प्रदेश ३ को वर्षे अधिवेशन आजदेखि सुरु हुँदै, संसद अवरुद्ध गर्ने कांग्रेसकाे चेतावनीपछि मर्यादापाकल थप

 वैशाख ३०, २०७६ सोमबार १०:५३:३७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - प्रदेश नम्बर–३ को प्रदेश सभाको वर्षे अधिवेशन सोमबारबाट सुरु हुँदै छ । सोमबारबाट सुरु हुने अधिवेशन प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गर्नसक्ने आंकलन गर्दै प्रदेशसभा सचिवालयले मर्यादापालक थप गरेको छ । 

प्रदेश राजधानी र नामाकरणको विषयलाई जतिसक्दो छिटो टुंगो लगाउनुपर्ने भन्दै नेपाली कांग्रेसले संसद अवरुद्ध गर्ने चेतावनी दिएको थियो ।  

सोमबारकोे प्रदेश सभा बैठकमा प्रदेश ३ को राजधानी र नामाकरणको विषयले प्रवेश नपाउने सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो । एक हप्तापछी मात्र राजधानीको विषयलाई प्रवेश गराउन सकिने उहाँले बताउनुभयो ।

यसअघि पनि हिउँदे अधिवेशनमा राजधानीको विषय टुग्याउने भनिए पनि बैठकमा त्यो विषयले प्रवेश नपाएपछी कांग्रेस सांसदहरु रुष्ट भएका थिए । वर्षे अधिवेशनमा पनि राजधानीको विषय टार्न षड्यन्त्र गरिएको भन्दै प्रतिपक्षी कांग्रेसले बैठकको सुरुमै त्यो विषयले प्रवेश पाउनुपर्ने माग गर्दै आएका छन् ।  

प्रदेश सभा गठन भएको एक बर्ष नाघिसक्दा समेत राजधानीको बिषयले प्रवेश नपाएको भन्दै कांग्रेसले यसअघि नै संसद अबरुद्ध गर्ने चेतावनी दिईसकेको छ । संसद अबरुद्ध गर्ने नगर्ने बिषयमा प्रदेश ३ का प्रतिपक्षदलका नेता इन्द्रबहादुर बानियाँले अहिले नै केही नभन्ने बताउनुभयो । तर कांग्रेसका सांसदहरु वर्षे अधिबेशनमा पनि राजधानीको विषयले सुरुमै प्रवेश नपाउने भएपछि थप रुष्ट भएका छन् । 

सत्तारुढ नेकपाका सांसदहरु प्रदेशको नामाकरण र राजधानीका बारेमा आपसमै एक हुन नसक्दा नामाकरण र राजधानीको विषयले बैठकमा प्रवेश पाउन नसकेको हो । केहीले हेटौँडा नै राजधानी हुनु पर्ने माग गर्दै आएका छन् भने केहीले भक्तपुर र धुलिखेल हुनुपर्ने अडान राख्दै आएका छन् । सत्तारुढ दलकै सांसदबीच सहमति नबन्दा नामाकरण र राजधानीको विषय धकेलिँदै गएको हो । 

हरेक अधिवेशनमा राजधानी र नामाकरणको विषय टुंग्याउने भनिए पनि अझैसम्म यो विषय टुंगो लाग्न सकेको छैन ।

सोमबार १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । वर्षे अधिवेशन सुरु हुनु अघिल्लो दिन आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विभिन्न ८ वटा विषयलाई बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ । 

सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो । 
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया