संसदमा प्रयाेग भएका प्रधानमन्त्री र प्रतिपक्ष सांसदका अमर्यादित शब्द हटाउन सभामुखकाे निर्देशन

 वैशाख २७, २०७६ शुक्रबार १२:१०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गर्नुभएको असंसदीय शब्द संसदको रेकर्डबाट हटाइने भएको छ । 

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले त्यस दिन प्रयोग भएका असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन दिनुभएको हो ।सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिएपछि प्रधानमन्त्री ओलीलाई सांसदहरुले पुन: स्पष्टिकरण सोधेका थिए ।

स्पष्टिकरणमा उठेका जिज्ञासाको जवाफ दिन रोष्ट्रम पुग्नुभएका प्रधानमन्त्री ओलीले आक्रोश, कुण्ठा र निम्छरा छाडेर प्रश्नको जवाफ दिन्छु भनेपछि प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीले सांसदले सोधेका प्रश्नलाई निम्छरा भनेर असंसदीय भाषा प्रयोग गरेको भन्दै विरोध गरेका थिए । 

प्रतिपक्षीले त्यसैदिन प्रधानमन्त्रीले बोलेको असंसदीय शब्द रेकर्डबाट हटाउन माग गरेका थिए । सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीले बोलेको विषयमा आफ्नो ध्यानाकर्षण भएकाले बस्न पटक-पटक अनुरोध पनि गर्नुभएको थियो । तर प्रतिपक्षी कांग्रेसले विरोध गर्न नछाडेपछि विरोधकै बीच नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको थियो । 

त्यसपछि शुक्रबार बसेको  बैठकको सुरुमा नै सभामुख महराले मंगलबारको बैठकमा  प्रयोग भएका असंसदीय शब्दहरुलाई संसदको रेकर्डबाट हटाउने सचिवालयलाई निर्देशन दिनुभएको हो ।  

सभामुख महराले भन्नुभयो, ‘मेरो ध्यानाकर्षणको विषयमा म केही भन्न चाहन्छु । नेपाल सरकारको नीति तथा कार्यक्रमबारे सम्माननिय प्रधानमन्त्रीज्युले स्पष्टिकरण तथा माननीय सदस्यहरुको जिज्ञासाको उत्तर दिने क्रममा प्रयोग भएका संसदीय मर्यादाअनुकुल नभएका शब्दहरु अभिलेखबाट हटाउन  सचिवालयलाई निर्देशन दिन्छु ।’

सभामुख महराको निर्देशनलगत्तै सत्तापक्षीय सांसद खगराज अधिकारी उठेर नियमापत्ति गर्दै त्यस दिन प्रधानमन्त्रीविरुद्ध पनि असंसदीय भाषा प्रयोग भएकाले तिनलाई पनि हटाउन माग गर्नुभयो । लगत्तै सभामुख महराले त्यस दिन बैठकमा बोलिएका सबै असंसदीय शब्दहरु हटाउन निर्देशन दिएको बताउनुभएपछि बैठक अघि बढेको हो । 
 

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया