतपुर पठाइएको र ४ जनाको मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि चितवन पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइतेको नामावली प्राप्त हुन सकेको छैन । घाइते हुनेमा तीनै ट्रकका चालक सहचालक र केही यात्रु पनि छन् । एक ट्रकले अर्कोलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि केहीबेर राजमार्ग बन्द गराइएकाे भए पनि अहिले राजमार्ग खुलाइसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया