विपद् जोखिम न्यूनिकरण, ओडिशाबाट केही सिक !

 बैशाख २५, २०७६ बुधबार १४:५८:२९ | सम्पादकीय
unn.prixa.net

गएको शुक्रबारबाट आएको चक्रवाती तुफान ‘फणी’ का कारण भारतका ओडिशा, पश्चिम बंगाललगायतका राज्यमा ठूलो भौतिक क्षति पुग्यो ।

बंगालको खाडीमा बनेको ‘फणी’ भारतको पश्चिम बंगाल हुँदै बंगलादेशसम्म पुग्यो । त्यसको प्रभाव नेपालको हिमाली भेगसम्म पर्ने अनुमान गरिएको थियो । तर त्यति ठूलो प्रभाव भने परेन । 

‘फणी’ दुई दशकयताकै शक्तिशाली तुफान थियो । राज्य सरकार, सेना र प्रहरीलगायतका संगठनले गरेको विपदको पूर्व तयारीले योपालि विपद्ले अनुमान गरेभन्दा कमै मानवीय क्षति भयो । ओडिशा सरकारका अनुसार विपदमा परि १८ महिने बालकसहित राज्यमा ३८ जनाले ज्यान गुमाए । बंगलादेशमा फणीमा परि ५ जनाको ज्यान गएको बंगलादेशका अधिकृतहरुले बताएका छन् । 

यसपटक ओडिशा सरकारले गरेको पूर्व तयारी प्रशंसनीय त छ नै, प्राकृतिक विपदको जोखिम रहेका हाम्रो देशका लागि यो सिक्न लायक पनि छ । ओडिशाले यो पालि तुफान आउने अनुमान गरिएदेखि नै पूर्व तयारीका काम थालेको थियो ।

फणीले प्रभावित पार्न सक्ने क्षेत्रका झण्डै ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियो । उद्धार र राहतका लागि तटीय क्षेत्रमा सेना, प्रहरी र विपद् व्यवस्थापनसँग आबद्ध विभिन्न टोली खटाइए । ओडिशामा मात्रै झण्डै नौ हजार शेल्टर बनाइए । नौ हजार शेल्टरमा ७ हजार भान्छा चलाइए भने झण्डै ४५ हजार मानिस राहत र उद्धारमा जुटे । 

फणीका क्रोधमा परि ओडिशाका सयौँ गाउँमा बिजुलीका पोल ढले । १२ सय करोड भारतीय रुपैयाँभन्दा बढीको विद्युतीय संरचनामा क्षति पुग्यो । हजारौँ घर भत्किए । ओडिशाका १४ हजार ८ सय ३५ गाउँ र ४६ शहरका गरी एक करोड मानिस फणीबाट प्रभावित भएको त्यहाँको सरकारले बताएको छ । तर भौतिक संरचनामा यत्रो विनास हुँदा पूर्वतयारी राम्रो भएकाले मानवीय क्षति अत्यन्तै कम भएको हो । फणीको प्रभाव कम भएसँगै ओडिशा सरकार अहिले प्रभावितलाई पुनःस्थापन गर्ने काममा लागेको छ । 

ओडिशाले आफ्नै विगतबाट सिक्दै आफूलाई विपद् व्यवस्थापनमा दक्ष बनाउँदै लगेको हो । सन् १९९९ मा आएको ‘सुपर साइक्लोन’ले १० हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो । जगतसिंहपुर जिल्लामा मात्रै यो आँधीले ८ हजार मानिसको ज्यान लिएको थियो । 

तर गएका बीस वर्षमा ओडिशाले चक्रवाती आँधीसँग जुध्न धेरै कुरा सिकिसकेको छ । यसको पहिलो उदाहरण हो ‘पाइलिन’आँधी । १२ अक्टोेबर, २०१३ का दिन २६० किलोमिटर प्रतिघण्टाको गतिमा आएको पाइलिन तुफान ओडिशाको गोपालपुर तटमा ठोक्कियो । त्यसबेला आँधी आउनुभन्दा पहिले नै पूर्व तयारीका साथ उद्धार र राहतमा खटेकाले मानवीय क्षति हुन भने पाएन । सन् १९९९ को विनाशकारी आँधीपछि ओडिशा सरकारले प्राकृतिक विपत्तिबाट कमभन्दा कम जनधनको क्षति होस् भनेर विभिन्न योजनाहरु बनाइरहेको छ ।

ओडिशा सरकारको कदमलाई संयुक्त राष्ट्र संघसमेतले मुक्तकण्ठले प्रशंसा गरेको छ । विपद् जोखिम न्यूनिकरणसम्बन्धी राष्ट्र संघीय कार्यालयले ओडिशा सरकारको प्रभावपूर्ण उद्धारले धेरैको जीवन बचाएको उल्लेख गरेको छ । 

ओडिशामा आइरहने विनाशकारी आँधी र त्यसको सामना गर्न उसले चालेका कदमबाट विपद्को उच्च जोखिममा रहेको नेपालले धेरै कुरा सिक्नुपर्ने देखिन्छ । 

विपत्ति बाजा बजाएर त आउँदैन । तर सूचना प्रविधिको बहुउपयोग भैरहेको आजको युगमा धेरै प्राकृतिक विपत्ति अनुमान गर्न र त्यसबाट बच्ने तयारी गर्न सकिन्छ । नेपालमै अहिले मौसम पूर्वानुमान महाशाखाले वर्षा, आँधीहुरी तथा चट्याङ पर्न सक्ने अनुमान गरिरहेको हुन्छ । महाशाखाका अनुमान धेरै हदसम्म मिल्दै गएका पनि छन् । तर विपद् आइहालेमा त्यससँग जुध्ने संसाधन र पूर्व तयारी लगभग छँदै छैन । 

७२ सालको विनाशकारी भूकम्पपछि पनि हामीले चेतेकै छैनौँ । विकासको नाममा शहरीकरणलाई बढावा दिएका छौँ । शहरमा विपदका बेला चाहिने खुला ठाउँ छैनन् । गाउँको अवस्था पनि त्यस्तै छ । ७२ कै जस्तो अर्को भूकम्प आए उद्धार र राहतका लागि के गर्ने भन्नेबारेमा धेरै सोचिएको छैन । 

हामीले गरेका विकासका कामले नै हामीलाई कतै विनाशको बाटोतर्फ लगेको त छैन भनेर सबैले सोच्ने बेलाआएको छ । विपद् जोखिम न्यूनिकरण दिगो विकाससँग पनि सम्बन्धित छ । हामीले गर्ने विकासका कामले भविष्यमा विपद् नआओस् भनेर सचेत हुनु जरुरी छ । अहिले त सडक बनाउने नाममा कलिला पहाड धुजाधुजा पारेर भत्काइएका छन् । सडक बढ्दै जाँदा पहिरोको जोखिम उच्च हुँदै गएको छ । 

वर्षा सुरु हुनै लागेको छ । नेपालका धेरै बस्ती बाढी र पहिरोको उच्च जोखिममा छन् । पहाडमा पहिरोको जोखिम छ, तराईमा बाढीको । हिमाली भेगमा पनि हिमपहिरोको जोखिम उस्तै गरी बढ्दो छ । प्राकृतिक विपद्का हिसाबले जोखिममा रहेको ठाउँको पहिचान गरी त्यहाँका नागरिकलाई सुरक्षित ठाउँमा सार्नु आवश्यक छ । 

साथै विपद् व्यवस्थापन, राहत र उद्धारका लागि ठूलो संख्यामा तालिमप्राप्त जनशक्ति तयार पार्नु पर्ने देखिन्छ । विपदमा परेका बेला नागरिकलाई जोगाउन देशैभर सुरक्षित आवासका लागि शेल्टरहरु बनाउनुपर्छ । विपद्पछि हुने खाद्यान्न अभावलाई आँकलन गरी खाद्यान्न भण्डारहरु व्यवस्थित गर्नुपर्छ । 

विपद् जोखिम न्यूनिकरण राज्यको मात्रै दायित्व होइन । नागरिक र समाजको पनि जिम्मेवारी हो । सरकार, नागरिक, समाज, निजी क्षेत्र सबैले होस्टेमा हैसे गरेर मात्र विपद्को जोखिम कम गर्न र परिहालेको खण्डमा उचित व्यवस्थापन गर्न सकिन्छ ।

त्यसैले परिसके पछि पछुताउनुभन्दा अहिलेदेखि नै सरकार, नागरिक र निजी क्षेत्र हातेमालो गर्दै विपद्का जोखिम न्यूनिकरण गर्ने काममा अघि सर्न आवश्यक भैसकेको छ ।

अन्तिम अपडेट: साउन ३१, २०७६

1 Comments

  • Jagat Deuja

    May 9, 2019, 12:21 p.m.

    We should have work on preparedness which is most important to save the people life and property. Even after the earthquake, we are not working seriously on disaster preparedness. Thank you for the eye-opening editorial.

  •  0 Reply

तपाईको प्रतिक्रिया