तेह्रथुममा टिकटक बनाउने क्रममा चिप्लिएर खोलामा बगेका दुई जना...
पुस ७, २०८१ आइतबार
सिरहाका धीरेन्द्रकुमार साह, विज्ञानका विद्यार्थी । रसायनशास्त्रमा स्नातकोत्तर गरेक साहले घर नजिकैको ब्रजमोहन झब्बूराम जनता उच्च माध्यमिक विद्यालयमा केही वर्ष निःशुल्क पढाउनुभयो । त्यो विद्यालय उहाँका हजुरबुबा झब्बुराम साहले ३० बिगा जग्गा दान गरेर स्थापना गर्नुभएको थियो । पछि अभिभावकको आग्रहमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्नुभएका साह शिक्षासँगैसरसफाइमा जोडिनुभयो । दुर्गा महारानीको मन्दिर समेत रहेको शुभ पोखरी सफाइबाट सुरु भएको अभियानले उहाँमा सरसफाइको यतिधेरै नशा चढ्यो कि अहिले जहाँ पुगे पनि भन्नुहुन्छ ‘जय सरसफाइ ।’
उहाँको जय सरसफाइ अभियानले सिरहालाई खुल्ला दिसामक्त क्षेत्र बनाउन प्रभावकारी भूमिका खेल्यो । अहिले पनि देशका १४ वटा जिल्ला खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुन बाँकी छन् ।
सिरहा निकै समस्यापूर्ण जिल्ला थियो । खोला, बगर तथा झाडीमा दिसापिसाब गर्ने परम्परागत चलन तोड्न सजिलो थिएन । विभिन्न संघसंस्थाले बनाइदिएका चर्पीमा घाँस थन्काएको खबर सार्वजनिक भैरहेको बेला चर्पी बनाउनु थियो र बनाउनु मात्र हैन प्रयोग गर्न लगाउनु थियो ।
जिल्ला प्रशासन कार्यालयमा भएको खुल्ला दिसामुक्त अभियान सम्बन्धी छलफलमा यस्तै समस्याको चर्चा भयो । धीरेन्द्र सम्झनुहुन्छ ‘सबैले चुनौतीका कुरा गरे, अनि मैले सम्झें गर्यो भने असम्भव के छ र ? गर्नुपर्छ सकिन्छ, अनि भनें, हामी लागौं सफल हुन्छौं ।
अभियान त सुरुभयो, तर साथीभाइले नै साथ छोड्न थाले । फोहोर टिप्ने ? सरसफाइका कुरा गर्ने ? महिलाले गर्ने काम पुरुषले गर्ने ? यि प्रश्न उहाँमाथि थोपरिए । धीरेन्द्र भन्नुुहन्छ ‘अघिल्लो दिनसम्म एकदमै मिल्ने साथी भोलिपल्टै छुट्यो, कारण थियो सरसफाइ, फोहोर भयो भनेर हैन सरसफाइ गर्न थाल्यो भनेर ।’
तुलनात्मक रुपमा समस्यापूर्ण परम्परा रहेको तराईमा काम गर्न सजिलो थिएन । हुँदाहुँदा सार्वजनिक शौचालय प्रयोग तथासरसफाइ अभियानको विषयलाई लिएर उहाँको विरोधमा व्यापार व्यवसायीहरुले बजार बन्द समेत गरे । यिनै उतारचढावका कारण उहाँमा सरसफाइको नसा झनझनै चढ्दै गयो । पुराना साथीहरु छुट्दै गए, नयाँ थपिंदै गए । अनि त जिल्लाव्यापी रुपमासरसफाइको अभियान अघि बढ्यो ।
चर्पी बनाउने र प्रयोग गर्ने विषयलाई आम नागरिकमा पुर्याउनका लागि धीरेन्द्रले विद्यालयलाई प्रभावकारी देख्नुभयो । बालबालिकालाई सम्झायो भने उनीहरुले घरमा अभिभावकलाई भन्छन् र आफ्ना छोराछोरीले भनेको कुरा धेरैजसो अभिभावकले मान्छन् । उहाँले यही उपाय अपनाउनुभयो । सिरहाका १३० भन्दा बढी विद्यालयमा पुगेर चर्पीको आवश्यकता, सरसफाइको महत्व लगायतका विषयमा विद्यार्थीलाई प्रशिक्षण दिनुभयो । धीरेन्द्र सम्झनुहुन्छ ‘जब म विद्यालयमा बोल्थें, बालबालिका निकै उत्सुक देखिन्थे, निकै रमाईलो मान्थे, पछि थाहा भयो उनीहरु घरमा गएर चर्पी बनाउन भन्दै अभिभावकसँग झगडा नै गर्न थालेछन्, अनि त सुरुभयो चर्पी बनाउने क्रम ।’
सिरहालाई खुल्ला दिसामुक्त क्षेत्र बनाउन धेरै मेहनत गर्नु परे पनि सफल भएकोमा उहाँ खुशी हुनुहुन्छ । यसमा जिल्लामा राजनीतिक दल, संघसंस्था र अझ प्रभावकारी भूमिका विद्यालयहरुको रहेको उहाँको अनुभव छ । उहाँ भन्नुहुन्छ ‘हामी त उत्साह थप्दै हिँड्थ्यौ, नियमित छलफल र काम स्थानीय विद्यालय, सामाजिक संघसंस्था,सरसफाइ समितिहरुले गरे, उनीहरुको सक्रियता साँच्चै लोभलाग्दो थियो ।’
अहिले सिरहामा मात्र सिमित हुनुुहन्न धीरेन्द्र । देशका विभिन्न क्षेत्रमा पुगेर सरसफाइको वातावारण बनाउने र स्थानीयबासिन्दालाई सरसफाइको अगुवाई गर्न सक्षम बनाउने अभियान नै चलाइरहनुभएको छ । सिरहाका धैरैजसो ठाउँ, सप्तरी, सुनसरी, मोरङ, धनकुटा, उदयपुर, सिन्धुली, धनुषाको ढल्केबर, सर्लाहीको लालबन्दी, बारा पर्साका विभिन्न गाउँहरु, पोखरा, चितवन र काठमाण्डौका विभिन्न सफाइ अभियानमा उहाँ सहभागी भैसक्नुभएको छ । पछिल्ला केही महिनादेखि उहाँ काठमाण्डाैको गोदावारी नदी सरसफाइ अभियानमा सक्रिय हुनुहुन्छ ।
सरसफाई अभियानका क्रममा उहाँलाई केहीले गाली पनि गरे । काकी बिरामी भएर चितवनको क्यान्सर अस्पतालमा बस्दा उहाँले अस्पताल परिषर सफाइ अभियान सुरु गर्नुभयो । त्यहाँ कतिपयले उहाँलाई ‘यो मधेशिया यहाँ आएर किन यस्तो गर्दैछ’ भनेर गाली पनि गरे ।
तर नियमित लागेपछि केही दिनपछि स्थानीयबासीन्दाकै सहभागिता बढेको धीरेन्द्र सम्झनुहुन्छ । उहाँले सुरु गर्नुभएको अस्पताल परिसर सफाई अभियान अहिले पनि चलिरहेको छ ।
उहाँको पेशा कृषि हो । पुर्ख्याैली जग्गामा खेती गर्दै आउनुभएका धीरेन्द्र खेतीबाट बचेको समय मात्र हैन अन्न बेचेको पैसा खर्चेर सरसफाइ अभियानमा सहभागी हुन निस्कनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘हजुरबुबाले ३० बिगा जग्गा दान गरेर विद्यालय खोल्नुभयो, मैले हजुरबुबाकै जग्गामा खेती गरेर फलाएको केही अन्न बेचेरसरसफाइ अभियान किन नचलाउने ? २ बिगाहा जग्गा नै बेचेर यदि नेपाललाई सफा र सुन्दर बनाउन खर्च गर्दा पनि भैहाल्छ नि, यही सोचेर अभियानमा निस्केको हुँ ।’
कतैबाट कसैको एक रुपैयाँ पनि नलिई काममा खटिएकोले उहाँलाई सिराहा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने क्रममा तत्कालीन जिल्लासरसफाइ तथा स्वच्छता समन्वय समिति (डीवाससीसी)ले उहाँलाई ‘सरसफाइ दूत’ घोषणा गरेको थियो ।
हरेक व्यक्तिले आफ्नो घर सफा गर्दै अर्को एक व्यक्तिलाई भन्दै जाने हो भने बाटोघाटो, नदी, चोक हुँदै देश नै सफा र स्वच्छ हुन्छ भन्ने धीरेन्द्र सरसफाइको नेतृत्व भने स्थानीय सरकारले गर्नुपर्ने बताउनुहुन्छ । स्थानीय सरकारको नेतृत्वसँगै आधारभूत तहको बिद्यालयको पाठ्यक्रममा सरसफाइ सम्बन्धी पाठ्यक्रम राख्नुपर्ने धीरेन्द्र बताउनुहुन्छ । बालबालिकालाई सिकायो भने त्यो व्यवहारिक र दीगो पनि हुने भएकोले जतिसक्दो बालबालिकालाई सिकाउनुपर्ने उहाँको भनाइ छ ।
यस्तै सरसफाइमा रहेको लैङ्गिक बिभेद पनि हटाउनुपर्नेमा उहाँको जोड छ । उहाँ भन्नुहुन्छ ‘हाम्रो घरमा सानो हुँदा छोरीलाई घर सरसफाइ गर्न लगाउने र छोरालाई तिमीले गर्ने हैन भन्ने बानीकै कारण पूर्ण सरसफाइ हुन नसकेको हो । छोरा र छोरी दुबैलाई सानैदेखि सरसफाइमा लगाउन सकियो भने उनीहरुले बुझ्दै जान्छन् र पछि घर हुँदै टोल र गाउँ सहर सफा हुन्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।