चलचित्रबीच प्रतिस्पर्धा हुनु राम्रो हो, तर तालमेल नमिल्दा बेमेल देखियो

 कात्तिक ४, २०८१ आइतबार १६:४०:२६ | माेहन निराैला
unn.prixa.net

केही वर्षयता नेपाली चलचित्रप्रति दर्शकको आकर्षण बढ्दै गएको छ । त्यसैअनुसार सिनेमा हल पनि हाउसफुल भइरहेका छन् । चलचित्रको विषयवस्तु राम्रो बन्दै गएको छ । यसपालिको दशैँ नेपाली चलचित्रप्रेमी र चलचित्रकर्मीका लागि अझ विशेष रह्यो । किनभने नेपाली चलचित्रले लामो समयपछि विदेशी चलचित्रको प्रभावलाई कम गर्न सफल भए । त्यसैमाथि दशैँको उत्सवसँगै छुट्टीको मौका छोपेर चार वटा नयाँ चलचित्र एकसाथ प्रदर्शन भए जसले गर्दा सिनेमा हल खचाखच भरिए । देशभरका धेरैजसो हलमा नेपाली चलचित्र प्रदर्शन भए र दर्शकको आकर्षण पनि स्पष्ट रूपमा देखियो । यसले नेपाली चलचित्र उद्योगमा नयाँ आशा र ऊर्जा थपेको छ ।

दशैँको बेला प्रदर्शन भएका चार वटा चलचित्र– ‘१२ गाउँ’, ‘छक्का पञ्जा ५’, ‘ज्वाईं साब’ र ‘बेहुली फ्रम मेघौली’ बीच कडा प्रतिस्पर्धा देखियो । ‘छक्का पञ्जा ५’ ले आफ्नो नाम र लोकप्रियताका कारण दर्शकलाई तान्न सफल भयो भने ‘१२ गाउँ’ ले आफ्नै कथावस्तुले दर्शकमा राम्रो प्रभाव पार्‍याे । त्यसैगरी हास्य र पारिवारिक विषयवस्तु समेटेका ‘ज्वाईं साब’ र ‘बेहुली फ्रम मेघौली’ पनि दर्शकको रोजाइमा परेका छन् । समग्रमा यी सबै चलचित्रले राम्रै प्रतिक्रिया र कमाइ गरिरहेका छन् ।

प्रतिस्पर्धामा रहेका चार वटा चलचित्रमध्ये ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ ले सिनेमा हलको शोमा उल्लेख्य हिस्सा ओगट्न सफल भए । जबकि ‘ज्वाईं साब’ ले पनि राम्रो प्रतिक्रिया पायो । तर ‘बेहुली फ्रम मेघौली’ का लागि परिस्थिति त्यति अनुकूल देखिएन । दशैँअघि प्रदर्शन भएको यस चलचित्रले शुरूमा राम्रो चर्चा पाए पनि दशैँको बिदामा नयाँ चलचित्रले सिनेमा हलमा कब्जा गरे । धेरै हलले ‘बेहुली फ्रम मेघौली’ लाई पछाडि धकेल्दै नयाँ चलचित्रलाई प्राथमिकता दिन थाले जसका कारण यो चलचित्र दबियो ।

यसरी चलचित्रले हल नपाएको गुनासो आउन थाल्यो । दर्शकको राम्रो माया र कमाइ भइरहे पनि चार वटा चलचित्र एकैपटक प्रदर्शन हुँदा सिनेमा हलहरूबाट स्थान नपाउनु मुख्य कारण बनेर यो चलचित्र केही दिनमै हलबाट हटाइयो ।

प्रदर्शनमा रहेका बाँकी तीन वटा चलचित्र ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’, र ‘ज्वाईं साब’ बीच पनि उस्तै प्रतिस्पर्धा देखिएको छ । कलाकारदेखि निर्देशक र निर्माता साथै दर्शकबीच पनि एक किसिमको प्रतिस्पर्धा छ ।

चलचित्रबीच प्रतिस्पर्धा हुनु राम्रो हो । प्रतिस्पर्धाले निर्माता, निर्देशक र कलाकारलाई झन् बढी जोश, जाँगर र हौसला दिन्छ । यसले चलचित्रमा भएका कमी–कमजोरी पहिचान गर्न र सुधार गर्न पनि सघाउँछ । स्वस्थ प्रतिस्पर्धाले चलचित्रको स्तरलाई अझ उचाइमा पुर्‍याउँछ जसले गर्दा उत्कृष्टता प्रमाणित गर्न चलचित्रको कथा, प्रस्तुतिलगायतका पक्षहरूमा अझ बढी मेहनत गर्नुपर्छ ।

नेपाली चलचित्र राम्रो चल्ने समय भनेको दशैँ–तिहारमै हो । हरेक वर्ष दशैँमा चलचित्रबीच प्रतिस्पर्धा हुन्छ र त्यसअनुसार तालमेल र समन्वय पनि हुँदै आएको छ । यसपालि पनि केही निर्माताले दशैँअघि नै मौका समाते र हलले पनि त्यही समयमा प्रदर्शनको अवसर दियो । यदि चलचित्रको प्रदर्शनको तालिका सही तरिकाले मिलाउन सकेको भए सबै चलचित्रले राम्रै कमाइ गर्न सक्थे । चलचित्र कुन समयमा चलाउने भन्ने विषयमा सम्बन्धित निकायहरूबीच राम्रो समन्वय हुनुपर्ने थियो । यसले गर्दा सबै चलचित्रले समान प्राथमिकता पाउँथे र उचित कमाइ हुन्थ्यो । तर समन्वयको अभावमा चलचित्रकर्मीबीच द्वन्द्व बढ्दै गयो जसले गर्दा कुनै चलचित्रलाई राम्रो भएन ।

एकआपसमा घृणा देखियो, गालीगलौज सुनियो, आफ्ना उत्पादनलाई अगाडि बढाउन सामाजिक सञ्जालमा पूर्वाग्रह देखियो । कतै–कतै ‘आफ्नो चलचित्र हेरौँ, अर्काको नहेरौँ’ भन्ने मानसिकता पनि देखा पर्‍याे । केही सञ्जालमा एउटा चलचित्रको विषयमा आलोचना र गालीगलौज पनि भयो । सिनेमा हलहरूमा नाराबाजी गर्दै चलचित्रलाई बहिष्कार गर्नेसम्मका क्रियाकलाप देखिए । कलाकार, निर्देशक र निर्माताबीच पनि मन नपरेकालाई पाखा लगाउने प्रयासहरू भए ।

दशैँजस्तो ठूलो पर्वमा सिनेमा हलमा प्रदर्शनका लागि राम्रो अवसर पाइन्छ तर एकै समयमा चार वटा चलचित्रको भिडन्तले अस्वस्थ प्रतिस्पर्धा देखाएको छ । पछिल्ला वर्षहरूमा नेपाली चलचित्र उद्योगले राम्रो फड्को मार्दै गर्दा यस प्रकारको प्रतिस्पर्धाले दर्शकलाई विभाजित गरिदिएको छ जसले चलचित्रको आम्दानीमा प्रतिकूल असर पारेको छ । यसै कारणले राम्रो कथावस्तु भएका चलचित्र पनि ओझेलमा पर्ने गरेका छन् र स्थान पाएका चलचित्रले पनि अपेक्षित सफलता पाएका छैनन् ।

अस्वस्थ प्रतिस्पर्धामा वितरकको पनि भूमिका छ । दशैँ–तिहारमा सिनेमा पाउने लोभले वितरकले निर्मातालाई पैसाको लोभ देखाएर चलचित्र एकआपसमा जुधाउने प्रयास नगरेका होइनन् । एकैचोटि धेरै चलचित्र जुध्नुमा वितरकको हात छ ।

तर अहिले पनि दर्शकले चलचित्र रुचाइरहेका छन् र हेर्न गइरहेका छन् । व्यापार पनि राम्रै भइरहेको छ जसलाई नेपाली चलचित्रको राम्रो लक्षणको रूपमा लिनुपर्छ । यद्यपि सिनेमा घरहरूले केहीलाई काखा र केहीलाई पाखा गरिरहेको गुनासो सुनिन थालेको छ । सिनेमा घरले जुन चलचित्रले धेरै कमाइ गर्छ, त्यही चलचित्रलाई मात्र प्रदर्शन गर्ने प्रचलन पनि छ ।

चलचित्र प्रदर्शनको तालमेल मिलाउन सिनेमा घरको सङ्गठन, निर्माताको सङ्गठन, चलचित्र विकास बोर्डलगायतका अन्य सङ्घ–सस्थाहरू पनि छन् । यी सबै निकायबीच तालमेलको अभाव छ । यसअघि पनि चलचित्र नजुधाउने विषयमा धेरै पटक छलफल भएको छ । तर नेपालमा सिनेमा हलको कम सङ्ख्या र चलचित्र क्षेत्रमा सरकारको नीति स्पष्ट नहुँदा यो क्षेत्रको विकासमा अवरोध देखिएको छ ।

नेपाली चलचित्र समृद्ध भएमा समग्र पेसाकर्मीले काम पाउनेछन् । यसका लागि सबै सङ्घ–संस्थाहरूले सक्रिय भूमिका खेल्नु आवश्यक छ । चलचित्र क्षेत्रमा आफ्नो सफलतामा खुशी हुनेहरूले अरूको सफलतामा दुःखी भएको देखिन्छ । एउटाले जित्दा अर्काको हार हुनु स्वाभाविक हो । तर यदि उचित समन्वय र राम्रो तालमेल गर्न सकिन्छ भने एकैचोटि सबै चलचित्रले सफलता पाउन सक्छन् । यसमा चलचित्र विकास बोर्डले पनि चासो लिनुपर्छ । यस्ता अवसरहरूमा चलचित्रको प्रदर्शन तालिका बनाउन समन्वय र योजना आवश्यक छ । हल मालिक, वितरक र निर्माता मिलेर यस्तो समयमा मात्र नभई वर्षभरि उपयुक्त तालिका व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ ।

(निर्देशक तथा चलचित्र समीक्षक मोहन निरौलासँगको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माेहन निराैला

निराैला निर्देशक तथा चलचित्र समीक्षक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया