हवाई फायर गरी विप्लव निकट युवा संगठनका अध्यक्ष पक्राउ

 बैशाख २७, २०७६ शुक्रबार १४:११:७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल रुकुम पश्चिमका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । 

चौरजहारी नगरपालिका वडा नं. ५ बाट संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय  प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

पक्राउ गर्ने क्रममा शर्मा भाग्न खोज्दा प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको थियो । शर्मालाई पक्राउ गर्ने क्रममा एक जना प्रहरी जवान घाइतेसमेत भएको जनाइएको छ । घाइते प्रहरी जवानलाई हातमा ढुङ्गाले चोट लागेको बताइएको छ । 

सरकारद्वारा प्रतिबन्धित पार्टीको गतिविधिमा संलग्न रहेको, चन्दा आतंक मच्चाइरहेको र विकास निर्माणका काममा अवरोध गरेकाले शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यसैबीच युवा संगठन रुकुमका इञ्चार्ज भास्करले एक विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका छन् । पक्राउ परेका अध्यक्ष शर्माको टाउकोमा चोट लागेको, अमानवीय तरवले कुटपिट गर्दै गोलीसमेत चलाएको भन्दै विज्ञप्तिमार्फत सरकारको विरोध गरिएको छ ।  
 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया